दलित समुदायले न्याय पाएको छैन : सांसद विश्वकर्मा

भाद्र २, २०८१

कान्तिपुर संवाददाता

Dalit community has not got justice: MP Vishwakarma

काठमाडौँ — राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको स्मरण गराएका छन् । आइतबार राष्ट्रियसभाको बोल्दै सांसद विश्वकर्माले सरकारले दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर नबनेको र दलित समुदायले न्याय प्राप्त गर्न नसकिरहेको अवस्था रहेको बताए । 

उनले दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको भन्दै सरकारमा दलित समुदायको शुन्यता हुनु पनि दलितहरुमाथि उत्पीडनको निरन्तरता भएको बताए ।

उनले भने, ‘आज पनि दलितलाई यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ । हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौँ । जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् । र ती घटनामा पीडितले न्याय पाइरहेका छैनन् । हामीले पटक-पटक भन्ने गरेका छौँ । यस विषयमा सरकार गम्भीर भएको छैन ।'

 सांसद विश्वकर्माले मन्त्रिपरिषद्‌मा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अपमान गरेको आरोप लगाए । 'दलित सधैँ ढोकाबाहिरै थिए, छन् । अहिले प्रधानमन्त्रीज्यूले अधिकारमा दलित समुदायलाई एउटा राज्यमन्त्री दिएर थुमथुम्याउने प्रयास गर्नुभएको छ । तर राज्यमन्त्रीलाई कुनै अधिकार छैन । राज्यमन्त्रीलाई मन्त्रिपरिषद् बैठकमा बस्ने अधिकार समेत छैन,' उनले भने, 'यस्तो अधिकारमा सीमित राज्यमन्त्री बनाउनुभन्दा नबनाएकै भए पनि हुन्थ्यो।'

कान्तिपुर

Link copied successfully