कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

थामे बाढी : १२ घरसहित स्कुल र क्लिनिकमा क्षति

श्रावण ३२, २०८१
थामे बाढी : १२ घरसहित स्कुल र क्लिनिकमा क्षति

सोलुखुम्बु — थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटलसहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । उनका अनुसार स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् । दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन ।

कान्तिपुर टीभीका सोलु संवाददाता भानुभक्त निरौलालाई प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले दिएको जानकारीअनुसार घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको छ ।

थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए । सिंगो थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । क्षतिबारे बुझ्न काठमाडौंमै रहेको पालिका अध्यक्ष मिङ्मार छिरि शेर्पा लगायतका जनप्रतिनिधिको टोली अनुकूल मौसमको पर्खाईमा त्रिभुवन विमानस्थलमा रहेका छन् ।

बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन् ।

प्रकाशित : श्रावण ३२, २०८१ १७:००
×