महरामाथि सोधपुछसमेत भएन

श्रावण १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — ९ किलो सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता देखिए पनि अनुसन्धानकारी निकायले उनीहरूलाई सामान्य सोधपुछसमेत किन गरेन ? सरकारले जवाफ दिएको छैन ।

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर २०७९ पुस १० मा ल्याइएको आठ करोड ५५ लाख बराबरको सुन तस्करी तथा बेचबिखनमा चिनियाँ गिरोहसँग महरा बाबुछोराको संलग्नता प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान गरिएको छ । तर उनीहरूविरुद्ध मुद्दा दर्ता पनि गरिएन । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भने यस प्रकरणमा केही चिनियाँ फरार रहेको र नेपालमा कनेक्सन देखिएका पात्रमाथि अनुसन्धान जारी रहेको दाबी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने महरा बाबुछोरामाथिको अनुसन्धान खुला राखिएको बताए । ‘थप अनुसन्धानबाट खुलेका तथ्य/प्रमाणले पुष्टि गरे फेरि मुद्दा अदालतमा जान्छ,’ उनले भने, ‘यस विषयमा अनुसन्धान जारी नै रहेकाले शंकास्पद तर मुद्दा नचलेकालाई उन्मुक्ति दिइयो भन्नु गलत हो ।’

सीआईबीले पनि महरालाई उन्मुक्ति दिइएको भन्न नमिल्ने जनाएको छ । ‘९ केजी सुन तस्करीमा संलग्न मुख्य अभियुक्त फरार छन्, त्यसमध्येका एक आरोपितसँग कृष्णबहादुर महरा र राहुल महराको सम्पर्क देखिएको छ । यो विषय अहिले पनि अनुसन्धानकै क्रममा छ,’ सीआईबीका प्रवक्ता तथा एसएसपी दिनेश आचार्यले भने, ‘अदालतमा गएको मुद्दा अन्तिम होइन, मूल आरोपित र त्यो नेटवर्कसँग जोडिएकामाथि अनुसन्धान भइरहेकाले अहिलेको प्रतिवेदनमा मुद्दा नचलेको हो । यो भनेको उन्मुक्ति होइन ।’

भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली हानसङसँग महरा बाबुछोराको व्यक्तिगत सम्बन्ध रहेको पाइएको छ । लीलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य खुलिसकेको छ ।

सुन ल्याउने मात्र होइन, भन्सारमा सुन बरामद भएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा पनि महरा बाबुछोरा संलग्न रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कान्तिपुर

Link copied successfully