ओली-मोदीबीच न्युयोर्कमा भेटवार्ता : द्विपक्षीय संयन्त्र सक्रिय बनाउने सहमति

आश्विन ८, २०८१

जगदीश्वर पाण्डे

Meeting between Oli and Modi in New York: Agreement to activate the bilateral mechanism

न्युयोर्क, अमेरिका — प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय संयन्त्रहरू सक्रिय बनाएर आपसी मुद्दालाई सम्बोधन गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान न्युयोर्क लोते प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता भएको हो । बैठकपछि प्रधानमन्त्री ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।

‘यूएनको ७९ औं महासभाको साइडलाइनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँगको बैठक फलदायी रह्यो । बैठकमा हामीले द्विपक्षीय सम्बन्धमा विविध पक्षबारे छलफल गर्‍यौं,’ ओलीले सामाजिक सञ्जाल एक्समा भनेका छन् । 

भारतका प्रधानमन्त्री मोदीले विभिन्न क्षेत्रमा सहकार्यबारे छलफल भएको उल्लेख गरेका छन् । ‘भारत–नेपालको मित्रता धेरै बलियो छ । र, यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने चाहना छ । हाम्रो छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा रह्यो,’ मोदीले सामाजिक सञ्जाल एक्समा छन् । 

भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भने द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएर आपसी समस्या सम्बोधन गर्ने सहमति भएको जानकारी दिइन् । उक्त अवसरमा मोदीको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको र उनले चाँडै नेपाल भ्रमण गर्ने जानकारी दिएको परराष्ट्रमन्त्री देउवाले बताइन् । उनका अनुसार मोदीको भ्रमणका लागि दुवै पक्षलाई आवश्यक तयारी गर्नसमेत भनिएको छ । परराष्ट्रमन्त्री राणा भदौ पहिलो साता भारत भ्रमणमा जाँदा पनि नेपाल भ्रमणका लागि मोदीलाई निम्तो गरेकी थिइन् ।

भेटवार्तामा नेपालबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राई लगायत सहभागी थिए । भारतबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीलगायत उपस्थित थिए ।

बैठकपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले दुई मुलुकबीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले सहयोग गरेको जानकारी दिए । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदीले भेटवार्तामा नेपाललाई अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को पूर्ण सदस्यका रूपमा सामेल हुने १०१ औं देश बनेकोमा बधाई दिए । साथै, जलवायु परिवर्तनको चुनौतीको सामना गर्न क्षेत्रीय प्रतिक्रियाको महत्त्वलाई पनि मोदीले जोड दिएका थिए । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग यो पहिलो भेटवार्ता हो । 

प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि ‘साइडलाइन’मा भेटवार्ता गरेका छन् । भेटवार्तामा दुई पक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको नियोगले जनाएको छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम भने स्थगित भएको छ ।

उक्त कार्यक्रम न्युयोर्कमा आइतबार बेलुकी गर्ने तय भएको थियो । तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभा, ‘समिट अफ द फ्युचर’ र अन्य ‘साइडलाइन’ भेटवार्तामा व्यस्त भएपछि कार्यक्रम स्थगित गर्नुपरेको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully