काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताएका छन् ।
मुस्लिम आयोगको पाँचौ वार्षिक स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले वर्तमान संविधानको भावना समेत यही रहेको बताए । 'मैले अस्ति हिन्दुहरूको पवित्र मन्दिर जलेश्वर महादेवको दर्शन गरेँ । हिजो बौद्ध धर्मावलम्वीहरूको पवित्र मन्दिर स्वयम्भूनाथको दर्शन गर्न गएँ । र आज मुस्लिम समुदायबीच आएको छु,' राष्ट्रपति पौडेलले भने, 'नेपाली समाज कति सहिष्णु, कति सद्भावपूर्ण र प्रजातान्त्रिक उदारतापूर्ण छ भन्ने यो दृष्टान्त विश्वले अनुकरण गर्ने खालको छ।' उनले संविधानको यही भावनाको संरक्षण गर्नु नै सबै नैपालीको धर्म भएको बताए ।
राष्ट्रपति पौडेलले राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।
उनले समानुपातिक समावेशीताको आधारमा मुस्लिम समुदायलाई संविधान प्रदत्त राजनैतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्ने तथा तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइनुपर्ने धारणा व्यक्त गरे । 'सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीतिगत र कानूनी प्रयास गरिनु आवश्यक छ भन्ने मैले ठानेको छु,' उनले भने ।
नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरूमध्ये एक रहेको र यसले सबै जातजाति, भाषा, धर्म, समुदाय, वर्ग, क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताउँदै उनले यसको व्यवहारिक कार्यान्वयनका लागि सबैलाई अपिल गरे ।
