बालकुमारी घटना : एमाले सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

पुस १६, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरूले पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनाको जिम्मा लिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् । उक्त घटनाको जिम्मेवार गृह प्रशासन भएको भन्दै त्यसको राजनीतिक नेतृत्वले जवाफदेही बन्नुपर्ने माग एमालेका सांसदहरूले गरेका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनासम्बन्धी छलफलका क्रममा एमालेका सांसदहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिम्मेवारी लिएर राजीनामा गर्नुपर्ने माग गरेका हुन् । एमाले सांसद राजेन्द्र राईले विदेश गएर रोजगारी गर्छु भन्ने युवाहरूलाई गोली हान्ने गृह प्रशासनको नेतृत्वले राजीनामा गर्नुपर्ने माग गरे । उनले भने, 'तपाईं राजीनामा दिनुस् । तपाईंले मुलुक चलाउन सक्नुभएन ।'

गृहमन्त्रीले राजीनामा गरेर मुलुकमा सुशासनको व्यवस्था गर्नुपर्ने राईको भनाइ थियो । 'तपाईं तत्काल राजीनामा दिनुस्, समस्याको समाधान निकाल्नुपर्छ ।' गृहमन्त्रीले राजीनामा नगरेसम्म उक्त घटनाको छानबिन गर्न गठित आयोगले काम गर्न नसक्ने पनि राईको दाबी थियो । 'गृहमन्त्रीबाट राजीनामा दिउँ अनि यो समस्या हल हुने वातावरण बन्छ,' उनले भने ।

सांसद कृष्णगोपाल श्रेष्ठले नैतिकताका आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए । 'सरकारको आदेश फिल्डबाट लागु हुँदैन भने आदेश पालना गराउन सकिनँ, मृतकप्रति दुःखी छु, भोलि पनि मन्त्री बन्न पाइन्छ, भोलि पनि त्यस्तो अवसर आउँछ, म त्यसको जिम्मेवारी लिएर आफूलाई यो पदबाट अलग हुन्छु भन्नुस्,' श्रेष्ठले भने । मन्त्रीका पीएसओ, फिल्डमा खटिएका प्रहरीका डीएसपी, ईपीएस कार्यालयका अधिकारीलाई दोष दिएर उम्किन नमिल्ने उनको भनाइ थियो । 

एमालेकै सांसद रघुजी पन्तले गृहमन्त्रीले नैतिकता देखाउने कि नदेखाउने भन्ने व्यक्तिगत कुरा भएको बताए । उनले यस्तो अवस्थामा राजीनामा गर्नुपर्नेमा जोड दिए ।

गृह प्रशासन नियन्त्रणमा प्रहरी फोर्स नभएको देखिएको पन्तको भनाइ थियो । आईजीपी बसन्त कुँवरले साधान र स्रोत नभएको भनेको कुरालाई उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पनि उनले माग गरे । 'ईपीएस शाखा प्रमुख, डीएसपी र सीडीओलाई मात्रै दोष दिन मिल्दैन । तपाईंहरू जनताको आक्रोशबाट बच्नका लागि तलकालाई तानेर पाइन्न,' उनले भने । मन्त्रीका पीएसओ निलम्बन गरेर समस्याको समाधान नहुने पन्तको भनाइ थियो । सरकारको गल्तीका कारण यस्तो घटना भएको भन्दै सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

बालकुमारी घटना

कान्तिपुर

Link copied successfully