कुबेतको एक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु [अपडेट]

नेपाली श्रमिक परे–नपरेको विवरण आइसकेको छैन:  नेपाली दूतावास

जेष्ठ ३०, २०८१

होम कार्की

Fire in a camp in Qubet, 43 migrant workers killed [Update]

काठमाडौँ — कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४३ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ । 

कुबेतस्थित नेपाली दूतावासकोअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ ।

‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । प्रहरी र कम्पनीको व्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटानस्थलमा रहेका नेपाली दूतावासका प्रथम सचिव सुजन बिडारीले ईकान्तिपुरसँग भने,‘त्यस कम्पनीमा नेपाली कार्यरत छन् । तर, नेपाली परे नपरेको पुष्टि भइसकेको छैन ।’

बुधवार बिहान ४ : ३० बजे क्याम्पको तल्लो तलको एउटा कोठामा राखिएको सिलिण्डर बिष्फोट भएर आगो सल्किएको थियो । कम्पनीमा करिब एकसय ६० जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । १५ घाइतेहरुलाई जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

घाइतेहरुको क्रेनको प्रयोग गरेर उद्धा गरिएको थियो । आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी भएको भवनको मालिक, सुरक्षागार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् ।

 ‘आगलागी कम्पनी र भवन सञ्चालकको लोभको परिणाम हो’, आगलागीस्थलको भ्रमणपछि मन्त्री सवाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घटनास्थलमा नेपाल, भारत र बंगलादेशका दूतावासहरुका अधिकारीहरु पुगेका छन् । उनीहरुलाई प्रहरीले श्रमिकको राष्ट्रियताबारे खुलाएको छैन । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully