सौर्य जहाज दुर्घटना : पोस्टमार्टम सकियो, परिवारले दिएको जानकारीका आधारमा शव पहिचान गरिने

प्रिज्मा खतिवडा र उनका छोरा अधिराजको शव पहिचान भयो

श्रावण १०, २०८१

कान्तिपुर संवाददाता

Solar ship accident: Postmortem is over, the body will be identified based on the information provided by the family

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि शुक्रबारसम्म लाग्ने भएको भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले परिवारले दिएको विवरणका आधारमा 'म्याचिङ' गरेर मात्र हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले मृतक १८ जनाकै पोस्टमार्टम सकिएको बताए । तर धेरै शव पहिचान गर्न नसकिने खालको भएकाले शुक्रबार बेलुकासम्म लाग्न सक्ने डा. चौधरीले जानकारी दिए । उनका अनुसार मृतक प्रिज्मा खतिवडा र उनका छोरा अधिराजको भने पहिचान भइसकेको छ ।

अन्य १६ जनाको भने परिवारले दिएको जानकारीका आधारमा पहिचान गरिने उनले बताए । उनले भने, 'महिला र बालकको पहिचान भएको छ । अन्य ४ जनाको धेरै नै बर्न भएको छ । सबैको पहिचान भोलि बेलुकासम्म गरिसक्छौँ ।' उनले कतिपय शवहरू क्षतविक्षत भएकाले पनि 'सग्लो' बनाउन सिलाउनु परेकाले केही समय लागेको बताए । परिवारले दिएको विवरणका आधारमा पनि पहिचान नभए डीएनए परीक्षण गरिने डा. चौधरीले बताए । 

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । फेरि फ्लाइट (गैरव्यावसायिक उडान) मा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ। शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

सौर्य एयरलाइन्स जहाज दुर्घटना

कान्तिपुर

Link copied successfully