नैनीताल जिप दुर्घटना : जो हाम फालेर जोगिए

७ नेपालीको मृत्यु, दुई घाइतेको तिवारी राजकीय अस्पतालमा उपचार हुँदै

चैत्र २८, २०८०

भवानी भट्ट

Nainital Jeep accident: Those who jumped out survived

कञ्चनपुर — भारत उत्तराखण्डको नैनीताल जिल्लामा पर्ने बेतालघाट क्षेत्रमा ज्याला मजदुरी गर्ने कामदारबीच सोमबार साँझ अबेरसम्म नयाँ वर्ष मनाउन घरतर्फ हिँड्ने विषयलाई लिएर विवाद भइरहेको थियो– सोमबार जाने कि मंगलबार भनेर । यसैमा एक/दुई जनाले गाडी खोजेर ल्याए र मालसामान राख्न थाले । सबैले लत्ताकपडादेखि भाँडाकुँडासम्म राख्दा रातिको १० बजिसकेको थियो । 

बर्दियाको बाँसगढी नगरपालिकाका हर्कबहादुर गिरी र प्रेमबहादुर बुढा सबैभन्दा पछि जिपमा चढ्दै थिए । एक्कासि जिप स्टार्ट भयो, तर अगाडि नबढी भीरमा खस्यो । जिप २ सय मिटर तल खोचमा खस्दा ७ नेपालीसहित ८ जनाको मृत्यु भयो । दुई जना गम्भीर घाइते भए । गिरी र बुढाले हाम फालेर ज्यान जोगाए । ‘हामीले त राम्ररी चढ्नै पाएनौं,’ गिरीले फोनमा भने, ‘हाम फालेर जोगिएँ, हात र खुट्टामा चोट छ ।’ 

दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको हो । तीमध्ये ७ जना नेपाली छन् । उनीहरू बर्दिया र बाँकेका भएको प्रारम्भिक अनुमान गरिए पनि यकिन ठेगाना पहिचान भइसकेको छैन । 

गिरीका अनुसार मृत्यु भएकामा बाँसगढीकै गोपाल भनिने ४० वर्षीय टोपबहादुर बस्नेत, ५० वर्षीय विश्राम चौधरी, ४० वर्षीय अन्तराम चौधरी, ५५ वर्षीय उदय चौधरी, ३८ वर्षीय विनोद चौधरी, ४५ वर्षीय तिलक चौधरी र ४५ वर्षीय धीरज चौधरी छन् । 

नैनीताल प्रहरीका अनुसार मंगलबार साँझसम्म अन्तराम, विनोद, उदय, तिलक, धीरज र टोपबहादुरको सनाखत भएको छ । घाइते शान्ति चौधरी र छोटु चौधरीको हल्द्वानीस्थित तिवारी राजकीय अस्पतालमा उपचार भइरहेको छ । 

बाँके र बर्दियाका १७ जना गहुँ छरेर मंसिरमा कामको खोजीमा बेतालघाट पुगेका थिए । उनीहरूलाई प्रेम बुढाले लगेका थिए । हिउँदमा कहिले वर्षा त कहिले हिमपातका कारण 

नियमित काम हुन सकेन । पाँच जना ४० दिन काम गरेर एक महिनाअघि नै फर्किए । अन्य ११ जनाले ७०/७२ दिन मात्रै काम गरे । बाँकी ११ जना पनि साता/दस दिनअघि नै आउन खोजेका थिए । तर ठेकेदारले ज्याला भुक्तानी नगर्दा आउन सकेनन् । ‘अहिले पनि ज्याला त पाएनौं, घरसम्म पुग्ने भाडा लिएर आउन लागेका हौं,’ गिरीले भने, ‘नयाँ वर्ष पर्नुका साथै गहुँ काट्ने बेला पनि भयो, त्यही भएर आउन लागेका थियौं, केही साथी बाटोमै रहे, केही अस्पतालमा ।’ 

उच्चाकोट बेतालघाटबाट १८ किलोमिटरपूर्वतर्फ पर्छ । उक्त उच्चाकोटबाट भवाली हुँदै ७० किलोमिटर टाढा रहेको हल्द्वानीसम्म पुग्ने गरी नेपाली कामदारले बोलेरो जिप बुक गरेका थिए । उनीहरूको साथमा ओढ्ने ओछ्याउनेदेखि भाँडाकुँडासम्म भए पनि ‘त्यति धेरै लोड नभएको’ बेतालघाट प्रहरी चौकी इन्चार्ज अनिस अहमदले बताए । उनका अनुसार जिप भिरालोमा रोकेका कारण स्टार्ट गर्नेबित्तिकै एक्कासि अनियन्त्रित भएको हुन सक्ने अनुमान छ । चालक राजेन्द्रकुमार स्थानीय हुन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully