रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु, ३५ जनाको डीएनए नमुना पठाइदिन पत्राचार 

भाद्र २४, २०८१

होम कार्की, जगदीश्वर पाण्डे

3 more Nepalis died in Russia-Ukraine war, correspondence to send DNA samples of 35 people

काठमाडौँ — रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मारिने नेपालीको संख्या ४३ पुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । रञ्जितको ठेगाना खुलेको छैन । रुसले मस्कोस्थित नेपाली दूतावासलाई थप ३ जनाको मृत्यु भएको मेडिकल रिपोर्ट पठाएको हो ।

त्यस्तै रुसले थप ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाललाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । यसअघि २२ जनाको डीएनए परीक्षणको नमुना पठाइएको थियो । २२ जनाको पछिल्लो विवरण रुसले पठाएको छैन ।

नेपाली दूतावासले भदौ १७ गते कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । जसमा लालबहादुर पुन मगर, भरत कुँवर, लक्ष्मण बस्नेत, मख्खनबहादुर पुन, राजन राउत, अर्जुन दत्त भट्ट, रोनल मिश्र, महेन्द्र शाही, मदन गुरुङ, नरबहादुर दर्लामी, टीकाराम गुरुङ, सुमन मेचे, भीमबहादुर घर्ती मगर, कपिल घर्ती मगर र माइतमान घर्ती रहेका छन् ।

त्यस्तै चन्द्रबहादुर घिमिरे, सन्दीप कामी, हिराबहादुर गुरुङ, श्यामध्वज गुरुङ, छमबहादुर घर्ती, सुजन जवेगू, जितेन्द्र केशी, गणेशबहादुर कुमाल, सादुराम प्रधान, भुवन पुन मगर, रोहन तामाङ, सुजन शर्मा, ज्ञानबहादुर मगर, भीमबहादुर नेगी, देव तामाङ, विजयकुमार टमाटा, विपिन बिक, चन्द्रप्रकास बिसी, ओमबहादुर मगर र सुवास तामाङ रहेका छन् ।

कन्सुलर विभागले सर्म्पकमा आएका परिवारका सदस्यलाई डीएनए परीक्षणको नमुना लिन काठमाडौं बोलाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully