काठमाडौँ — सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राज्यको विद्यमान कानुनी प्रबन्धहरूलाई चुनौती दिने व्यवहार गरिरहेको बताएका छन् । मुलुकको नेतृत्व गरिरहेका र गरेका नेताहरूविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको पनि बर्तौलाले दाबी गरेका छन् ।
संघीय संसद् परिसरमा मंगलबार एमालेका प्रमुख सचेतक बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पछिल्लो अभिव्यक्ति पदीय मर्यादा अनुकूल नभएको बताए । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ मेयर शाहले अभिव्यक्ति दिएको बर्तौलाको भनाइ थियो ।
‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तु आयो । महानगरपालिकाका मेयरले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरू जसरी गरिरहनु भएको छ त्यो राम्रो होइन । उहाँ स्वयंले त्यो संस्थाको गरिमालाई गिज्याइरहनु भएको छ । मेयरजस्तो सम्माननित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरूले असाध्यै होचो बनाइरहेको छ, उहाँले सोच्नुपर्छ । एउटा युवा धेरै जनताले आशा पनि गरेको अवस्था हो उहाँप्रति । त्यसकारण त्यो भरोसा र आशा जागेर मेयरको त्यति महत्वपूर्ण गरिमामय जिम्मेवारीमा हुनुहुन्छ,' बर्तौलाले भने, 'यो देशको नेतृत्वप्रति, पूर्वप्रधानमन्त्रीप्रति जुन ढंगबाट सधै निम्छरो तरिकाले अशिष्ट, उदण्ड तरिकाका साथ जे प्रस्तुति गरिरहनु भएको छ यो राम्रो छैन । यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरबार जलाइदिन्छु भन्ने, कहिले के भन्ने । यस प्रकार राज्यका विद्यमान कानुनी प्रबन्धलाई नै चुनौती दिनेगरी एक जना मेयरले जे हर्कत गरिरहेको राम्रो होइन ।'
कानुनी शासनको पक्षमा उभिएका, राष्ट्रको हितको पक्षमा उभिएका सबै शक्ति, व्यक्तिमाथि गलत ढंगबाट टिप्पणी गर्नु सही नभएको बर्तौलाको भनाइ छ । उनले श्रृंखलाबद्ध रूपमा त्यसरी भइरहेका क्रियाकलाप सच्याउनुपर्ने बताए ।
