कुवेत आगलागी : पाँच नेपाली श्रमिकले झ्यालबाट हाम्फालेर ज्यान जोगाए

जेष्ठ ३०, २०८१

होम कार्की

Kuwait fire: Five Nepali workers saved their lives by jumping from the window

काठमाडौँ — कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुदाँ ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरु को कुन देशका हुन् भनेर पहिचान भइसकेको छैन ।

हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमा शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् ।

लामा, मण्डल र पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  गोटी र जाकिरलाई अस्पतालमा भर्ना गरिएको छैन । ‘आगोलागी हुँदा म दुईतलामाथि थियौं । भुँईतलाबाट आगलागी भयो । धुवाँको मुस्लोले कोठा भरियो’, नेपाली दूतावासका अधिकारीहरुसमक्ष लामाले भने, ‘कोठामा लुगा सुकाउने डोरी थियो । त्यो डोरीबाट विस्तारै बिस्तारै तल झर्‍यौ ।’

लामा र पसवानलाई अदान अस्पतालमा भर्ना गरिएको छ । पासवानले आफूहरु तल्लो तलामा रहेकोले बाँच्न सफल भएको बताए । ‘म तल्लो तलामा नै थिएँ । धुवाको मुस्लो आएपछि ढोकाबाट बाहिर आउने अवस्था भएन । क्याम्पको  झ्याल फोरेर भाग्न सफल भयौं,’ पासवनले भने ।

उनीहरुलाई भेट्न नेपाली दुतावासका प्रथम सचिव सुजन बिडारी र श्रम सहचारी गिरी आचार्य अस्पताल पुगेका थिए । कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगोलागी भएको थियो । कुवेत सरकारले आगोलागीमा परी मृत्यु भएको राष्ट्रियता पहिचान गरिसकेको छैन ।

Kuwait fire: Five Nepali workers saved their lives by jumping from the window

नेपाली दुतावासको अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ । ‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । प्रहरी र कम्पनीको ब्यवस्थापनसँग समुन्वय भइरहेको छ,’ घटनास्थलमा पुगेका बिडारीले भने ।

बुधवार बिहान ४ः ३० बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो । कम्पनीमा करिव एकसय ९६ जना श्रमिक वस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । ४८ जना घाइतेहरुलाई फर्वानिया, जहरा र अलअदान अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कुबेतको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु [अपडेट]

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully