कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सिमलताल दुर्घटना : वैवाहिक समारोहको फोटो खिच्न काठमाडौं हिँडेका थिए विकास र सुदीप

असार ३१, २०८१
सिमलताल दुर्घटना : वैवाहिक समारोहको फोटो खिच्न काठमाडौं हिँडेका थिए विकास र सुदीप

चितवन — एकै उमेरका भएर पनि होला चितवन माडीका विकास परियार र पहिटानी पदमपोखरीका सुदीप बिक मिल्ने साथी थिए । उमेर दुवैको २२ वर्ष थियो । उमेर मात्रै हैन पेसा पनि एकै थियो । दुवैको फोटो खिच्ने काम । काठमाडौंमा हुने एउटा वैवाहिक समारोहको फोटो खिच्न उनीहरू बिहीबार राति वीरगन्जबाट आएको बस चढे । तर यात्रा सुरु भएको केहीबेरमै उनीहरू चढेको बस पहिरोमा परेर त्रिशूलीमा हरायो ।

भरतपुर महानगरपालिका–२२ मा घर भए पनि सुदीप डेरा गरी सदरमुकामै बस्थे । बिहीबार राति भरतपुर बाइपास रोडबाट उनीहरू बस चढे । रामनगर पुगेपछि सुदीपले बाबु सोमबहादुर बिकलाई फोन गरेर विकास र आफू काठमाडौं जान वीरगन्जको बस चढेको बताए । शुक्रबार उज्यालो हुँदा नहुँदै सिमलतालमा वीरगन्जबाट काठमाडौं जाँदै गरेका र काठमाडौंबाट गौर आउँदै गरेको बस पहिरोमा परेको खबर फैलिसकेको थियो ।

छोरो वीरगन्ज जाने बसमा काठमाडौं जाँदै छ भन्ने थाहा पाएर सुतेका सोमबहादुरको कानमा सबेरै दुर्घटनाको खबर पर्‍यो । उनले छोरालाई तत्कालै फोन गरे । तर सम्पर्क हुन सकेन भन्ने सूचना मात्रै आइरह्यो । सोधीखोजी गर्दै जाँदा मोबाइल फोनको लोकेसनले सुदीप सिमलताल नकटेको आधार दियो । सिमलतालमा उद्धारकार्य चलिरहेको थियो । शनिबार बिहानैदेखि घटनास्थलभन्दा ५० किलो मिटर पर शव फेला पर्न सुरु भयो ।

सुदीप र विकासका आफन्त, छरछिमेकी पनि खोजीमा जुटे । शनिबार नारायणी नदीको थुम्सी नजिक भेटिएका दुईमध्ये एक शव सुदीपका साथी विकासको भएको विकासका दाइ विजयले चिनेर सनाखत गरे । ‘विकासको लाश नभेट्दासम्म त मनमा अलिकति आशा थियो कि यी दुई दुर्घटना भएको बस चढेनन् कि, काठमाडौं पुगेर फोन गर्न भ्याएनन् कि, फोनको ब्याट्रि सकियो कि भन्ने थियो,’ सुदीपका फुपाजु सूर्यबहादुर बिकले भने ।

विकासको शव भेटिएपछि सबै आशा मारेर खोजखबरमा हिँडेका सुदीपका बाबु सोमबहादुर, फुपाजु सूर्यबहादुर र अन्य आफन्त र छिमेकीहरू आइतबार मध्यान्ह थकित हुँदै नारायणगढ पुल्चोकमा सुस्ताइ रहेका थिए । पीडाले ब्याकुल सोमबहादुर केही बोल्न सक्ने अवस्थामा नै थिएनन् । सुदीपका फुपाजु सूर्यबहादुरले कम्तीमा शव भेटाए यो पीडामा केही भए पनि मल्हम लाग्ने बताए ।

आइतबार साँझ त्रिवेणीमा दुई शव भेटिएको खबर आयो । सोमबार बिहान ती दुवै शव सिमलताल पहिरोमा परेर हराइरहेका बसका यात्रुको भएको पुष्टि भयो । तीमध्ये एक सुदीप नै थिए । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान सबेरै साढे तीन बजे पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस र काठमाडौंबाट रौतहट गौर जान आउँदै गरेको बस त्रिशूलीमा हराएका छन् ।

दुवै बसमा ६५ जना यात्रु रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गौर जाँदै गरेको बसका तीन यात्रु मात्रै सकुशल छन् । दुवै बस र अरु यात्री त्रिशूलीमा बगेका थिए । शुक्रबार बिहानैबाट खोजी उद्धार सुरु भए पनि हालसम्म बस भेटिएका छैनन् । घटनास्थलभन्दा करिब ३० देखि सय किलोमिटर तल नारायणी नदी क्षेत्रमा हालसम्म ११ शव भेटिएका छन् । तीमध्ये सात शव बसका यात्रुको भएको पुष्टि भएको छ ।

प्रकाशित : असार ३१, २०८१ १०:१७
x
×