'सिधा कुरा' विरुद्धको अदालतको अवहेलना मुद्दा बृहत् पूर्ण इजलासमा

मुद्दा सुनुवाइका लागि कम्तीमा ७ वा त्यसभन्दा बढी न्यायाधीश संलग्न बृहत् पूर्ण इजलास गठन हुने र त्यसबाटै निरूपण हुने

असार ५, २०८१

कान्तिपुर संवाददाता

Contempt of Court case against 'Sidha Kura' in full bench

काठमाडौँ — ‘फेक’ अडियो सामग्री तयार पारेर अदालतको अवहेलना गरेको भन्दै ‘सिधा कुरा’ अनलाइन, त्यसका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट निरूपण हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले बुधबार उक्त मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो । 

सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको निवेदनमा ‘सिधा कुरा’, त्यसका प्रकाशक र कार्यकारी सम्पादकविरुद्ध अदालतको अवहेलना मुद्दा अगाडि बढेको थियो । न्यायाधीशद्वय चुडाल र शर्माको इजलासले जेठ ३० मा गरेको आदेश सर्वोच्चबाट बुधबार सार्वजनिक भएको हो ।

उक्त आदेशमा अडियो सामग्री कपोलकल्पित प्रमाणित भएको उल्लेख छ । अब यो मुद्दा सुनुवाइका लागि कम्तीमा ७ वा त्यसभन्दा बढी न्यायाधीश संलग्न बृहत् पूर्ण इजलास गठन हुने र त्यसबाटै निरूपण हुनेछ ।

सर्वोच्चको इजलास व्यवस्थापन समितिको बैठकपछि मात्र उक्त मुद्दालाई पेसी चढाउने मिति तय हुनेछ । अवहेलनाको यस मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने कारणबारे न्यायाधीशद्वय चुडाल र शर्माको इजलासले भनेको छ, ‘तथ्यपरक एवं सत्य साँचो विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रता समेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षसमेत निर्देशन हुनुपर्ने देखिएको ।’ 

सर्वोच्चको आदेशमा ‘प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप मोबाइल फोनमा डाउनलोड गरिएको, विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोलकल्पित रूपमा सृजित’ भएको भनिएको छ । उक्त कार्यले सर्वोच्च अदालतका न्यायाधीश, विद्वान् कानुन व्यवसायी, सञ्चार क्षेत्र एवं सम्मानित व्यक्तित्वहरूउपर लाञ्छना लगाउने, मानमर्दन गर्ने कार्य भएको हो वा होइन भन्ने महत्त्वपूर्ण सवालको निरूपण बृहत् पूर्ण इजलासबाट हुनुपर्ने आदेशमा उल्लेख छ । 

सर्वोच्चका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधा कुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर प्रसारित सामग्री प्रयोगशाला परीक्षणमा ‘फेक’ भएको पुष्टि भएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सामग्री ‘फेक’ पुष्टि भएको हो । प्रहरीले उक्त सामग्रीको परीक्षण गरी प्रतिवेदन सर्वोच्च अदालतमा पठाएको थियो । ‘४ सय मुद्दा हराउने गोप्य डिल, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकको सामग्री ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलबाट वैशाख १४ मा प्रकाशन/प्रसारण गरिएको थियो । उक्त अडियो प्रसारणपछि वैशाख १६ मा सर्वोच्च अदालत प्रशासनले उपरजिस्ट्रार घिमिरेमार्फत न्यायिक कार्यमा अवरोध पुग्ने गरी भ्रामक सामग्री प्रसारण भएको भन्दै ‘सिधा कुरा’ का कँडेल र ढुंगानाविरुद्ध अवहेलना मुद्दा दायर गरेको थियो । 

  

Contempt of Court case against 'Sidha Kura' in full bench

Contempt of Court case against 'Sidha Kura' in full bench

Contempt of Court case against 'Sidha Kura' in full bench

कान्तिपुर

Link copied successfully