बाढी पहिरो : देशभरका नौ सडक खण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा

श्रावण ७, २०८१

कान्तिपुर संवाददाता

Floods and landslides: Nine road sections across the country are blocked, 159 are in one-way operation

काठमाडौँ — बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । 

विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक विभागकानुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । विभागले रात्रिको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा नै असुरक्षित हुने भन्दै आवातजावत नगर्न सुझाव दिएको छ । 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

कान्तिपुर

Link copied successfully