पूर्वडीआईजी जोशीविरुद्ध कुन कुन कसुरमा हुँदैछ अनुसन्धान ?

आश्विन ७, २०८१

दीपक परियार

What kind of crime is being investigated against former DIG Joshi?

पाेखरा — सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीविरुद्ध ठगी र संगठित अपराधका दफा लगाएर अनुसन्धान गर्न अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति पाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा आइतबार साँझ जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी सोही साँझ जहाजबाट कास्की ल्याइएको थियो । जरुरी पुर्जी थमाएर पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएकामा सोमबार कार्यालय खुलेलगत्तै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

प्रहरीले जोशीविरुद्ध सहकारीको रकम  संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न म्याद मागेको थियो । 

सरकार र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले संगठित अपराध र ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष, जोशी उपाध्यक्ष, हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्य रहेर गोर्खा मिडिया नेटवर्क प्रालि खोलेका थिए । जसमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन राई, जोशी र लामिछानेले संयुक्त खाता खोलेका थिए । 

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले तीन जनाका नाममा खोलिएको संयुक्त खाताबाटै सूर्यदर्शनसहित विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ आएको उल्लेख गरेको छ । यस प्रकरणमा संसदीय समितिले ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने उल्लेख गरेको थियो ।

सोही प्रतिवेदन प्रतिनिधि सभा, मन्त्रिपरिषद्, गृह मन्त्रालय हुँदै शुक्रबार मात्रै प्रहरी प्रधान कार्यालय पुगेको हो । प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पठाएकै दिन शुक्रबार जोशीलाई पक्राउ गरी कास्की ल्याइएको थियो ।

कास्की प्रहरीका एक अधिकृतले अदालतबाट हिरासतमा राखेर जोशीविरुद्ध अनुसन्धान गर्न अनुमति पाएलगत्तै विधिवत रूपमा बयानको काम अघि बढाइएको बताए । ती अधिकारीका अनुसार हाललाई दुईवटा कसुरमा बयान अगाडि बढाइने र अनुसन्धान गर्दै जाँदा अन्य कसुर आकर्षित भएको अवस्थामा साेही अनुसार अदालतबाट म्याद थपका लागि अनुराेध गरिनेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully