एमालेबाट थापा पदमुक्त

ओलीको कार्यशैली र विचारसाग असहमति जनाउँदै मणि थापा पार्टीमा निष्क्रिय थिए

श्रावण १९, २०८१

कान्तिपुर संवाददाता

Thapa dismissed from UML

काठमाडौँ — एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले बिहीबारको सचिवालय बैठकबाट पदमुक्त गरेको हो । 

एमालेको मूल नेतृत्व (केपी शर्मा ओली) को कार्यशैली र विचारसँग असहमत भएपछि थापा पार्टीमा निष्क्रिय थिए । ‘पार्टीको विधानले लगातार तीन वटा बैठकमा बिनाजानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ । उहाँ लामो समय पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त हुनुभएको हो,’ स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘मणिजी गत निर्वाचनमा पनि पार्टीको काममा खट्नु भएन । उहाँ साहित्य सिर्जनामा बढी व्यस्त हुनुहुन्छ होला ।’ 

थापाले भने आफूले गत वर्ष राजीनामा दिइसकेको उल्लेख गरे । ‘पार्टीको मुख्य कुरा विचार र कार्यशैली हो । त्यसमा सहमत हुन नसकेपछि मैले राजीनामा दिएको थिएँ,’ उनले भने, ‘एमालेले त्यसलाई स्वीकृत गर्न ढिला गरेको थियो । स्वीकृत भएछ, राम्रो भयो ।’ 

नेतृत्वको विचार र कार्यशैलीमा सहमत हुन नसकेपछि त्यहाँ बसिरहनुको औचित्य नहुने थापाको भनाइ छ । एमालेले लिएको राजनीतिक दिशा अपेक्षाअनुसार नभएको पनि उनले बताए । उनले आगामी दिनमा पनि आफू राजनीतिमै केन्द्रित हुने जनाए । ‘जनपक्षीय राजनीतिमै रहनेछु,’ उनले भने । थापाले पार्टीको काम छाडेर गत वर्ष वैशाखमा देशव्यापी जनजागरण सांस्कृतिक अभियान चलाएका थिए । उनको उक्त गतिविधिप्रति ओली असन्तुष्ट थिए । 

तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि २०७७ पुस १० मा थापालाई खानेपानी मन्त्री बनाएका थिए । सर्वोच्चको आदेशबाट २०७७ फागुनमा एमाले र माओवादी केन्द्र अलगिएपछि थापा एमालेमै रहे । त्यति बेला उनी माओवादीका अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्ट थिए । एमालेको २०७८ मंसिरको चितवन महाधिवेशनले थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो । तर त्यसपछि नै उनी पार्टीको काममा निष्क्रिय हुँदै गएका थिए । गत आम निर्वाचनमा पनि उनी खटेनन् । 

माओवादीको सशस्त्र द्वन्द्वका बेला थापाले पार्टीमा साहित्य र संगीत फाँटको जिम्मेवारी पाएका थिए । तर शान्ति प्रक्रियामा आउनुअघि नै उनले माओवादी छाडे र माओवादी मूलधारमा आएपछि पुनः सामेल भए । थापा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने चर्चा छ । ‘तर तत्कालै कुनै पार्टीमा जोडिने सोचेको छैन,’ थापाले भने ।

हाल एमालेमा पूर्वमाओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा, सचिव लेखराज भट्ट महत्त्वपूर्ण जिम्मेवारीमा छन् भने सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर जेल परेपछि निलम्बित छन् । एमालेले पार्टीको वेबसाइटबाट रायमाझीको नाम हटाइसकेको छ ।

कान्तिपुर

Link copied successfully