चार नेपाली शान्ति सैनिकलाई मरणोपरान्त ड्याग ह्यामरसोल्ड अवार्ड

नेपाली सेनाका अनुसार अवार्ड पाउनेहरुमा थिरप्रसाद गौतम, दीपेन्द्र वस्ती, अनिल गुरुङ र पशुपति कार्की हुन् । उनीहरूलाई प्रधानसेनापति प्रशंसा- पत्र पनि प्रदान गरिएको छ ।

जेष्ठ २१, २०८१

कान्तिपुर संवाददाता

Posthumous Dag Hammersold Award to four Nepalese peacekeepers

काठमाडौँ — विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड र प्रधानसेनापति प्रशंसा-पत्र प्रदान गरिएको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा चार नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण र कदर गर्दै उनीहरुको परिवारका सदस्यहरुलाई उक्त अवार्ड र प्रसंशा पत्र प्रदान गरिएको हो ।

संयुक्त राष्ट्र संघ (यूएन) ले प्रदान गर्ने महत्वपूर्ण पुरस्कारको रुपमा  ‘ड्याग ह्यामरसोल्ड’ अवार्ड पर्छ भने नेपालमा सेनाभित्र दिइने महत्वपूर्ण अवार्डको रुपमा प्रधानसेनापति प्रसंशा पत्रलाई लिइन्छ । यूएनले विभिन्न मिसन र समयमा मृत्यु भएका मितिहरुमा मृत्यु भएका शान्ति सैनिकहरुलाई मरणोपरान्त अवार्ड प्रदान गरेको हो । 

नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले चारै शान्ति सैनिकका परिवारका सदस्यलाई अवार्डहरु प्रदान गरेका हुन् । नेपाली सेनाका अनुसार अवार्ड पाउनेहरुमा थिरप्रसाद गौतम, दीपेन्द्र वस्ती, अनिल गुरुङ र पशुपति कार्की हुन् ।

स्पेशल गार्ड युनिट दोस्रो डफ्फा लिबियाका काम गर्दा जमदार गौतमको २०७७ साल वैशाख १८ मा ज्यान गएको थियो । प्युठ वस्तीको २०७८ साल मंसिर १९ मा हाई रेडिनेस गुल्म पाँचौ डफ्फा अनमिस मिसन दक्षिण सुडानमा काम गर्दा ज्यान गएको थियो ।

यस्तै, स्वीक रियाक्सन फोर्स कम्पनी पहिलो डफ्फा मोनुस्को मिसन कंगोमा काम गर्दा अमल्दार गुरुङको २०७८ चैत २२ मा ज्यान गएको थियो । गुल्म कार्य हुद्दा कार्कीको २०७९ साल पुस ७ मा वीरदल गण नवौं डफ्फा, अनमिस मिसन दक्षिण सुडानमा काम गर्दा ज्यान गएको थियो ।

साथै, सोमबारकै कार्यक्रममा गत वर्ष शान्ति सैनिकको रुपमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ योगदान पुर्‍याएका  सह–सेनानी रुकेश नेपाली, सुबेदार नवराज गिरी र हुद्दा भुवन भुजेललाई समेत प्रधानसेनापतिद्धारा प्रदान गरिएको कदर पत्र हस्तान्तरण गरिएको थियो ।

नेपालले सन् १९५८ मा ५ जना नेपाली शान्ति सैनिकहरु युनाइटेड नेसन्स अब्जरभेसन ग्रुप इन लेबनान मिसनमा सैनिक पर्यवेक्षकको रुपमा खटिदै शान्ति मिसनको यात्राको सुरुआत गरेको थियो ।

नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनार्थ ६ दशकभन्दा लामो अवधिदेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । हालसम्म नेपाली सेनाले विश्व शान्तिको लागि विभिन्न ४४ वटा मिसनहरुमा नेपाली सेनाका १ लाख ५१ हजार ४५१ शान्ति सैनिकहरु योगदान गरिसकेका छन् । त्यो क्रममा ७३ जना नेपाली सैनिकको ज्यान गएको छ ।

कान्तिपुर

Link copied successfully