कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

थामे बाढीमा मानवीय क्षतिको आशंका छ : रक्षामन्त्री राई

श्रावण ३२, २०८१
थामे बाढीमा मानवीय क्षतिको आशंका छ : रक्षामन्त्री राई

काठमाडौँ — रक्षामन्त्री मानवीर राईले सोलुखुम्बुको थामेमा आएको भीषण बाढीबाट मानवीय क्षति भएको आशंका रहेको बताएका छन् । कान्तिपुरसित कुरा गर्दै मन्त्री राईले विवरण आइनसके पनि थामे बाढीबाट मानवीय क्षति भएको अनुमान रहेको बताएका हुन् ।

‘अहिलेसम्म मानवीय क्षति भए/नभएको यकिन विवरण आइसकेको छैन । मानवीय क्षति भएको आशंका छ,' मन्त्री राईले भने, 'थामेको घटनास्थलमा बढी क्षति भएको आकलन गर्न सकिन्छ ।’

मन्त्री राईले हालसम्म बाढीले नदी प्रवेश गरी पुल र अरु भौतिक संरचनामा क्षति पुर्‍याएको विवरण आइनसकेको पनि बताए ।रक्षामन्त्री राई बाढी आएको खुम्बु पासाङल्यामु गाउँपालिकाको छिमेकी पालिका माप्य दुधकोशी गाउँपालिकाका स्थानीय हुन् ।

रक्षामन्त्री राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन नर्ग निर्देशन दिइएको बताए । ‘गृहमन्त्रीसँग कुराकानी भइसकेको छ । मैले कामु प्रधानसेनापतिज्यूलाई पनि विपद्‌बाट पार्ने जोखिमबाट बच्न, नागरिकलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था गर्न र अरु भौतिक क्षति हुन नदिने उपाय अपनाउन सुरक्षाकर्मीहरुलाई परिचालन गर्न निर्देशन दिइसकेको छु ।’

बाढीबाट खुम्बु पासाङल्हामु–५, थामेका तीनवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । अरु ५ वटा घर पनि जोखिममा रहेको उनले बताए । एउटा होटल पनि बगाएको छ ।

नाम्चे बजारबाट केही तलका अर्को घर पनि बगाएको छ । बाढीबाट मानवीय हताहत भए/नभएको बुझ्न र खोज तथा उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।

डीएसपी घिमिरेले बाढी दुधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दुधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा रहेको बताए । त्यसको जोखिमबाट बच्न दुधकोशीको तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउमा जान आग्रह गरिएको बताए ।

हिमताल फुटेको हल्ला आए पनि त्यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । उनका अनुसार घटनास्थल क्षेत्रमा पानी परिरहेको छ । जसकारण बाढी आएको हुन सक्ने अनुमान छ । बाढीले तीन वटा घर र एउटा होस्टेल बगाएको छ भने अन्य पाँच वटा घर उच्च जोखिममा रहेको यकिन भएको प्रजिअ पाण्डेले जानकारी दिइन् ।

माथिबाट आएको बाढीको असर दुधकोशी नदीसँग जोडिएका खुम्बुपासाङ गाउँपालिका, माप्यदुधकोशी र थुलुङ दुधकोशी गाउँपालिकाका नदी तटीय क्षेत्र उच्च जोखिममा परेका छन् । दुधकोशी नदी तीनवटा पालिका पछि खोटाङ र ओखलढुंगाका वारिपारिका तटीय बस्ती पनि उ जोखिममा परेका छन् । दुधकोशी खोटाङ र उदयपुर हुँदै सप्तकोशीमा मिसिन्छ ।

प्रकाशित : श्रावण ३२, २०८१ १६:४३
×