कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ओली मन्त्रिपरिषद् : ९ नयाँ, १२ पुरानामन्त्री

ओली मन्त्रिपरिषद् : ९ नयाँ, १२ पुरानामन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा १२ जना पुराना र ९ जना नयाँ मन्त्री बनेका छन् । मन्त्रिपरिषद्मा नयाँ र पुरानाको समिश्रण देखिएको छ । पुराना मन्त्रीहरूमा भने दोस्रोपटक बन्नेदेखि १३ औं पटकसम्म दोहोरिने समेत छन् ।

यस्तो छ मन्त्रिपरिषद्को झलक

दुई उपप्रधानमन्त्री

ओली नेतृत्वको यो मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री बनेका छन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् ।

दुई महिलामन्त्री

ओलीको यो मन्त्रिपरिषद्मा दुई जना महिलामन्त्री बनेका छन् । कांग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । एमालेबाट विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि बनेकी छन् । दुवै जना पहिलोपटक मन्त्री बनेका हुन् । राणा प्रतिनिधिसभामा समानुपातिकबाट सांसद हुँदै हाल कृषि समितिको सभापति बनेकी थिइन् । भट्टराई कास्की २ बाट निर्वाचित सांसद हुन् । राणासँग विगतमा सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ । भट्टराई त्रिविकी पूर्व उपप्राध्यापक हुन् ।

कांग्रेसबाट ५ र एमालेबाट ४ नयाँ मन्त्री

यसपटक कांग्रेस र एमालेले मन्त्रिपरिषद्मा ९ जना नयाँ अनुहार पठाएका छन् । कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु राणा, वनमन्त्री ऐनबहादुर शाही, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र कृषिमन्त्री रामनाथ अधिकारी पहिलोपटक मन्त्री बनेका हुन् ।

उर्जामन्त्री दीपक खड्का र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी यसअघि राज्यमन्त्री बनेका थिए । राज्यमन्त्री बनिसकेकाले सरकारमा उनीहरू पहिलोपटक नभएपनि क्याबिनेट मन्त्रीको रुपमा पहिलोपटक छिरेका हुन् । कानुनमन्त्री अजय चौरसिया २०५८ सालमा स्थानीय विकास सहायक मन्त्री बनेका थिए । क्याबिनेट मन्त्रीको रुपमा चाहिँ उनी पनि पहिलोपटक छिरेका हुन् ।

एमालेबाट रक्षामन्त्री मनवीर राई, शिक्षामन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला मन्त्री राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका हुन् ।

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै, मन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा लोसपाका सांसद शरतसिंह भण्डारी श्रममन्त्रीमा नियुक्त गरेका छन् । योसँगै ६९ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १३औं पटक मन्त्री बनेका हुन् ।

विष्णु पौडेल आठौंपटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् ।


*अजय चौरसिया २०५८ सालमा सहायकमन्त्री बनिसकेकाले यसअघि नयाँमन्त्रीको सूचीमा संख्या जोडिएको थियो । अहिले सच्याइएको छ ।

प्रकाशित : असार ३१, २०८१ १३:२२
x
×