कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मिडियालाई नियन्त्रण र पत्रकारलाई त्रासमा राख्ने सरकारको नियत : कांग्रेस

'अहिलेसम्म हामीले गृहमन्त्रीमाथि मात्रै संसदीय छानबिनको माग गरिरहेका थियौँ । तर अब रवि लामिछानेकोमात्रै विषय रहेन, यो गठबन्धनको सरकार नै लोकतन्त्र र संविधानमाथि आक्रमणमा उत्रिएको छ । संविधानलाई कमजोर बनाउने कार्यमा सरकार उद्दत देखिएको छ, यस्तो अवस्थामा कांग्रेस रमिते बनेर बस्दैन ।'

काठमाडौँ — प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले मिडियालाई नियन्त्रणमा लिने र पत्रकारलाई त्रासमा राख्ने नियततर्फ उन्मुख रहेको भन्दै घोर निन्दा गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारका पछिल्ला कदमहरुको गहिरो समीक्षा गर्दै संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्ने कार्यहरुप्रति निन्दा गरेको हो ।

मिडियालाई नियन्त्रण र पत्रकारलाई त्रासमा राख्ने सरकारको नियत : कांग्रेस

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सरकार वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने कार्यहरु गर्न उद्दत देखिएको बताए ।

उनले सरकारले नै जनतालाई ठगी गर्ने, अपराधीलाई संरक्षण गर्ने, संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतामा आक्रमण गर्दै निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाए । बैठकले देशभरका सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेको छ भने सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनसहित ठगीमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रवक्ता महतले सरकारले मिडियामाथि नियन्त्रण बनाउने, पत्रकारहरुलाई त्रासमा राख्ने र प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्दत देखिएको बताए । 'हिजो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध गृह प्रशासन जसरी प्रस्तुत भयो । त्यो प्रतिशोधपूर्ण छ भन्ने हाम्रो ठहर छ । पछिल्लो समयमा निरन्तररुपमा कान्तिपुरले गृहमन्त्री स्वयम्‌ले सहकारी ठगी गरेको विषयलाई प्रस्तुत गरेकै आधारमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएकोप्रति हाम्रो आपत्ति छ । मिडियालाई नियन्त्रणमा लिने, त्रासमा राख्ने सरकारको नियत देखिएको छ,' उनले भने ।

उनका अनुसार कांग्रेसले सरकारका अलोकतान्त्रिक कदम र रवैयाविरुद्ध काठमाडौंमा जेठ १३ गते दिउँसो २ बजे प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

'ठगीका आरोपितहरुले गृह प्रशासन चलाउने, सत्ता गठबन्धनले संरक्षण गर्ने काम भएको छ । सभामुखबाट निष्पक्षता कायम भएको छैन । सरकारले विश्वासको मत लिने कुरामा समेत संसद्‌मा जबरजस्ती गरेर इतिहासमै नगरिएको कार्य गरिएको छ,' उनले भने, 'अहिलेसम्म हामीले गृहमन्त्रीमाथि मात्रै संसदीय छानबिनको माग गरिरहेका थियौँ । तर अब रवि लामिछानेकोमात्रै विषय रहेन, यो गठबन्धनको सरकार नै लोकतन्त्र र संविधानमाथि आक्रमणमा उत्रिएको छ । संविधानलाई कमजोर बनाउने कार्यमा सरकार उद्दत देखिएको छ, यस्तो अवस्थामा कांग्रेस रमिते बनेर बस्दैन । हामीले स्थानीय तहसम्मै यो विषयमा जनतालाई सू-सूचित गर्छौँ ।'

प्रकाशित : जेष्ठ ९, २०८१ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?