काठमाडौँ — अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले सन् २०२३ मा नौ हजारभन्दा धेरैलाई मानव अधिकार उल्लङ्घन र ज्यादति भएको जनाएको छ । इन्सेकले सोमबार सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक-२०२४ मा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक उल्लेख छ ।
सन् २०२३ (२०७९ पुस १७ देखि २०८० पुष १५ गतेसम्म) मानव अधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी ज्यादतिका घटनामा ७ हजार ७ सय १६ महिला, २ जना एलजीबीटीआइक्यु र ६ सय ८२ जना पुरुष पीडित भएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो संख्या सन् २०२२ भन्दा २ हजार १२ जना बढी भएको जनाएको छ ।
सन् २०२३ मा राज्य पक्षबाट ६ जनाको हत्या भएको छ । त्यसैगरी यातनाको घटनामा २ जना, गिरफ्तारीको घटनामा २ सय ४० जना, जातीय विभेदका घटनामा ६२ जना, कुटपिटका घटनामा ४ सय १४ जना, अमानवीय व्यवहारका घटनामा ३१ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५ सय ५ जना पीडित भएको इन्सेकको अभिलेख छ।
इन्सेकको अभिलेख अनुसार प्रहरी हिरासतमा २ जना र कारागारमा ५१ जनाको मृत्यु भएको छ । संखुवासभा कारागारमा प्रहरीको यातना तथा कुटपिटबाट २ जना बन्दीको मृत्यु भएको पनि उल्लेख गरिएको छ । त्यसैगरी राज्य पक्षबाट एक जना बेपत्ता पारिएको र अन्य पक्षले २ जनालाई बेपत्ता पारेको इन्सेकको प्रतिवेदनले उल्लेख गरेको छ ।
