सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास ‘ब्रेक थ्रु’

मुख्य टनेलको १ हजार १२६ मध्ये ५८७.२२ मिटर खनियो

आश्विन ९, २०८१

माधव अर्याल

1st and 3rd Bypass of Siddha Baba Tunnel 'Break Through'

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत कुल तीन मध्ये दुई बाइपासको निर्माण सकिएको हो ।

१ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइ भएको तेस्रो बाइपास मुख्य सुरुङसम्म खनेर सकिएको हो । 

आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको हो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिर तर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन अझ एक साता लाग्ने सूचना अधिकारी इन्जिनियर ज्ञवालीले बताइन् । 

उनका अनुसार दोस्रो बाइपासको लम्बाइ १ सय ६१ मिटर रहेको छ । यसको १ सय १७ मिटर सुरुङ खनिसकिएको छ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ अब आधा भन्दा बढी खनेर सकिएको उनले बताइन् । मंगलबार बेलुकीसम्म मुख्य टनेल ५८७. २२ मिटर लम्बाइ खनिएको सूचना अधिकारी ज्ञवालीले बताइन् । 

यस आयोजनामा ११२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । डेढ महिनाअघिदेखि विस्फोटक पदार्थ प्रयोग गरेर काम गरिएको छ । आयोजना कार्यालयका अनुसार दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ खनिएको छ । अहिले सुरुङको भौतिक प्रगति २४.१७ प्रतिशत र वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पछिल्लो एक महिनामा समग्र १० प्रतिशतले प्रगति बढेको देखिएको छ । 

रातिको समयमा ड्रिलको काम भइरहेको छ । दिउँसोमा कम्तीमा चार पटक विस्फोट गराइएको छ । राजमार्गको चिडियाखोला–दोभान सडक तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रको सिद्धबाबा सडकखण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजनाअघि बढेको थियो । 

यस खण्डको चार किलोमिटर क्षेत्रमा अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ । योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने आयोजनाले जनाएको छ । कामको प्रगति यही अनुसार भयो भने मंसिरको अन्तिमसम्म मुख्य सुरुङ खन्ने काम सकिने आयोजनाले दाबी गरेको छ । 

सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्छ । समयसीमा भित्र नै काम सक्नेगरी काम भइरहेकाले त्यस क्रममा देखिएका विभिन्न समस्या समाधानका लागि जिल्ला प्रशासन, स्थानीय तह र जिल्ला समन्वय समितिले सहयोग गर्दै आएको छ ।

पाल्पातर्फको सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पाकै तिनाउ जलविद्युत् छेउ रामापिथेकस पार्क नजिकै निस्कन मिल्नेगरी निर्माण गरिएको छ । चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक नेट, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ । सिद्धार्थ राजमार्ग भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully