नवलपरासी पूर्व — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सुशासन नभएका कारण देशले आर्थिक फड्को मार्न नसकेको बताएका छन् ।
आइतबार रास्वपा गैंडाकोट नगर समितिले आयोजना गरेको अन्तरक्रियामा उपसभापति वाग्लेले पुराना दलका नेताहरूले राजनीतिलाई आर्थिक लाभका रूपमा हेरेकोले देशले समृद्धि हासिल गर्न नसकेको बताएका हुन् ।
रास्वपा सरकारमा रहे पनि आफूहरूसँग सत्ताको पकड नभएकाले जनअपेक्षाअनुसार कामगर्न नसकोको उनको भनाइ छ। 'संविधानको भावनाअनुसार चौथो दलको हिसाबले हामी सत्तामा छौँ तर हामीसँग सत्ताको पकड छैन,' उनले भने, ,नेपालको अहिलेको चुनौती सुशासन कायम गरेर आर्थिक विकासको फड्को मार्ने हो ।'
सुशासनबिना आर्थिक समृद्धिको आधार तय नहुने उनले बताए । सबै सरकारी कार्यालयबाट हुने सरकारी सेवामा डिजिटल सेवा सुरु गरेर सुशासनमा फड्को मार्न सकिने उनले सुनाए । राजश्वको दर घटाउने र दायरा फराकिलो पारेर राजश्व सजिलै बढाउन सकिने आफनो अनुभव रहेको उनले सुनाए ।
