कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो : गृहमन्त्री लेखक

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो : गृहमन्त्री लेखक

काठमाडौँ — नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु भएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्नका लागि संविधानको समिक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।

उनले भने, ‘अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा जुन शिथिलता, संकुचन देखा परेको छ, अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने । संविधानको समिक्षा गर्ने, मूल्याङ्कन गर्ने । मूल्याङ्कन के प्रयोजनको लागि गर्ने भन्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशिता जुन संविधानका मुल तत्वहरु छन्, त्यसलाई सुदृढ गर्नका लागि, बलियो बनाउनका लागि त्यसलाई अगाडि लिएर जानका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढिकरण गर्ने लगायतका कामहरु अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको छ ।’

गृहमन्त्री लेखकले गृहमन्त्रीको रुपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत हुने बताए । उनले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि बताए ।

उनले भने, ‘अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो । यो मन्त्रालयले विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा, अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ । मेरा सबै कामहरु देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ ।’

गृहमन्त्री लेखकले आफूले इमान्दारिता र निष्ठापूर्वक काम गर्ने बताए ।

प्रकाशित : असार ३१, २०८१ १६:२०
x
×