कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अपांगता भएकालाई दसैंको यात्रा कष्टपूर्ण

सार्वजनिक यातायातमा आरक्षण भए पनि चाडपर्वमा लागू भएन, सरकारको अनुगमन फितलो
मधु शाही

काठमाडौँ — दसैंमा टिकट पाउन सकस हुने भएकाले कैलालीका हिमाल रोकाले दुई दिनअघि नै घर फर्किन टिकट काटे । बुधबार दिउँसो ३ बजेको बस थियो । हिमालका ७ जना दृष्टिविहीन साथीहरू टिकट पाएकोमा ढुक्क थिए । बसमा साइड ‘ए’ को ३ देखि १० सम्मका टिकट उनीहरूको नाममा थियो । तर, जब उनीहरू बसमा पुगे । स्थिति फेरियो । उनको सिटमा अरू सग्ला मान्छे बसेका थिए ।

अपांगता भएकालाई दसैंको यात्रा कष्टपूर्ण

हिमालले सिटबमोजिम बस्न पाउने बस सहचालकसँग अनुरोध गरे । उनको कुरा सुनिएन । नेत्रविहीन ७ जनालाई क्याबिनमा राखियो । ‘आरक्षणको सिटमा सग्ला मान्छे बसे हामीलाई क्याबिनमा राखियो,’ उनी भन्छन्, ‘शरीर धान्न नसकिने, निद्रा लागेर लड्दै, उठ्दै घर आइपुगियो ।’ सामान्य दिनचर्यामा समेत यात्रा गर्न सजिलो नहुने अवस्थामा चाडपर्वका बेला अपांगता भएका यात्रुले थप सास्ती खेप्नुपर्छ । सरकारले आरक्षणको नीति ल्याए पनि पर्वमा लागू नभएको उनीहरू गुनासो गर्छन् । हिमालले झन्डै १४ घण्टाको लामो यात्रा क्याबिनमा अडिएर गर्दा बिरामी नै परेको सुनाए ।

नवलपरासी घर भएकी कौशिला रेग्मी सार्वजनिक यात्रा सम्झिँदा दिक्क मान्छिन् । लामो दूरीको सार्वजनिक यात्रा उनको यो रहरभन्दा पनि बाध्यता हो । अझै चाडपर्वका बेला त उनलाई सास्ती नै हुन्छ । ह्विलचियरको यात्रा सम्भव हुन सजिलो छैन । बसमा जान उनी एक्लै सक्दिनन् । बहिनी भूमिकाको सहारामा दसैंमा सधैं घर जाने गर्थिन् । यो वर्ष बहिनी पढाइको सिलसिलामा विदेश पुगिन् । अहिले कौशिला एक्लै छिन् । दसैंमा घर जाने या नजाने दुविधामा छिन् । ‘टिकट कसले काट्नु ?’ उनी भन्छिन्, ‘साथीभाइको साथ जान पनि दुःखै दिएजस्तो लाग्छ ।’ दसैंमा सार्वजनिक बसमा यात्रा गर्नु सानोतिनो युद्ध जितेजस्तै लाग्छ उनलाई । ‘आउनु र जानुको कष्टले यतै बस्ने सोचेकी छु,’ उनी भन्छिन्, ‘आमाबुबालाई भिडियो कलमै टीका लगाइदिनु भन्नुपर्ला ।’

सप्तरीकी संगीताकुमारी गुरागाईंको एउटा खुट्टामा समस्या छ । १९ महिनाको छोरो लिएर दसैंमा माइत जान लागेकी संगीतालाई यात्राभर सकस साध्नुपर्छ । सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्ने उनका श्रीमान् दसैंमा घर जान पाएनन् । माइतमा आमाबुबा निराश हुन्छन् भनेर संगीताले जानुपर्ने मनसाय बनाएकी छन् । अपांग भएकै कारण भाइको साथमा बच्चासहित यात्रा गर्नुपर्नेछ । गत वर्ष १३ सय रुपैयाँ पर्ने टिकट अहिले २२ सय पुगेकाले यातायात खर्च थेग्न नसकिएको उनी बताउँछिन् । त्यसैमा भाइको समेत खर्च बेहोर्नुपर्छ । आरक्षण सिट मिलाइदिनु भन्दै उनले धेरै पटक बस काउन्टर धाइन् । ‘लामो यात्रामा आरक्षण पाइँदैन, दसैंका बेला मान्छेको कमी छैन, गए जानुस् नगए नजानुस् भन्छन्,’ उनले सुनाइन्, ‘संवेदना नै हराएको जवाफ पाउँदा दुःख लाग्छ ।’

राष्ट्रिय अपांग महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यका अनुसार नीतिगत रूपमा लामो दूरीको सार्वजनिक बसमा १४ सिटे बसमा एक अपांग आरक्षण सिट हुनुपर्ने र १४ भन्दा बढी सिट भएको बसमा दुई सिट अपांग आरक्षण हुनुपर्ने व्यवस्था छ । त्यस्तै, भाडा शुल्कमा पनि अपांगता भएका व्यक्तिको हकमा ५० प्रतिशत छुट हुनुपर्छ । यद्यपि पर्वका बेला सिट र भाडा शुल्कमा छुट नीति व्यवहारमा लागू नभएको उनले बताए । ‘कतिपय साथीहरूले फोनमै गुनासो पोख्नु हुन्छ, सिट पाइएन, छुट पाइएन भनेर,’ उनी भन्छन्, ‘व्यवसायी समितिलाई पटकपटक भन्दा भइरहेको छ मात्रै भन्नु हुन्छ ।’ पर्वका समयमा सबै यात्रुलाई घर जाँदा सास्ती खेप्नुपर्छ । त्यसमा अपांगता भएकाहरूको दुःख झनै जटिल छ । ट्राफिक प्रहरीले अनुगमन गरेको भने पनि महत्त्व नदिएको उनले बताए ।

नेत्रहीन युवा संघका महासचिव अर्जुन रावलले संघको चलिरहेको अधिवेशनकै क्रममा पर्वका बेला अपांगमैत्री सवारी बनाउन जोड दिनुपर्ने कुरा राखे । यसका लागि टिकट काउन्टरमै पुगेर समितिलाई जानकारी गराउन संघ जाने योजना बनाएको उनको भनाइ छ । ‘हामीले सिटै पाउँदैनौं,’ उनले भने, ‘मुढा वा प्यासेजमा समेत बसेर गएका छन्, साथीहरू ।’ सरकारले नै अनुगमन नगरेको उनको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रत्येक टिकट काउन्टरमा अपांगमैत्री सिटको व्यवस्था गर्न जानकारी दिइएको र लागू भएको दाबी गर्छन् । यद्यपि शुल्क छुटको विषयमा भने समिति बाध्य नभएको उनले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले दसैंतिहारका बेला सामान्य यात्रुलाई समेत समितिले ठग्ने गरेको बताए । अपांगता भएका व्यक्तिलाई मानवताको दृष्टिले पनि सहज बनाउनुपर्ने उनको भनाइ छ । ‘यस्तो बेला अन्यायमा परेका पीडितले ट्राफिक प्रहरी र विभागमा फोन गरेर मौखिक जानकारी दिन सक्नेछन्,’ उनले भने, ‘गलत कार्यको उजुरी आयो भने विभागले तुरुन्तै एक्सन लिन्छ । उजुरी भने अहिलेसम्म आएको छैन ।’ सिटको टिकट काटेर क्याबिनमा राख्नु पनि गैरकानुनी रहेको उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०८० ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?