सरकारले फिर्ता बोलायो भारत र अमेरिकासहित ११ मुलुकका राजदूत

भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल, इजरायल, साउदी अरब, मलेसिया, डेनमार्क, कतार र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय 

जेष्ठ २५, २०८१

कान्तिपुर संवाददाता

The government recalled the ambassadors of 11 countries including India and America

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आइतबार नयाँदिल्ली जाने तयारीमा छन् । तर त्यसको दुई दिनअघि बिहीबार उनकै नेतृत्वको मन्त्रिपरिषद् बैठकद्वारा भारतसहित विभिन्न ११ महत्त्वपूर्ण मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरिएको छ ।

सरकारले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल, इजरायल, साउदी अरब, मलेसिया, डेनमार्क, कतार र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कांग्र्रेससँगको गठबन्धनका बेलामा नियुक्त भएका राजदूतलाई अहिलेको सरकारले फिर्ता बोलाएको हो । यसरी बोलाइएका राजदूतमा भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल र इजरायलमा कांग्रेसको कोटाबाट सिफारिस भई नियुक्त भएका हुन् । यस्तै, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालबाट डेनमार्क र स्पेनमा राजदूत नियुक्त भएका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट साउदी अरबमा राजदूत नियुक्त भएका थिए । मलेसिया र कतारमा भने पूर्वप्रधानमन्त्री माधव नेपालको एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका थिए ।

प्रधानमन्त्री दाहालको भ्रमण तयारी तथा कार्यक्रमबारे छलफल गर्न भारतस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मा दिल्लीस्थित विदेश मन्त्रालयमा भारतीय अधिकारीहरूसँग छलफलमा रहेकै बेला उनले आफूलाई फिर्ता बोलाइएको समाचार थाहा पाउनुपरेको थियो । ‘प्रधानमन्त्रीको आगमनदेखि कार्यक्रममा सहभागिता तथा अन्य प्रोटोकलका बारेमा छलफल चलिरहेको थियो,’ दूतावास स्रोतले भन्यो, ‘भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफलका लागि बिहीबार अपराह्न महामहिम जानुभएको थियो । त्यही बेला उहाँको मोबाइलमा आएको म्यासेजबाट आफूलाई राजदूतबाट फिर्ता बोलाइएको थाहा पाउनुभयो ।’ अढाई वर्षअगाडि देउवा नेतृत्वको सरकारले शर्मालाई राजदूत नियुक्त गरेको थियो ।

सरकारले राजदूत शर्माका अतिरिक्त अमेरिकाबाट प्राध्यापक श्रीधर खत्री, बेलायतबाट पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, पोर्चुगलबाट सलिन नेपाल, इजरायलबाट कान्ता रिजाल, दक्षिण कोरियाबाट ज्योति प्याकुरेल भण्डारी, साउदी अरबबाट नवराज सुवेदी, मलेसियाबाट डिल्लीराम पौडेल, डेनमार्कबाट प्राध्यापक रामस्वार्थ राय, कतारबाट नरेशविक्रम ढकाल र स्पेनबाट शर्मिला पराजुलीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । दाहालले गठबन्धन दलको सबैभन्दा ठूलो पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि राजदूत फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।

पूर्वराजदूत राजेश्वर आचार्य सरकारले कुनै पनि राजदूतको कार्यशैलीभन्दा पनि सिधै दलगत आधारमा राजदूत फिर्ता बोलाउनु ठीक नभएको बताउँछन् । ‘जुन पार्टी सरकारमा छैन, त्यसैले पठाएको राजदूतलाई यसरी बोलाउने कुराले राम्रो सन्देश जाँदैन । यो २०४८ सालपछि आएको विदेश मामिलामा देखिएको समस्याजस्तो भयो । बीचमा केही समय सरकारले स्थिरताका साथ काम गरेको थियो । तर अहिले उही अवस्था देखियो ।’ 

उनले सरकारको यस्तो शैलीले अन्तर्राष्ट्रिय रूपमा मुलुकको छविका लागि राम्रो नगर्ने बताए । ‘अब राम्रो मान्छे राजदूत भएर जान पनि हिचकिचाउँछ । हाम्रो कूटनीतिक क्षेत्रमा पनि अस्थिरताको पुनरावृति भयो । यो देशको हितका निम्ति राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘अब त्यो ११ जनाको स्थानमा जाँदा कुन मनोबल लिएर जाने ?’

पूर्वराजदूत मोहनप्रसाद लोहनी दुई–तीन महिनामा बदलिरहने सरकारले यसरी राजदूतलाई कूटनीतिक रूपमा फिर्ता बोलाउन नहुने मान्छन् । राजदूतको निश्चित अवधि रहेको र त्यहीअनुसार आफ्नो योजना बनाएर राष्ट्रिय स्वार्थको हितमा काम गर्न जाने उनले उल्लेख गरे । ‘एक–दुई महिनामै फर्कने मनस्थिति लिएर गयो भने कसले काम गर्न सक्छ ? जुनसुकै पार्टीले मुलुकको कूटनीति जिम्मेवारी भनेको यसरी परिवर्तन गरिरहने होइन,’ उनको भने ।

कान्तिपुर

Link copied successfully