काभ्रेका युवक युक्रेनी सेनाको नियन्त्रणमा

मन्डनदेउपुरका सिद्धार्थ ढकालसँगै गाउँका अन्य ३ जना पनि अध्ययनका लागि भन्दै एजेन्टमार्फत रुस गएका थिए

मंसिर २१, २०८०

होम कार्की, जगदीश्वर पाण्डे

काठमाडौँ — रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मन्डनदेउपुर–६, काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या २ पुगेको छ । 

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थित हिउँले भरिएको क्षेत्रमा तैनाथ रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । युक्रेनी सेनाले उनीहरूलाई पक्राउ गरी गाडीबाट लैजाँदै गरेको, एउटा कोठामा राखिएको र आफ्नोबारे पूरा विवरण दिइरहेकोसम्बन्धी अलग–अलग तीन भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन् । ‘रेड जोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो । मेरा धेरै साथीहरू मारिएका छन्,’ मंसिर १७ गते रेकर्ड गरिएको भनिएको भिडियोमा ढकालले भनेका छन्, ‘नमस्ते बुबाआमा... मलाई अहिलेसम्म राम्रो छ । पछि के हुन्छ थाहा छैन । नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर यो खबर सुनाइदिनुहोला ।’

उनले गाउँलेमार्फत प्रधानमन्त्रीलाई भनेर आफूहरूलाई निकाल्न बुबाआमासमक्ष आग्रह गरेका छन् । ‘आज २ तारिख (डिसेम्बर) हो । यो भिडियो कहिले पुग्छ थाहा छैन । त्यो बेला गाउँलेलाई भनेर... प्रधानमन्त्रीलाई भनेर... निकाल्नुपर्‍यो,’ उनले भनेका छन्, ‘धेरै–धेरै सम्झिरहेको छु । थाहा छैन के हुन्छ भनेर । अहिलेसम्म ठीकै छ । धेरै–धेरै सम्झिरहेको छु, आफूलाई, देशलाई ।’ उनले आफूलाई एजेन्टले झुक्याएपछि रुसी सेनामा भर्ना हुन बाध्य भएको बताएका छन् ।

‘म रुसमा पढ्न आएको थिएँ । विश्वविद्यालयले शुल्क भुक्तानीका लागि फोन गरेको थियो । मसँग पैसा थिएन । तिमीसँग पैसा छैन भने तिम्रो देशमा फर्क भन्यो,’ उनले भने, ‘मलाई फिर्ता हुन मन थिएन । मलाई पैसा कमाउनु थियो । मसँग विकल्प थिएन । मैले रुसी सेनामा भर्ना हुने निर्णय लिएँ ।’ रुसी सेनामा भर्ती भएपछि आफूले अहिलेसम्म ४ हजार रुबल (५७ सय रुपैयाँ) मात्रै पाएको बताए । ‘म सेनामा भर्ना भएको एक महिना २० दिन मात्रै भयो । उनीहरूले मलाई एक लाख ९५ हजार रुबल तलब दिन्छु भनेका थिए,’ उनले भने, ‘त्यो पैसा दिएको थिएन । धेरै नेपाली भर्ना भएका छन् । अहिले करिब ४–५ हजार नेपाली काम गर्छन् । यकिन विवरण भने थाहा छैन ।’

ढकालका दाजु नवराजले उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर आग्रह गरेको बताए । ‘हामीले भिडियो पाउनेबित्तिकै परराष्ट्र मन्त्रालयलाई निवेदन दिएका छौं । निकै अप्ठ्यारो परिस्थितिमा पर्‍यौं,’ उनले भने । युक्रेनी सेनाले यसअघि असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको थियो । खत्री अझै रिहा भएका छैनन् । परराष्ट्र मन्त्रालयले ढकालको रिहाइका लागि युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासलाई पत्र पठाइसकेको जनाएको छ । 

रोड जोन भनिने जेपोरोजिया क्षेत्रमा हिउँका कारण लामो समयसम्म टिकिराख्न कठिन छ । यो क्षेत्रबाट बाहिरिन चाहने रुसी सेनाको संख्या दोब्बर रहेको रुसी सञ्चारमाध्यम मस्को टाइममा उल्लेख छ । युक्रेनमा रहेको रुसी सैनिक पोस्टमा खटाइएका ५ सय ७७ जनाले आफूहरूलाई निकाल्नका लागि रुसी अधिकारवादीलाई आवेदन दिएको मस्को टाइम्समा छ । 

यसैबीच नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन सक्रिय गिरोहका १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जसमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, द्रोण डाँगी, सन्तोष रोक्का र सन्तोष नेपाल रहेको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । प्रहरीले उनीहरूलाई मानव तस्करसम्बन्धी मुद्दा भने चलाइसकेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा अवकाश प्राप्त सुरक्षाकर्मी पनि छन् ।

‘विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट १२ जनालाई राहदानी, भिसा, रकमसमेतका कागजातसहित पक्राउ गरेको हो,’ प्रहरीले भनेको छ, ‘तत्काल पीडित व्यक्तिहरू सम्पर्कमा नआएकाले निजहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully