युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल छन् : परराष्ट्र मन्त्रालय

फाल्गुन १८, २०८०

होम कार्की, जगदीश्वर पाण्डे

Five Nepalis who were captured by the Ukrainian army are safe: Ministry of Foreign Affairs

काठमाडौँ — रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना नेपालीलाई एकै स्थानमा राखेर बयान लिएको जनाएको छ ।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् ।

‘सबै नेपालीहरुलाई एकै स्थानमा राखेर बयान बुधबार बयान दिइएको थियो । नेपालीहरू पाँचै जनाले युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेका छन् । बयानका क्रममा एक जना नेपालीले दोभाषेको भूमिका निवाह गरेका थिए,’ युक्रेनका सरकारी प्रतिनिधिले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उक्त कुराको जानकारी दिएको छ । युक्रेनले उनीहरूलाई कहिले छाड्छ भन्ने बारेमा पनि जानकारी गराएको छैन 

लामो समयदेखि नेपाल सरकारले जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकहरुलाई रिहाइका लागि कूटनीतिक पहल गरेको थियो । युक्रेनले भने एक महिनाअघि मात्र नेपालको जवाफ फर्काएको थियो ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच करिब एक घण्टा भेटवार्तापछि युक्रेनी कब्जामा रहेका नेपालीलाई छुटाउने पहल कदम अघि बढ्ने संकेत दिएको थियो । युक्रेनले बल्ल आएर नेपालको आग्रहलाई मानेर नेपालीहरूको बयान लिएर छाड्ने संकेत गरेको हो । साथै, युक्रेनले यसअघि कब्जामा रहेका नेपालीहरूको भिडियो बनाउँदै सार्वजनिक गरेको थियो । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully