लामिछानेले अनुसन्धानमा निसर्त सहयोग गर्नुपर्छ : महासचिव पोखरेल

‘क्लिन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अदालतबाट सफाइ प्राप्त गरेमा या अनुसन्धानबाट निर्दोष देखिनुपर्ने हुन्छ । समितिले त कानुनसम्मत कारबाही गर भनेको छ ।’

आश्विन ९, २०८१

अर्जुन शाह

Lamichhane should cooperate in the investigation: General Secretary Pokharel

धनगढी — नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि उठेका प्रश्नमाथि निर्सत रूपमा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी रकम हिनामिना सम्बन्धमा अहिले भइरहेका क्रियाकलाप अनुसन्धान रोक्ने नियतले भएको बताएका हुन् ।

‘अनुसन्धान रोक्ने गतिविधिहरू कानुनी राज्यको उपहासका गतिविधि हुन्,’ महासचिव पोखरेलले रास्वपा सभापति र सहकारी रकमका सन्दर्भमा सोधिएको प्रश्नमा भने ‘अनुसन्धानको प्रक्रियाबाट भागेर सुशासन दिन सकिँदैन । आफूमाथि उठेका प्रश्नमा अनुसन्धानमा निसर्त रूपमा सहयोग गर्नुपर्छ ।’

कम्पनी खडा गरेर प्राप्त गरेको पैसा सहकारीबाट प्राप्त गरेको र सहकारीले कम्पनीमा लगानी गर्न नपाइने नियमविरुद्ध भएको महासचिव पोखरेलको भनाइ छ । सहकारीको रकम दुरुपयोग गरिएको उनले बताए । त्यस क्रममा उनले भने ‘क्लिन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अदालतबाट सफाइ प्राप्त गरेमा या अनुसन्धानबाट निर्दोष देखिनुपर्ने हुन्छ । समितिले त कानुनसम्मत कारबाही गर भनेको छ ।’ 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully