काठमाडौँ — तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठमा डेनमार्कका लागि राजदूत प्रस्ताव भएकी ओलीको गृहनगर दमककी सुमित्रा सुवेदी (भण्डारी) लाई सरकारले सोमबार मधेश प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।
२०७८ वैशाखमा केपी ओली नेतृत्वको अल्पमतीय सरकारले विभिन्न ११ देशमा राजदूत सिफारिस गर्दा एमालेकी पुरानो कार्यकर्ता भण्डारीलाई डेनमार्कको राजदूत प्रस्ताव गरेका थिए । तर, सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न ‘परमादेश’ दिएपछि ओली सरकार ढलेको थियो । सरकार ढलेसँगै भण्डारीको राजदूत बन्ने प्रक्रिया अन्त्य भएको थियो ।
आफूलाई एमालेकी पूर्णकालीन राजनीतिक कार्यकर्ता भन्न रुचाउने ६२ वर्षीया भण्डारीलाई एमाले अध्यक्ष ओलीकै प्रस्तावमा मधेशको प्रमुख बनाइएको स्रोतको दाबी छ । ‘भण्डारीजीलाई राजदूत बनाउन नसकेको गुनासो अध्यक्ष ज्यूलाई थियो’,एक नेताले भने,‘त्यही कारण प्रदेश प्रमुख बनाइयो ।’
नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी भण्डारीसँग नेपाल परिवार नियोजन संघ, दमकस्थित खानेपानी उपभोक्ता समिति, जिल्ला शिक्षा समिति लगायतका संघ संस्थामा काम गरेको अनुभव छ । उनी पार्टीप्रतिकी वफादार, निरन्तर सक्रिय र त्यागी कार्यकर्ता रहेको एमालेका एक नेताले बताए ।
राजनीति गर्नैका लागि शिक्षण पेशा छाडेकी उनी मधेश प्रमुख भएपछि खुसी व्यक्त गर्दै भनिन्,‘यो राज्यको प्रक्रिया हो, पहिला राजदूतमा प्रस्ताव भयो, अहिले प्रदेश प्रमुखमा ।’
