एआईसँग डर छैन नयाँ पुस्तालाई

भाद्र १४, २०८१

सुजाता मुखिया

The new generation is not afraid of AI

काठमाडौँ — अहिले हुर्किरहेका ‘जेन–जी’ पुस्ताका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चुनौती हो कि अवसर ? यसले उनीहरूलाई अप्ठ्यारोमा पार्नेछ वा सजिलो बनाउँछ ? सफ्टवेरिका कलेजमा बीसीएस गरिरहेकी प्रविशा खड्कालाई लाग्छ, प्रविधिसँगै अगाडि बढ्न सकिएन भने यसले अवसरभन्दा बढी समस्यामा पार्नेछ ।

‘नेपालमा अहिले यसबारे चर्चा र अभ्यासहरू हुन थालेका छन् । कलेजहरूले पनि एआईसँग सम्बन्धित कोर्स भित्र्याइसकेका छन्,’ उनी भन्छिन्, ‘नेपालमा आईटी कम्पनी थुप्रै छन् । यसले हामीजस्ता नयाँ पुस्ताका लागि नयाँ–नयाँ अवसरहरू सिर्जना गर्न सक्छ । मैले यहाँ धेरै सम्भावना देखेकी छु ।’

अहिले नेपालमै पनि च्याट जीपीटीको प्रयोग व्यापक हुँदै गएको छ । ‘च्याट जीपीटीबाट १० दिन लाग्ने काम तीन दिनमै सम्भव भएको छ, यो फाइदा पनि हो, बेफाइदा पनि । एकातिर यसले हामीलाई परनिर्भर बनाइरहेको छ भने अर्कोतिर रोजगारको चुनौती पनि थपिदिन्छ ।’ 

The new generation is not afraid of AIप्रविशाको तर्कमा उदितकुमार महतो सहमत छैनन् । सनवे कलेजबाट बीसीएस गरिरहेका उनी प्रविधिले परनिर्भर नभई गतिशील बनाउने ठान्छन् । ‘पहिलेका पुस्ता औंला भाँचेर जोड–घटाउ गर्थे, पछि क्यालकुटेर आयो । तर, त्यसले हामीलाई हानि त गरेन नि । क्यालकुलेटरले बरु हाम्रो कामलाई सजिलो बनाइदिएपछि हामीलाई अरू कुरा सोच्ने समय मिल्यो ।’

एआईको बढ्दो प्रयोगसँगै रोजगारको अवसर गुम्छ भन्ने कुरामा पनि उनी सहमत छैनन् । ‘कुनै–कुनै क्षेत्रमा वा सीमित वर्गमा यसले रोजगार खोस्न सक्छ,’ उनी भन्छन्, ‘तर एआईलाई काम लगाउन पनि त जनशक्ति चाहिन्छ । यसले रोजगार खोस्नेभन्दा पनि अवसर बढाउँछ जस्तो लाग्छ ।’

The new generation is not afraid of AIएआईको आगमनसँगै रोजगार बजारमा उथलपुथल आउने कतिपयको विश्लेषण छ । सुरुवाती दिनमा थुप्रैले एआईकै कारण रोजगार गुमाएको पनि खबर आएको थियो । च्याट जीपीटीजस्ता एआई प्रविधि तीव्र प्रयोगमा आइरहँदा त्यसले नेपालकै रोजगार बजारमा पनि असर गर्न थालेको बताइन्छ । 

The new generation is not afraid of AIसफ्टवेरिका कलेजबाटै बीसीएस गरिरहेका सौगात भूपालसिंह भन्छन्, ‘एआईका कारण भारतीय अर्बपति मुकेश अम्बानीले ४० हजार कामदार निकाले भन्ने समाचार आयो । नेपालमा पनि यस्तो अवस्था नआउला भन्न सकिन्न ।’ तर उदित यसलाई रोजगार संकट मात्र मान्न तयार छैनन् । बरु यसले मान्छेको काम गर्ने तरिका, शैली र गतिलाई परिवर्तन गर्ने मान्छन् । भन्छन्, ‘कुनै न कुनै समयमा यस्तो हुनु नै थियो । पहिला शिक्षकहरू ब्ल्याकबोर्डमा पढाउँथे, पावर प्वाइन्ट थिएन । अहिले सबै बदलिएको छ । समयसँगै जो बदलिए, उनीहरूका लागि सजिलो भयो, जो बदलिएनन्, उनीहरूका लागि कठिन ।’

The new generation is not afraid of AIपरिवर्तन र त्यसले ल्याउने उथलपुथल स्वाभाविक भएको बताउँछन्, उदित । उनको विचारमा हरेक कुराले राम्रो र नराम्रो दुवैलाई एकसाथ लिएर आउँछ । त्यसले कतिलाई गाह्रो बनाउँछ भने कतिलाई सजिलो । अहिले एआईजस्तो प्रविधि यसैको उदाहरण भएको उनको भनाइ छ ।

सौगात भन्छन्, ‘हाम्रो देशमा पनि एआईजस्ता उन्नत प्रविधिको विकास भइरहेको छ । कम्पनीहरू खुल्ने क्रम बढ्दो छ । तर त्यसअनुसार नयाँ अन्वेषण हुन सकेको छैन ।’ यसको पछाडिचाहिँ हाम्रो समाजको मनोविज्ञान मुख्य कारण हो जस्तो उनलाई लाग्छ । ‘किनभने मान्छेहरू रोजगारीको पछाडि दौडिएका छन्, उद्यमशीलताको पछाडि होइन । जुन बेला मान्छेहरू आउटसोर्सको काम गर्न छाडेर आफ्नै प्रविधिको विकास गरी विश्वमाझ लैजान्छु भन्ने सोच राख्दैनन्, तबसम्म नेपालको प्रविधि विकास भएको मान्न सकिँदैन,’ सौगात भन्छन् । 

The new generation is not afraid of AIनेपालमा रोबोटिक्स, एआईदेखि हरेक किसिमका प्रविधिको विकास भइरहेका छन् । ई–कमर्शबाट अनलाइन व्यापार हुन थालेको छ । यस्ता परिवर्तनले एकातिर कामलाई सहज बनाइदिएको छ भने अर्कोतिर चुनौती पनि थपेको सौगात बताउँछन् । प्रविधिलाई सही ढंगले प्रयोग गर्नु जरुरी हुने उनीहरूको तर्क छ । यदि यसको गलत प्रयोग हुन थालेमा त्यसले अवसर र सम्भावना होइन बरु समस्या ल्याउने जोखिम छ । 

सौगात थप्छन्, ‘सानो छँदा फोन पायौं भने प्र्यांककल गरेर मान्छेलाई जिस्काउने गरिन्थ्यो । साथीहरूको फोटो खिचेर एनिमीको शरीरसँग जोडिदिन्थ्यौं । त्यसबेला त हामीलाई यो रमाइलो लाग्थ्यो तर प्रविधिको दुरुपयोगको एउटा सिलसिला रहेछ ।’ यसरी प्रविधिको दुरुपयोग गर्नेहरू अहिले ‘डिपफेक’ मा लागेका छन् । ‘यस्तो जोखिमलाई समयमै बुझेर अभिभावकले आफ्ना छोराछोरीलाई सजग गराउनुपर्छ,’ उनी भन्छन् । 

पुरानो पुस्तालाई नयाँ प्रविधिका बारेमा पर्याप्त जानकारी र अपडेट नहुने हुँदा अभिभावकले अहिलेका आफ्ना सन्तानलाई प्रविधिको दुरुपयोग गर्न नदिन र सजग गराउन नसक्ने उदितको तर्क छ । उनी भन्छन्, ‘अघिल्लो पुस्तालाई आफ्नो बच्चाले केसम्म गर्न सक्छ भनेर थाहा नै हुँदैन । त्यसैले पनि उनीहरूले सजग गराउन सक्दैनन् ?’

एआईजस्ता पछिल्ला प्रविधिलाई सही सदुपयोग गर्न सके यसले समग्र जीवनस्तरलाई उकास्न सक्ने उनीहरूको बुझाइ छ । यसले सरकारी कामदेखि अरू थुप्रै काम सजिलो, छरितो र पारदर्शी बनाउनेछ । यसका लागि सरकारले उचित नियम कानुन भने बनाउन ढिला गर्न नहुने उनीहरू बताउँछन् । भन्छन्, ‘नेपालमा एआईसम्बन्धी नैतिक कुरा अझै राम्रो छैन । त्यसका लागि सरकारले कानुन बनाउनु जरुरी छ ।’

सुजाता मुखिया कान्तिपुरको नारी मासिकमा कार्यरत पत्रकार हुन् ।

Link copied successfully