गाउँका विद्यालयलाई शिक्षक खोज्न १० पटकसम्म विज्ञापन

बारम्बार विज्ञापन गर्दा पनि म्याग्दी, पूर्वी रुकुम र प्यूठानका सामुदायिक विद्यालयले पाएनन् विज्ञान, गणित, अंग्रेजी, कम्प्युटर, इन्जिनियरिङ विषयका शिक्षक 

श्रावण २, २०८०

महेश केसी, शमशेरविक्रम जीसी

म्याग्दी, रुकुम पूर्व, प्यूठान — म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित जनजागृति माध्यमिक विद्यालयले मासिक ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दसौं पटक विज्ञापन गर्‍यो । तर कसैले दरखास्त हालेनन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण उक्त विषयको पढाइ प्रभावित छ । जिल्लाभित्र यस्तो समस्या भोग्ने जनजागृति एक्लो सामुदायिक विद्यालय भने होइन । 

अन्नपूर्ण–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि गणित शिक्षक चाहिएको विज्ञापन पाँचौं पटकसम्म गरे पनि पाउन सकेको छैन । मावि तेस्रो तहको दरबन्दीअनुसार मासिक ४३ हजार ६ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली छ । शिक्षक अभावमा विद्यालयले एसईई दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्ट टाइम’ नियुक्त गरी पठनपाठन चलाएको थियो । सर्वोदय माविका प्रध्यानाध्यापक गोविन्द थापाले भने, ‘अहिले ९–१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौं । जुन काम चलाउ मात्र हो ।’

सदरमुकाम बेनीकै पनि केही विद्यालयले गणित र विज्ञान शिक्षक पाएका छैनन् । बेनी–४ तातोपानीको  सरस्वती माविले विज्ञान शिक्षक, ९ नम्बर वडा नेप्टेचौरको राष्ट्रिय मावि र अथुङ्गेको ज्यामुखाखर्क माविले गत वैशाखदेखि गणित विषयका शिक्षक खोजेको खोजेकै छन् । बेनी–१ अर्जमको रामचन्द्र मावि र बेनी–१० पात्लेखेतको दीपक माविको अवस्था पनि फरक छैन ।

जिल्लाका गाउँका सामुदायिक विद्यालयमा मात्र होइन सदरमुकाम बेनीका सुविधायुक्त निजी विद्यालयले समेत विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको अभाव खेपिरहेका छन् । खान, बस्न र तलबका अतिरिक्त सुविधा थप्दासमेत दुर्गमका विद्यालयले विज्ञान विषयको शिक्षक पाएका छैनन् । विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेसामा आएका शिक्षक पनि सहरी इलाकामै खोसाखोस हुने भएकाले दुर्गममा जान चाहँदैनन् ।

‘हामीले विज्ञान शिक्षकका लागि तीन पटक सूचना निकाल्यौं तर शिक्षा शास्त्र संकायअन्तर्गत विज्ञान विषय लिएका उम्मेदवार नै पाइएन,’ बेनी नगरपालिकाका शिक्षा, युवा खेलकुद शाखाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले भने, ‘सदरमुकाम बेनीका विद्यालयमै गणित र विज्ञान विषयका शिक्षक छैनन् । दुर्गमका विद्यालयमा त गणित, विज्ञान र कम्प्युटर विषयको शिक्षकको सधैं पिरलो भइरहन्छ ।’

पेसाप्रतिको घट्दो आकर्षणले गर्दा शिक्षाशास्त्र पढेका उम्मेदवार शिक्षणभन्दा निजामती सेवातर्फ आकर्षित छन् । शिक्षक सेवा आयोगबाट नियुक्ति लिई आएका अधिकांश गणित, विज्ञान र कम्प्युटर विषयका शिक्षक केही महिनामै निजामती सेवातर्फ नाम निकालेर पेसा बदल्ने गरेका छन् । चालु वर्ष अर्जुन मावि भकुन्डे र अमर मावि चिमखोलामा मधेशी कोटाबाट नियुक्त भएर आएका गणित शिक्षक सरुवा भएर गए । 

बेनी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोतव्यक्ति जयराम सुवेदीका अनुसार शून्य दरबन्दी भएका विद्यालयमा सरकारले शिक्षण सहायता अनुदान भनी १२ महिनाको रकम दिन्छ । यही रकमले करारमा नियुक्त हुने हो । पारिश्रमिक पनि कम हुने भएकाले आकर्षण कमी हुनुको अर्को कारण मानिन्छ । सुवेदीका अनुसार विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन् । अन्यत्र पढाइरहेका शिक्षकले नै पायक पर्ने वा अनुकूलको विद्यालयमा निवेदन दिन्छन् । नयाँ अनुहारले शिक्षण सेवामा आउन चाहँदैनन् ।

बेनीका सामुदायिक तथा संस्थागतबाहेक जिल्लाका सबै माध्यमिक तहका विद्यालयले हरेक वर्ष विज्ञान वा गणित विषयको शिक्षक भाग्ने समस्या झेल्दै आएका छन् । शिक्षक उपलब्ध भएका विद्यालयमा पनि शिक्षकको ‘ग्याप’ हुने गरेको छ । ‘जिल्लामा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ । कक्षा ६ देखि विज्ञान विषय अनिवार्य गरिएको छ तर पढाउन जनशक्ति पर्याप्त छैन । सम्बन्धित विषयका जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामतीतर्फ आकर्षित छन्,’ शिक्षा विकास तथा समवन्य इकाइ प्रमुख दलबहादुर थापाले भने, ‘गणित, विज्ञान, कम्प्युटर विषय शिक्षण गर्ने जिल्लाकै उत्पादन छैन, बाहिरबाट आएकाहरू एक वर्षमै सरुवा मिलाउने भएकाले समस्या दोहोरिन्छ । अर्को शिक्षण लाइसेन्स परीक्षामा विषय नमिल्दो र अव्यावहारिक हुँदा पनि शिक्षक समस्या भएको हो ।’

विज्ञान विषयको मात्र होइन, कक्षा ८ देखि कम्प्युटर विषय अध्यापन गराउने सदरमुकामका विद्यालयमा योग्यता पुगेका कम्प्युटर शिक्षक छैनन् । एउटा कम्प्युटर शिक्षकले बिहानदेखि साँझसम्म समय मिलाएर सामुदायिक र संस्थागत गरी चार वटासम्म विद्यालयमा अध्यापन गराउने गरेका छन्,’ प्रकाश माविका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले भने, ‘कम्प्युटर विषयमै शैक्षिक योग्यता प्राप्त शिक्षक पाउनै सकिन्न । अन्य विषयमा योग्यता लिएका र कम्प्युटर तालिमे शिक्षकबाट लटरपटर काम चलाउ पढाउनुपर्ने बाध्यता छ ।’

त्यसैगरी विद्यालयमा इन्जिनियरिङ र गणित शिक्षकको पनि उस्तै समस्या छ । प्राविधिक धारमा पढाइ हुने बेनी–९ तोरीपानीको गलेश्वर माविले बीई पढेका शिक्षक पाएको छैन । सरकारले डिजिटल शिक्षण भनेको र विद्यालयमा कम्प्युटर पढाइ हुने भने पनि शिक्षक अभावले कहिल्यै सैद्धान्तिक र प्रयोगात्मक पढाइ नै हुँदैन ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका अनुसार गत वर्ष मात्र जिल्लाका ७ जना विज्ञान शिक्षक शिक्षण पेसाबाट निजामती सेवातर्फ गए । त्यसैगरी शिक्षक सेवा आयोगबाट मधेशी कोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक सधैं अभाव हुने अर्को कारण हो ।

आधारभूत तह कक्षा ६ देखि नै सरकारले विज्ञानलाई अनिवार्य विषयमा राखेको छ । इकाइको तथ्यांकअनुसार जिल्लाका १ सय ७५ वटा आधारभूत तह (कक्षा ६–८) र १ सय १५ माध्यमिक तहमध्ये जम्मा २२–२२ जना मात्र दरबन्दीका गणित र विज्ञान शिक्षक छन् । बाँकी विद्यालयले राहत तथा निजी स्रोतबाट करारका विज्ञान शिक्षक राखेका छन् । विज्ञान र गणित शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेसामा आएका शिक्षक पनि सहरी इलाकैमा खोसाखोस हुने भएकाले दुर्गममा अभाव खड्किने गरेको छ ।

म्याग्दीकै जस्तो अवस्था छ रुकुम पूर्व र प्यूठानमा पनि । रुकुम पूर्वको भुमे–३ सीमास्थित सहिद शुक्र माविले ४८ हजार मासिक तलब हुने गरी अंग्रेजी विषयका लागि करारमा शिक्षकको विज्ञापन गर्‍यो । तोकिएको १५ दिनभित्र कसैको आवेदन नपरेपछि विद्यालयले पुनः विज्ञापन गरेको छ । प्रधानाध्यापक अनिल आचार्यले राम्रै तलब हुने पदमा पनि कसैको आवेदन नपरेको बताए ।

सहिद शुक्रकै जस्तो अवस्था छ, पुथा उत्तरगंगा–१ मैकोटस्थित पुथा हिमालय माविको । विद्यालयले १५ दिनको समय तोकेर गणित शिक्षकको विज्ञापन गर्‍यो । तर म्यादभित्र आवेदन आएन । ‘दुर्गममा करारमा काम गर्न आउन मान्दैनन्,’ प्रधानाध्यापक छविलाल दाहालले भने, ‘विज्ञापन गरे पनि शिक्षक खोजेर भर्ना गर्नुपर्ने अवस्था छ ।’ जिल्लाका क्याम्पसमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक उत्पादन ज्यादै न्यून हुने र बाहिर जिल्लाबाट आउन नमान्ने अवस्था रहेको उनले बताए ।

पूर्वी रुकुमको शिक्षा विकास तथा समन्वय इकाइ  प्रमुख तिलक गौतमले माध्यमिक र साविक उच्च माध्यमिक तहका गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक पाउन मुस्किल परेको बताए । ‘स्थायी पदपूर्ति नहुन्जेलसम्मका लागि करारमा भर्ना गर्नुपर्ने अवस्थामा समन्वय गरेर सम्बन्धित विद्यालयले पहिलोपल्ट सूचना आह्वान गर्ने गरेका छन्,’ उनले थपे, ‘तर शिक्षक पाउन निकै गाह्रो छ । किनकि शिक्षण पेसाप्रति नै आकर्षण कम छ । अनि शिक्षक हुन चाहनेहरू करारमा भन्दा स्थायी हुनका लागि शिक्षक सेवा आयोगको तयारीमा छन् ।’

प्यूठानको मल्लरानी–४ कसेरीको जनजागृति माविले पनि उस्तै समस्या झेलिरहेको छ । जनजागृति माविले गत जेठ १ मा गाउँपालिका अनुदानमार्फत विद्यालयमा २३ हजार तलब सुविधा हुने गरी अंग्रेजी शिक्षक राख्न आवेदन खुलायो । १५ दिनको समयावधिमा कसैको आवेदन परेन । विद्यालयले फेरि ७ दिनको समय थप्यो । दोस्रो र तेस्रो पटकको सूचनामा पनि कुनै आवेदन परेन । प्रध्यानाध्यापक शोभा श्रेष्ठले भनिन्, ‘आवेदन नपरेकाले विद्यालयमा लाइसेन्स नभएको व्यक्तिलाई शिक्षक बनाउनुपरेको छ,’ प्रधानाध्यापक शोभा श्रेष्ठले भनिन्, ‘देशमा शिक्षितलाई रोजगारी छैन भनिन्छ तर दक्ष जनशक्तिका अभाव यस्तो छ । पढेलेखेका युवाहरू गाउँमा छैनन्, गाउँमा भएकासँग पढाउन चाहिने योग्यता छैन ।’ 

म्याग्दीमा गणित पढ्ने विद्यार्थी न्यून 

म्याग्दीका सामुदायिक विद्यालयमा ऐच्छिक गणित पढ्ने विद्यार्थी छैनन् । गणित शिक्षक हुनका लागि विद्यालय तहदेखि नै ऐच्छिक गणित पढ्न जरुरी छ । तर गणितप्रति विद्यार्थीको आकर्षण छैन । जिल्लाको क्याम्पसमा चारवर्षे स्नातक तहमा शिक्षाशास्त्रतर्फ गणित, विज्ञान र कम्प्युटर विषय अध्यापन गराउने एक्लो म्याग्दी बहुमुखी क्याम्पस छ । क्याम्पसको अभिलेखमा बीएड पहिलो वर्षमा ४ जना, दोस्रोमा ६, तेस्रोमा ३ र चौथोमा ३ जना विद्यार्थीले मात्र गणित विषय अध्ययन गर्छन् । बीएडतर्फ विज्ञान लिएर पढ्ने ३ जना मात्र छन् । 

क्याम्पसले गत शैक्षिक सत्रदेखि विज्ञान र कम्प्युटर विषयको शिक्षक अभाव पूर्ति गर्ने उद्देश्यले बीएडमा विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्ययन/अध्यापन सुरु गरेको छ । त्यसनिम्ति जिल्लाका सबै स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापन गरेका छन् । 

‘जिल्लाका विद्यालयमा शिक्षकको धेरै माग भएकाले बीएडमा गणित, विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्यापन सुरु गरेका हौं,’ म्याग्दी क्याम्पसका सहायक प्रमुख नारायण सुवेदीले भने, ‘स्नातक तहमा गणित विषय अध्यापन गराउने म्याग्दी क्याम्पसका स्रोत विद्यालय जम्मा ५ वटा छन् । ती विद्यालयबाट स्नातक पढ्न आउने जम्मा ४–५ जना विद्यार्थी हुन् । ती पनि चौथो वर्ष पुग्दासम्म हराइसक्छन् अनि कसरी गणित विषयका शिक्षक उत्पादन हुन्छ ?’ सुवेदी गणित विषयका सहप्राध्यापक हुन् । गणितभन्दा तुलनात्मक विज्ञान पढ्ने बढी छन् । खासगरी डाक्टर, इन्जिनियरजस्ता विषय पढ्न कक्षा ११ र १२ मा विज्ञान विषय पढ्नुपर्ने हुन्छ । रोजेकाले डाक्टर, इन्जिनियरमा नाम निकाल्न नसके मात्र बीएड पढ्ने गरेका छन् । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully