संसद्मा चर्कियो सहकारी ठगीको मुद्दा

प्रधानमन्त्रीले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएर ल्याउनुभएछ, यो विषय निराकरण नभएसम्म सदन त्यति सहजै चल्छ भन्ने अनुमान नगरिदिनुहुन बिन्ती गर्छु : सुशीला थिङ सचेतक, कांग्रेस
जयसिंह महरा

काठमाडौँ — सहकारीको बचत हिनामिना गरेर सर्वसाधारण ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएकामा प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ । बुधबारको बैठकमा सत्तारुढ बाहेकका दलले प्रश्न उठाएका हुन् ।

संसद्मा चर्कियो सहकारी ठगीको मुद्दा

प्रमुख प्रतिपक्ष कांग्रेस र अन्य दलका सांसदले विगतमा विवादित मन्त्रीको उदाहरण दिँदै सहकारी ठगीका व्यक्ति पनि मन्त्रिपरिषद्मा रहन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेसले यस विषयलाई प्रमुख मुद्दा बनाउने र प्रधानमन्त्रीको जवाफ नआए सहज रूपमा संसद् चल्न नदिने चेतावनीसमेत दिएको छ ।

यसअघि अख्तियारमा बयान दिन पुगेका मन्त्रीलाई राजीनामा गर्नुपर्ने भनी एमाले र रास्वपाले संसद्मा प्रश्न उठाएको नजिर दिँदै सांसदहरूले सहकारी ठगी आरोप लागेका रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा के हुन्छ भनेर प्रश्न उठाएका हुन् । एमालेसँगै रास्वपा फागुन २१ मा पुष्पकमल दाहाल सरकारमा सहभागी भएको थियो । सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षको बेन्चमा पुगेको कांग्रेसले प्रतिनिधिसभाका पछिल्ला दुई बैठकमा सहकारी ठगीका विषयमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विश्वासको मत पाउँ भनेर प्रधानमन्त्री दाहालले प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमाथि छलफल हुने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका तय भएको थियो । तर बैठकको सुरुमै कांग्रेसले सहकारी ठगी र गृहमन्त्री लामिछानेबारे प्रश्न उठाएको थियो । कांग्रेस सचेतक सुशीला थिङले विवादास्पद मन्त्रीहरूका बारेमा तत्कालीन प्रतिपक्षले उठाएका प्रश्न र सभामुख देवराज घिमिरेले सरकारलाई गरेको रुलिङ स्मरण गराइन् ।

प्रधानमन्त्री दाहालले फागुन २४ को बैठकमा विवादास्पद मन्त्रीबारे दिएका जवाफ पनि सुनाउँदै थिङले भनिन्, ‘सदनमा प्रधानमन्त्रीले विवादास्पद मन्त्रीलाई कारबाही गरेको सेन्समा सम्बोधन गर्ने क्रममा के भन्नुभयो भने ती विवादित मन्त्रीका बारेमा सम्बोधन गर्‍यौं । मलाई के लाग्यो भने उहाँले सम्बोधन कस्तो ठाउँमा गर्नुभयो ? उहाँकै शब्दमा म सम्झन चाहन्छु– उथलपुथल गरेर ल्याउनुभएछ,’ उनले भनिन्, ‘उहाँले क्लिन चिट पाएको मन्त्रीहरू कसरी ल्याउनुभएछ भन्दाखेरी सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेका गृहमन्त्री बनाएर ल्याउनुभएछ ।’

उनले आफ्नो मुद्दामा आफैं न्यायाधीश हुने गरी गृहमन्त्री बनाएको बताइन् । ‘स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनेर कानुनमा व्यवस्था गरिएको छ । उहाँले आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन पाउने गरी कानुनमै उथलपुथल हुने गरी गृहमन्त्री बनाएर ल्याउनुभएछ । त्यसकारण यसको जवाफ कसले दिने हो ?,’ उनले भनिन् । कांग्रेसका तर्फबाट आकस्मिक समय लिएर बोलेकी सचेतक थिङले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको विषयमा पनि सरकारको जवाफ मागेकी छन् । ‘यी विषय निराकरण नभएसम्म सदन त्यति सहजै चल्छ भन्ने अनुमान नगरिदिनु हुन पनि बिन्ती गर्छु,’ उनले चेतावनी दिइन् ।

कांग्रेसले उठाएका विषयमा सत्तारूढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ परिस्थितिअनुसार चल्न दिनुपर्ने बताए । ‘अस्तिको (कांग्रेस प्रमुख सचेतक रमेश लेखकले फागुन २४ मा प्रतिनिधिसभामा दिएको) भाषण सुन्दा र आज बिहान प्रारम्भको कांग्रेसको छोटो प्रस्तुति हेर्दा अलि अनौठो–अनौठो लाग्यो क्या,’ ओलीले कांग्रेसलाई भने, ‘कांग्रेस दूधकुण्डमा नुहाएर आएको हो कि जस्तो,’ म आग्रह गर्न चाहन्छु नयाँ परिवेश र परिस्थिति बनेको छ । यस परिस्थितिलाई सहज ढंगले अगाडि लिएर जाउँ । देशका समस्या समाधान गर्ने गरी जाउँ ।’

ओलीले लोकतन्त्रलाई बलियो बनाउने, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाई प्रभावकारी कार्यान्वयन बनाउन भूमिका खेल्न कांग्रेसलाई आग्रह गर्दै लामिछानेले गृह मन्त्रालय सम्हालेपछिका उपलब्धि स्मरण गराए । ‘सरकार बन्नेबित्तिकै कमसेकम मिटरब्याजपीडितहरूसँग सहमति गरेर उहाँहरूलाई खुसी बनाएर पठाइएको छ । आरती साहका आमासँग संवाद गरेर समस्या सम्बोधन गरेर पठाइएको छ, यस्ता लक्षणहरू त देखिन थालेका छन्, खुसी व्यक्त गर्न चाहन्छु,’ ओलीले भने ।

कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले पनि प्रश्न उठेकाहरूलाई मन्त्रिपरिषद्मा राख्न नहुने जिकिर गरे । ‘फागुन २४ मा प्रधानमन्त्रीले अभियोग लागेका, मुद्दा लागेका मन्त्रीहरूका सम्बन्धमा जे प्रश्न उठेको छ त्यसलाई सम्बोधन गरेर आएको छु भन्नुभएको थियो । त्यो भन्नुको अर्थ त्यसरी अभियोग लागेकाहरूलाई मन्त्रिपरिषद्मा राख्ने कुरामा सहमत हुन सकिनँ भन्नु हो,’ उनले भने, ‘देशको प्रधानमन्त्रीले बोलेपछि सिद्धान्त स्थापित भएका रूपमा बुझौं । त्यसको अर्थ के हो भने राज्यको कुनै पनि निकायले अनुसन्धान गरिरहेको वा प्रमाणित हुन बाँकी रहे पनि सार्वजनिक रूपले अभियोग लागेको कोही पनि व्यक्ति मन्त्री पदमा रहन पाउँदैन, मिल्दैन भन्ने कुरा प्रधानमन्त्रीले फागुन २४ गते बोल्दै गर्दाखेरि भन्नुभएको हो ।’

त्यसपछि शर्मा उपप्रधान तथा गृहमन्त्री लामिछाने संलग्न रहेको भनिएको सहकारी ठगीका विषयमा प्रवेश गरे । ‘हिजोअस्तिको गृहमन्त्रीको निर्देशनमा अनुसन्धान प्रक्रिया सुरु भयो । तर, पोखरा पुगेका राज्यका प्रतिनिधि फर्किए सरकारको हेरफेरपछि । तर तथ्य त तथ्य नै हो,’ उनले एमाले र रास्वपालाई प्रश्न गरे, ‘तत्कालीन प्रतिपक्षी ठूलोदेखि सानोसम्म त्यो जवाफमा इमानदार हुनुहुन्छ कि त्यो जवाफको भारीले थिचिनुभएको छ ?’

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पनि सहकारी ठगी र गृहमन्त्री लामिछानेका विषय मात्रै होइन विगतमा दुई नागरिकता भएकालाई गृहमन्त्री बनाएको भन्दै दाहाल र ओलीको आलोचना गरे । ‘सिद्धान्तका कुरा गर्नुहुन्छ तपाईंहरूले, यो एक वर्षभित्र नागरिकता दुईवटा भएको मान्छे, पासपोर्ट दुईवटा भएको मान्छेलाई निर्वाचनले सांसद बनाएन ? अनि तपाईंहरू वर्तमान र पूर्वप्रधानमन्त्री दुईवटा भएर उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनुभएन ?,’ उनले भने, ‘जसलाई गृहमन्त्री बनाउनुभएको छ उहाँले सहकारीको करोडौं रुपैयाँ ठगी गरेको आएको छ कि छैन यहाँ ? तपाईंहरू योग्य ?’

सहकारी ठगीमा गृहमन्त्रीको नामै किटेर प्रमुख प्रतिपक्षदेखि सांसदहरूले प्रश्न उठाएपछि रास्वपाका सांसद स्वर्णिम वाग्लेले कांग्रेसलाई आफूले पनि चिनेको भन्दै प्रतिवाद गरे । गृहमन्त्री हुँदा नैतिकता खोज्ने कांग्रेसले केही दिन पहिले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा रोस्ट्रमबाटै वाग्लेले गरेका थिए । ‘गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो नि त, यहाँ डर छ, भागीभागी हिँड्नुपरेको छ । च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेको छ,’ उनले थपे, ‘कांग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । कांग्रेसले गरेको छैन (प्रधानमन्त्री अफर) भन्नुहुन्छ भने हामी सक्कली र नक्कली कांग्रेस खोजेर हिँड्ने कुरा भएन ।’

प्रधानमन्त्री दाहालले भने आफ्ना उपप्रधान तथा गृहमन्त्रीको बचाउ गरेका थिए । उनले कांग्रेसले दोहोरो चरित्र देखाएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए । ‘यहाँ पनि प्रश्न उठ्यो– प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने ? के हो यो ? भनेर पनि उठ्यो । मलाई त थाहा छैन त्यो कुरा पनि ? तिनैलाई प्रधानमन्त्री बनाउन हिँडिराखेको कुरा पनि देखिराखिकै छ,’ प्रधानमन्त्रीले भने, ‘यति धेरै डबलस्ट्यान्डर्डको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार, आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नुपर्छ ? यति धेरै डबलस्ट्यान्डर्ड चल्छ ?’

प्रकाशित : चैत्र १, २०८० ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?