वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नेपाली ठगिए : मन्त्री अर्याल

'फ्री टिकट, फ्री भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ । ९६ प्रतिशत नागरिक जो विदेश जानुभएको छ, उहाँहरूमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ ।'

असार ९, २०८१

कान्तिपुर संवाददाता

96 percent of Nepalis who go for foreign employment are cheated: Minister Aryal

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरूको पक्षमा सरकारले काम गरिरहेको पनि बताए । उनले फ्री भिसा, फ्री टिकटले विकराल अवस्था सिर्जना गरेको पनि बताए । फ्री भिसा, फ्री टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक विदेशिक रोजगारीमा जाँदा ठगिएको उनको भनाइ छ । 

‘फ्री भिसा, फ्री टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ । जुन त्यहीँ नागरिकबाट ठगिएको देखिएको छ । त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ, गर्नु नै छ,' मन्त्री अर्यालले भने, 'अहिले पनि फ्री टिकट, फ्री भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ । त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु । ९६ प्रतिशत नागरिक जो विदेश जानुभएको छ, उहाँहरूमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ ।'

मन्त्री अर्यालले फ्री भिसा, फ्री टिकले निम्त्याएको समस्या समाधान गर्नका लागि काम गरिरहेको जानकारी दिए । 'हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडी नागरिकहरु ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ,’ उनले भने । 

हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिक ठगिइरहेका अर्यालको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully