कांग्रेसको नेतृत्वमा युवाहरूलाई अघि बढाउनुपर्छ : कोइराला

आश्विन ५, २०८१

कान्तिपुर संवाददाता

Youth should be promoted under the leadership of Congress: Koirala

काठमाडौँ — नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन् । कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । शनिबार धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरुलाई ल्याउनुपर्ने उनको भनाई थियो । वीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराईलाई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै नेता कोइरालाले त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने बताए । ‘६० प्रतिशत मानिसहरु ४० वर्षमुनिका छन् । तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन् । सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरे । हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं । जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन् । युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन्,' कोइरालाले अघि भने, 'मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलिको राजनीति त उनीहरुको हातमा दिनुपर्ने हो । '

नेता कोइरालाले कांग्रेसले बलियो भएर पनि बहुमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुने गरी काम गर्नुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully