तीस वर्षपछि जुम्ला पुगेका डा. रुइतले कर्णाली प्रतिष्ठानका विद्यार्थीलाई भने- 'स्वच्छ सपना बुन्नुहोस्'

भाद्र २३, २०८१

ज्योति कटुवाल, डीबी बुढा

Dr. who reached Jumla after thirty years. Ruit said to the students of Karnali Academy - 'weave clean dreams'

जुम्ला — तीस वर्षपछि जुम्ला पुगेका वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतले यो वर्षमात्रै कर्णालीको कुनाकाप्चामा पुगेर दुई हजार बढीको आँखाको शल्यक्रिया गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको नेत्र विभागको उद्घाटन तथा निःशुल्क आँखा शिविरको सुरुवात गर्दै उनले सो कुरा बताएका हुन् ।

‘३० वर्ष पहिले जुम्लामा आएर गरेको सेवा बिर्सेको छैन । कर्णाली प्रति मेरो छुट्टै मोह छ,’ उनले भने, ‘आँखाको कारण कोही दुःखी हुन नपरोस् भनेर हामीले गाउँगाउँ पुगेर आँखा शिविर सञ्चालन गरिहेका छौं ।’ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा ‘द फ्रेड हलोज इन्ट्राओकुलर लेन्स ल्याब्रोटरीको सहयोगमा आफूले कर्णालीका प्राय सबै जिल्लामा निःशुल्क शिविर सञ्चालन गर्न लागेको घोषणा पनि गरे । गएको सातामात्र उनले माथिल्लो डोल्पाको शे गुम्बामा तीनदिने शिविर संचालन गरेका थिए ।

१५ हजार फिट उचाइमा संचालन गरिएको शिविरमा हजार बढीले आँखाको गरेका थिए भने ६१ जनाको मोतियाविन्दुको शल्यक्रिय भएको थियो । शिविरमा मनाङ, मुस्ताङ, मुगु लगायतका बिरामीहरुको उपचार पाएको पनि उनले बताए ।

उनले प्रतिष्ठानले कर्णालीको पहिचान बोकेकाले राम्रोसँग सबै प्रकारका उपचार सेवाहरू दिएर संचालन गर्न सुभाव पनि दिएका थिए । सरकारको गलत ठाउँमा लगानी भइरहेकाले दक्ष जनशक्ति परिचालन हुन नसकेको उनको जोड छ । ‘हामीले ठुलठुला संरचना बनाएर काम छैन् । सानोले धेरैलाई फाइदा पुग्ने गरी काम गर्नुपर्छ,’ डा.रुइतले भने, ‘सफ्टवेयरमा काम गर्नुपर्छ ।’

उनले कर्णालीमा कुपोषणकै कारण धेरैको आँखा समस्या देखिने गरेको पनि बताए । ‘कर्णालीका मानिसहरुको आँखा बिग्रनुको मुख्य कारण कुपोषण र चर्को घाम हो,’ उनले भने, ‘असहाय जनतालाई मोतिविन्दुका कारण अन्धोपन भएका छ भने हामीले शल्याक्रिया गरेर निको पार्ने छौं ।’ तिलगंगा आँखा प्रतिष्ठानले सहयोग गरेका उपकरणहरुसहित नेत्ररोग विभाग सुचारु ग्रिएको हो ।

उनले कर्णालीमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै स्वच्छ सपना बुन्न अर्ति दिए । ‘सपना बुन्नुहोस, सपना स्वच्छ हुनुपर्छ ।  आफ्नो पेशालाई मन पराउनुहोस,’ उनले भने, ‘अनि पेशाले हजुरहरुलाई मन पराउने छ ।’

Dr. who reached Jumla after thirty years. Ruit said to the students of Karnali Academy - 'weave clean dreams'

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कर्णालीमा पढेको भनरे नाक खुम्च्याउने अवस्था आउन नदिन प्रतिष्ठानलाई सुझाव दिए । ‘कर्णालीको प्रतिष्ठाको विषय बनेको छ कर्णाली प्रतिष्ठान । प्रतिष्ठानलाई कर्णालीको पहिचान बनाउनुहोस,’ उनले भने । राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छाले संघमा कर्णालीले ‘माग्छ’ भन्ने भ्रम तोडिएको बताए । ‘अब माग्ने हैन कर्णालीले दिने छ,’ उनले भने, ‘संघको विकल्पको रुपमा कर्णाली प्रतिष्ठान तयार भएको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णालीमा आउजाउ गर्न निकै समस्या देखिएको भएपनि प्रतिष्ठानको सेवा निरन्तर चलिरहेको बताए । ‘कर्णाली प्रतिष्ठन नहुने हो भने कर्णालीबासीको ज्यान जोखिममा हुन्छ,’ उपकुलपति डा. रावलले भने, ‘राज्यले कर्णाली प्रतिष्ठानलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिन आवश्यक छ ।’

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको सामान्य जाँच मात्रै हुने गरेको प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. विश्वराज तिमलसेनाले बताए । ‘उपकरण अभावमा आँखाका बिरामीलाई सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका अस्पतालहरुमा रेफर गरिन्थ्यो,’ उनले भने, ‘अब प्रतिष्ठानमै शल्यक्रिया हुन्छ ।’ नेत्र रोग सेवा लिन डोल्पा, मुगु, कालिकोट, जुम्ला र हुम्लाका बिरामीहरु आउने छन् । नेत्र विशेषज्ञ डा. विश्व र डा.प्रकाश बम लगायत ५ जना कर्मचारीले काम गर्ने छन् ।

सोही कार्यक्रममा विश्व स्वास्थ्य संगठनले प्रतिष्ठानलाई इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर), ट्रमा  इमरजेन्सी सर्जरी किट, कोलेरा किट, आईएच किटप्रदान गरिएको छ । जुम्लामा तीन दिनसम्म निःशुल्क आँखा शिविर चल्नेछ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully