काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गरे । उनले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यकाविरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको उल्लेख गरे ।
‘जुन घटना भएको छ, यसलाई हामीले फुटकर रुपमा लिएर छलफल गरिरहेका छौं । मुलकुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौं, देशलाई औद्योगिकरण गर्न सकेनौं । त्यस कारणले रोजगारीका लागि लाखौैंलाख नेपाली युवाहरु विदेश जानपर्यो । यहाँनेर कुन चाहिँ अफिसिरले, कुन चाहिँ मन्त्रीले गल्ती गर्यो भन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौं । नेपाली जनताले ठूलो आश गरेका थिए । अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरु राज्यकाविरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो' उनले भने,'त्यसकारणले यसबाट हामीले के बुझ्नुपर्छ भने यो स्थितिमा हामीले फेरबदल गर्न सकेनौैं भने राष्ट्रको अस्तित्वकै प्रश्न छ । हामीले जुन बहुदलीय व्यवस्था ल्याएर राज्य सञ्चालन गरिरहेका छौं, किन हामीले औद्योगिकरण गर्न सकेनौं, किन युवालाई रोजगारी दिन सकेनौैं, किन यति धेरै युवाहरु विदेशीरहेका छन्, त्यहाँनेर हेर्नुपर्छ । युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ है ।’
