काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
सौर्य विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न बिहीबार काठमाडौं मेडिकल कलेज पुगेका उपसभापति खड्काले हवाइ र सडक यातायातको सुविधा बढाउन आवश्यक रहेको बताएका हुन् । पाइलट शाक्यको स्वास्थ्य सुधारोन्मुख रहेको पनि खड्काले जानकारी दिए ।
‘हामीले विमान चालक मनिषरत्न शाक्यलाई भेट्यौँ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । उहाँको उपचार अझै जारी रहने चिकित्सकहरूले भन्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य निकै सुध्रिएको बताउनुभएको छ,' खड्काले भने, 'हामी सबैले प्रयत्न गर्दागर्दै पनि दुर्घटना भएका छन् । सडक, हवाई दुर्घटनालाई सबै राजनीतिक दल, सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । विमानस्थलमा थप के-के सुविधा गर्नुपर्छ त्यो गर्ने, दुर्घटना रोक्न धेरै गम्भीर हुनुपर्छ ।’
पाइलट शाक्यले स्वास्थ्य अवस्थामा पूर्ण सुधार आएपछि विमान दुर्घटना जाँचबुझ आयोगलाई आफ्ना कुरा राख्ने बताएको पनि खड्काले जानकारी दिए । कांग्रेस सांसदसमेत रहेका मेडिकले कलेज अस्पतालका प्रमुख डा. सुनिल शर्माले पाइलटलाई जोगाउन सफल भइएको बताए ।
अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको जानकारी दिइन् । डिस्चार्ज भएपछि पनि घरमा उपचार भने जारी राख्नुपर्ने उनको भनाइ थियो । ‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो,’ उनले भनिन् ।
पाइलट शाक्य तत्कालै काममा फर्किने अवस्था भने नरहेको थापाको भनाइ थियो । शाक्यलाई बिहीबार नै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ ।
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्ग नजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।
प्रकाशित : श्रावण १७, २०८१ १६:३४