कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

थप ३५ को मृत्यु पुष्टि गर्न रुसले माग्यो डीएनए नमुना

थप ३५ को मृत्यु पुष्टि गर्न रुसले माग्यो डीएनए नमुना

Highlights

  • रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार कम्तीमा ७ सय नेपाली रुस–युक्रेन सीमाको युद्धग्रस्त क्षेत्र ‘रेडजोन’ मा छन्, कति नेपाली मारिए र कति घाइते भए भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन

काठमाडौँ — रुसले युक्रेनसँगको युद्धमा मारिएका थप ३५ नेपालीको परिवारसँग डीएनएको नमुना मागेको छ । मस्कोस्थित नेपाली दूतावासले शव पहिचान गर्न भन्दै कन्सुलर विभागलाई ३५ परिवारका सदस्यको डीएनए नमुना पठाइदिन पत्राचार गरेको हो । 

रुसी सेनामा भर्ती भएका थप ३ जना नेपालीको मृत्युको रुसले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ र बागलुङका ध्रुव घर्तीको मृत्यु भएको हो । रञ्जित गुरुङको भने ठेगाना खुलेको छैन । रुस सरकारले मस्कोस्थित नेपाली दूतावासलाई मृत्यु भएका ३ जनाको मेडिकल रिपोर्ट पठाएको छ । थप ३ जनाको मृत्युसँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या ४३ पुगेको पुष्टि भएको छ ।

रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने यकिन तथ्यांक छैन । रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार कम्तीमा ७ सय नेपाली रुस–युक्रेन सीमाको युद्धग्रस्त क्षेत्र ‘रेडजोन’ मा छन् । कति नेपाली मारिए र कति घाइते भए भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । ‘रेडजोन’ मा खटिएर सम्पर्कमा आएकाले आफ्ना अगाडि मारिएका साथीहरूको विवरण सम्बन्धित परिवारलाई दिइरहेका छन् । रुसी सेनामा भर्ती भएका १ सय ६२ जना भने नेपाल फर्किसकेका छन् ।

रुसी सेनामा रहेका नेपालीका अनुसार अझै थुप्रै नेपाली सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएकामध्ये १ सय १८ जनाको परिवारले कन्सुलरमा खोजीका लागि निवेदन दिएका छन् । डीएनए रिपोर्ट मागिएकामा सुर्खेतका लक्ष्मण विष्ट, लालबहादुर पुन मगर, भरत कुँवर, मखनबहादुर पुन, सुनसरीका राजन राउत, अर्जुनदत्त भट्ट, रोनल मिश्र, महेन्द्र शाही, धादिङका मदन गुरुङ, नरबहादुर दर्लामी, टीकाराम गुरुङ, सुमन मेचे, प्यूठानका भीमबहादुर घर्ती मगर, कपिल घर्ती मगर र माइतमान घर्ती रहेका छन् ।

त्यस्तै कपिलवस्तुका चन्द्रबहादुर घिमिरे, सन्दीप कामी, हिराबहादुर गुरुङ, श्यामध्वज गुरुङ, छमबहादुर घर्ती, पाँचधरका सुजन जवेगु, जितेन्द्र केसी, गोर्खाका गणेशबहादुर कुमाल, रामेछापका साधुराम प्रधान, भुवन पुन मगर, रोहन तामाङ, सुजन शर्मा, ज्ञानबहादुर मगर, डोटीका भीमबहादुर नेगी, देव तामाङ, विजयकुमार टमाटा, रूपन्द्रेहीका विपिन विक, चन्द्रप्रकाश बीसी, ओमबहादुर मगर र सुवास तामाङ छन् ।

यसअघि २२ जनाको डीएनए रिपोर्ट मागिएको थियो । रुसले डीएनए मिले, नमिलेको जानकारी दिएको छैन । शवबाट पहिचान नखुलेको अवस्थामा डीएनए परीक्षण गर्ने गरिएको छ । गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार रुस–युक्रेन युद्धमा मारिएकाको शव रोस्तोभ सहरमा संकलन भइरहेको छ । ‘रोस्तोभमा ल्याएपछि पहिचान गर्न डीएनए परीक्षण हुन्छ,’ तिमल्सिनाले भने ।

कन्सुलर विभागले डीएनए नमुना मागेका ३५ जनामध्ये ठेगाना खुलेकाको परिवारका सदस्यलाई नमुना लिन काठमाडौं बोलाएको छ । विभागले डीएनएका लागि पत्राचार गरेपछि पञ्चपुरी–४, सुर्खेतकी ७० वर्षीया मन्धरा विष्टको मनमा आगो लागेको छ । गत पुसदेखि जेठा छोरा लक्ष्मणसँग संवाद टुटेको छ । जेठो छोरा अनलाइनमा आउने दिन पर्खिरहेकी मन्धरालाई कन्सुलर विभाग काठमाडौंबाट फोन गयो, ‘रुसमा धेरै जना मारिएका छन् । शव पहिचान गर्न डीएनएको परीक्षण गर्नुपर्ने भयो । तपाईं वा तपाईंको छोराछोरीमध्येबाट एक जनाको डीएनए परीक्षण गर्नुपर्ने भयो । काठमाडौं आउनुपर्‍यो ।’

यो खबर पाएदेखि मन्धरा झन् अत्तालिएकी छन् । दुई छोरामध्ये एक जना मजदुरीका लागि भारततिर छन् । तीन छोरीमध्ये शान्तिलाई काठमाडौं पठाइन् । उनले लक्ष्मणको खोजी गर्न काठमाडौंको रत्नपार्कमा आएर १५ दिनसम्म अनशन बसेकी थिइन् । प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको दैलो चाहरिन् । ‘कतैबाट केही लागेन, गाउँमै फर्कें,’ मन्धराले भनिन्, ‘हामीमाथि कहिले नसोचेको आपत् आइपर्‍यो ।’

२७ वर्षीय लक्ष्मण दुई वर्षदेखि दुबई प्रहरीमा थिए । ‘काका उतैबाट रसिया जानुभएको हामीले पछि मात्रै थाहा पायौं, रसिया पुगेको महिना दिनसम्म सम्पर्कमा आउनुभएको थियो । तालिममा जान्छौं, अब ५–६ महिनापछि मात्रै अनलाइनमा आउँछु भन्नुहुन्थ्यो, अहिलेसम्म पत्तो छैन,’ लक्ष्मणका भतिज लोकेन्द्रले भने, ‘मेरो बुबा बित्नुभयो । हामीलाई काकाले नै हेर्नुभएको थियो । काका बेपत्ता हुनुभएपछि म काठमाडौंमा बस्न सकिनँ, सुर्खेतमै फर्किएँ ।’

काठमाडौं आइपुगेका परिवारका सदस्यहरू डीएनए परीक्षण गर्न पनि प्रक्रियागत झन्झटको सास्ती खेपिरहेका छन् । ‘टिचिङ अस्पतालमा परीक्षण गर्दोरहेछ । त्यहाँ सिधै जान नमिल्दोरहेछ । कन्सुलर विभागको पत्र लिएर प्रहरी प्रधान कार्यालयमा जानुपर्दोरहेछ । त्यहाँबाट फेरि महाराजगन्ज हुँदै अस्पताल जाने रहेछ,’ साधुराम प्रधानका दाइ भुवनले भने, ‘नक्सालमा डीएनएका लागि भनेको अर्को विदेश जाने प्रहरी रिपोर्ट बनाइदिएछ । सोमबार भएन । भोलि गएर पत्र सच्याउनुपर्ने भयो ।’

साँघुटार–३, रामेछापका साधुराम प्रधान सम्पर्कविहीन भएको १० महिना भइसकेको छ । उनी घरको रंगरोगन गर्थे । ‘गएको दसैंको मुखैमा भाइ र उसका साथी नेपालबाट ७ लाख खर्चेर रसिया गएका थिए । त्यतिन्जेलसम्म रसियामा युद्ध चलिरहेको छ भन्ने हामीलाई केही थाहा थिएन,’ दाजु भुवनले भने, ‘तालिम सकिएपछि बंकरमा गएको हो । त्यहाँ मोबाइल चलाउन पाइँदैन । अबदेखि अनलाइन आउँदिनँ भनेको थियो । त्यसपछि कहिले सम्पर्कमा नै आएन ।’ रामेछापमा रहेका ५५ वर्षीय बुबा र ५० वर्षीया आमा कान्छो छोरा साधुराम बेपत्ता भएदेखि नै तनावमा छन् । ‘एक वर्षपछि पनि सम्पर्कमा आएको कुरा सुन्छु । हामी त एउटा आशामा बसिरहेका थियौं । अहिले शव पहिचान गर्न शंका लागेकाले डीएनए परीक्षण गर्न लागेको भन्ने हामीलाई सूचना दिइएको छ,’ भुवनले भने ।

नुवाकोटका ३६ वर्षीय हिराबहादुर गुरुङ सम्पर्कविहीन भएको पनि १० महिना भइसकेको छ । दाजु विजय रुसले आधिकारिक सूचना नदिइएसम्म बेपत्ताको खोजी गर्न असम्भव जस्तै रहेको बताउँछन् । ‘विजयसँग ‘फ्रन्टलाइन’मा जानुअघि २९ नोभेम्बरमा अन्तिम पटक कुरा भएको थियो । ऊ तीन नम्बर बटालियनको पाँचौं समूहमा थियो । यो समूहमा गएका लगभग सबैजना सम्पर्कविहीन नै छन् । मैले कैयौं पटक खोजी गरेको थिएँ । उसको रसियन कमान्डरसँग पनि सम्पर्क गरें,’ उनले भने, ‘जसलाई सोधपुछ गर्दा पनि सबैले थाहा छैन मात्र भन्छन् । रसियन कमान्डरले मिसनमा गएको छ, फर्केर आएको छैन मात्रै भन्छ ।’

आफन्तजन सम्पर्कविहीन भएको चोट खेपिरहेको परिवारलाई डीएनएको परीक्षण रिपोर्ट पठाउन भइरहेको ढिलाइले थप पीडा दिएको छ । गत चैतमा १५ जनाका परिवारको डीएनए नमुना पठाइएको थियो । जसमा तेह्रथुमका टीकाबहादुर राना मगर, दाङका जितबहादुर पुन मगर, अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार, विकास राई, मकवानपुरका विजयबहादुर थोकर, जितेन्द्रबहादुर घिसिङको परिवारको नमुना पठाइएको थियो । तर, पाँच महिना बित्दा पनि रुसले डीएनए परीक्षणको रिपोर्ट के भयो जानकारी दिएको छैन । थप ७ जनाका परिवारको डीएनए नमुना गत साउनमा पठाइएको थियो ।

नेपालीको मृत्यु संख्या बढिरहे पनि रुसी सेनामा भर्ती रोक्न र युद्धग्रस्त क्षेत्रमा रहेकालाई फिर्ता ल्याउन सरकारले रुसी पक्षसँग ठोस संवाद गर्न सकेको छैन । रुसी सेनामा भर्ती भएकाको जीवन सुरक्षाका लागि सचेतना अभियानकी संयोजक कृति भण्डारीका अनुसार युद्धग्रस्त क्षेत्रमा खटिएका नेपालीको स्वदेश फिर्ता र उद्धार समयमै हुन नसक्दा बेपत्ता हुने र मृत्यु हुने संख्या बढिरहेको छ ।

प्रकाशित : भाद्र २५, २०८१ ०५:१७
×