पत्रकारद्वय राईलाई पत्रकारिता पुरस्कार 

मंसिर २८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियाली लाडली मिडिया अवार्डको तेस्रो संस्करणबाट कान्तिपुरकर्मी विद्या राई र पत्रकार भृकुटी राई सम्मानित भएका छन् ।

विद्याका कान्तिपुर दैनिकमा प्रकाशित ‘फरक विचारमाथि साइबर बुलिइङ’ ‘मिर्गौला प्रत्यारोपणमा लैंगिक असमानता’ शीर्षकका दुई समाचार र भृकुटीको ‘बोजुबज्यै’ पडकास्टमा प्रसारित नेपालमा गर्भपतन अधिकार विषयक पडकास्टका लागि मंगलबार भारतको मुम्बईमा आयोजित एक कार्यक्रममा सम्मानित गरिएको हो । भृकुटी बोजुबज्यै पडकास्टको ‘कोक्रिएटर’ छिन् । 

नेपालका दुई पत्रकारसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र बंगलादेशका ११ जनाले उक्त अवार्ड प्राप्त गरेका हुन् । उनीहरूसहित भारतमा क्षेत्रीय, विधागतलगायत विभिन्न क्षेत्रबाट छानिएका ४७ जना एकैचोटि सम्मानित भएका थिए । भारतमा विभिन्न विधामा प्रदान गरिँदै आएको यो सम्मानलाई बढावा दिन दक्षिण एसियालीस्तरमा प्रदान गर्न थालिएको यो तेस्रो संस्करण हो । 

यसको सुरुवात मुम्बईस्थित ‘पपुलेसन फस्ट’ संस्थाले गरेको थियो । यसलाई निरन्तरता दिन संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए) ले सहकार्य गर्दै आएको छ । लैंगिक संवेदनशीलताका सवाललाई उजागर गर्न, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहलाई झक्झक्याउन र जनचेतना जगाउन योगदान दिनेहरूका लागि यो पुरस्कार प्रदान गरिँदै आएको ‘पपुलेसन फस्ट’ की सीईओ डाक्टर एएल शारदाले बताइन् ।

कान्तिपुर

Link copied successfully