कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

साहसिक पर्यटनमा पाल्पाली जोस

युवा व्यवसायी देव पचभैयाको नेतृत्वमा पाल्पामा ‘जिप लाइन’ र रूपम कक्षपतिले ‘प्याराग्लाइडिङ’ सुरु गरेका हुन् । कृष्ण पाण्डेय क्षत्री र अनिल रानाले रानीमहल क्षेत्रमा ‘र्‍याफ्टिङ’ सुरु गरेका हुन् ।
माधव अर्याल

पाल्पा — पहाडी जिल्ला पाल्पाको तानसेन पर्यटनका लागि प्रख्यात छ । तर देशविदेशबाट यहाँ आउने पर्यटकको बसाइ भने लामो हुँदैन । कारण पाल्पा आइपुग्ने पर्यटक केका लागि बास बस्ने ?

साहसिक पर्यटनमा पाल्पाली जोस

भौतिक पूर्वाधारका काम हुन नसक्दा पर्यटकलाई भुलाउने क्षेत्रको अभाव भएको हो । त्यसैले पर्यटकको बसाइँ लम्ब्याउन नसकेको पर्यटन व्यवसायीसमेत स्विकार्छन् ।

तर पछिल्लो समय पर्यटन क्षेत्रलाई विस्तार गर्न पाल्पाली तातेका छन् । जसका कारण एकपछि अर्को साहसिक खेल पर्यटनहरू सुरु भएका छन् । सदरमुकाम तानसेनमा ‘आकाशबाट उडेर तानसेन हेरौं’ भन्ने अभियानसहित ‘फ्लाई तानसेन’ प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । त्यस्तै, तानसेनदेखि ९ किलोमिटर टाढाको भैरवस्थानमा ‘जिप लाइन’ ले पर्यटक लोभ्याइरहेको छ । यति मात्र होइन, १३ किलोमिटर टाढाको प्रमुख पर्यटकीय गन्तव्य रानीमहलको आँगनमा कालीगण्डकीमा र्‍याफ्टिङ चलाइएको छ ।

‘जे होस् पाल्पा आएपछि रोजाइअनुसारका साहसिक पर्यटनमा रमाउन पाइने भएछ,’ कोसी प्रदेशको झापाबाट घुम्न तानसेन आएकी रस्मिता गिरीले भनिन्, ‘अहिले धेरै खुसी लाग्यो । कोभिड सुरु हुनुभन्दा अघि केही थिएन । यहाँ आइसकेपछि रमाउन, घुम्न र खेल्न पाइने भएको छ ।’ तीनवटै

व्यवसाय युवाले सुरु गरेका हुन् । युवा पत्रकार देव पचभैयाको नेतृत्वमा ‘जिप लाइन’ सञ्चालनमा ल्याइएको हो । एकपछि अर्को युवाले साहसिक खेलमा लगानी थपेका छन् । तानसेनका अर्का युवा रूपम कक्षपतिले ‘प्याराग्लाइडिङ’ सुरु गरेका हुन् । रानीमहलमा युवा कृष्ण पाण्डेय क्षत्री र अनिल रानाले जलयात्रा अर्थात् ‘र्‍याफ्टिङ’ सुरुवात गरेका छन् ।


रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानमा सुरु भएको ‘जिप लाइन’ साहसिक खेल हो । यसले पाल्पा आउने पर्यटकलाई थप आकर्षित गरेको छ । भैरवस्थान मन्दिर परिसरबाटै ‘जिप लाइन’ खेल्न पाइन्छ । यसमा रमाउने युवकयुवतीको संख्या दैनिक बढ्दो छ । एक वर्षदेखि सुरु भएको ‘जिप लाइन’ खेल्ने पर्यटक दैनिक बढेको सञ्चालक पचभैयाले बताए । ‘पाका पुस्ताभन्दा पनि युवाको संख्या अधिक हुन्छ,’ उनले भने, ‘खेलेर मनोरञ्जन लिनेहरूको संख्या दैनिक बढ्दै गएको छ ।’ जेठ दोस्रो सातासम्म ५ हजार पर्यटकले ‘जिप लाइन’ खेलिसकेका छन् । पाल्पा दर्शन प्रालिबाट जिप लाइन सञ्चालनमा छ ।

साहसिक खेल भएकाले युवा र किशोरले बढी चाख लिएर खेल्ने गर्छन् । २ करोड बढी लगानी रहेको ‘जिप लाइन’ मा अन्य सहयोगीले पनि सघाएको उनले बताए । यहाँ आउने पर्यटकको रोजाइ बनाउने योजनाका साथ अघि बढेको पचभैयाले बताए । लुम्बिनी र पोखराबाट पाल्पा आउने पर्यटक भैरवस्थान मन्दिरसम्म पुग्छन् । पछिल्ला दिनमा जिप लाइन खेल्नकै लागि पुग्ने गर्छन् ।

भैरवस्थान मन्दिरमा पुग्नेहरू पनि एक पटक ‘जिप लाइन’ खेल्न मन नपराउने कुरै भएन । ९ सय मिटर दूरीमा ‘जिप लाइन’ को मज्जा लिन पाइन्छ । यो दूरी पार गर्न तौलअनुसार एकदेखि डेढ मिनेट लाग्छ । पर्यटकका लागि जिप लाइनमा सेल्फी खिच्ने, यात्राको भिडियो बनाउने व्यवस्थाले अझ आकर्षित हुन्छन् । जिल्लामै पहिलो पटक सञ्चालनमा आएकाले धेरैले यो खेल्न मन पराउने गरेको सञ्चालक पचभैयाले बताए । । यहाँ सुरु भएको ‘जिप लाइन’ बाट पर्यटकलाई बसाइँ लम्ब्याउन मद्दत पुगेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले बताए । ‘जिप लाइन’ सँगै ३८० डिग्रीको साइक्लिङको पनि व्यवस्था छ । यो पनि एक प्रकारको साहसिक खेल हो ।


पाल्पा सदरमुकाम तानसेन बजार र प्राकृतिक मनमोहक श्रीनगरडाँडा आकाशबाट हेर्दा निकै आनन्द लागेको रूपन्देही भैरहवाबाट आएका केशव खनालले सुनाए । उनले उडेको केही क्षणमै प्याराग्लाइडिङले उचाइ लिनासाथ खुलेको मौसममा लहरै हिमाल देख्दा आनन्द महसुस भएको बताए । ‘वर्ड आई भ्यु’ मा तानसेन र श्रीगर देख्दा छुट्टै मज्जा आउने उनले बताए ।

‘गुजुमुज्ज तानसेन सहर मात्र होइन, मठमन्दिर, पाल्पा दरबार, शीतलपाटी देख्दा धेरै मज्जा लाग्यो,’ उनले भने, ‘गजबचाहिँ पाइलटले नै सबै वर्णन गर्दा लाग्यो ।’ ठूलो माडी फाँट देख्दा झनै गजब लागेको उनले सुनाए । तानसेनको आकाशमा २०७९ वैशाखबाट व्यावसायिक उडान सुरु भएको हो ।

‘फ्लाई तानसेन’ ले आकाश उड्दाउड्दै पर्यटकीय स्थलको जानकारी गराउने प्रचलन छ । ‘तानसेन र वरपरका दृश्यावलोकन मात्र गराउँदैन, पर्यटकीय स्थलको विशेषता जानकारी गराउने गरिएको छ,’ सञ्चालक तानसेन–४, मखनटोलका रुपम कक्षपतिले भने, ‘यसले हामीलाई मात्र होइन, पाल्पा आउने पर्यटकलाई पनि फाइदा पुगेको छ ।’

आकाशमा उड्दा रानीमहल, भैरवस्थान क्षेत्रसमेत माथिबाट देख्दा पर्यटक रमाउने उनले सुनाए । दक्षिणतर्फ माडीफाँट, तानसेन दरबार, भगवती मन्दिर, अमरनारायण मन्दिर, शीतलपाटी, टुँडिखेल, कारागार क्षेत्र देखिन्छ । पाल्पा राज्यका विषयमा पनि उडानका क्रममा पर्यटकलाई जानकारी दिइने गरेको छ । उडानको समयअनुसार पर्यटकलाई व्याख्या गर्ने गरिन्छ । ‘गजब के लाग्छ भने भारतीय र तेस्रो मुलुकका पर्यटकले चासो लिएर सुन्छन्,’ उनले भने, ‘पाल्पा बाहिरकालाई व्याख्या गर्दा धेरै लोभिन्छन् ।’ तानसेन उडौं अर्थात् फ्लाई तानसेन २०७९ वैशाखमा सुरु भएको हो । अहिलेसम्म ४ सय ७५ जति उडान भइसकेको छ ।


बतासेडाँडाबाट सुरु हुने उडान प्रभासको रक्साहामा अवतरण हुन्छ । एक फ्लाईको ५ हजार ५ सय रुपैयाँ लाग्छ । मौसम र हावाको चापअनुसार १५ देखि ३० मिनेटसम्म उडान हुन्छ । ५ हजार ५ सय मिटर उचाइसम्म जान अनुमति छ । कतिपय अवस्थामा एक घण्टासम्म पनि उडाउने गरिन्छ । ‘एडभेन्चर टुरिजमका लागि वा प्याराग्लाइडिङ गर्ने भनेर पोखरा जानु पर्दैन भन्ने भइसकेको छ । ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालीभन्दा भारतीय बढी उड्ने गरेका छन् । नेपाली र तेस्रो मुलुकका कम मात्र उड्ने चाहना राख्ने उनले बताए । भारतका धेरैजसो गोरखपुर, लखनउ, कानपुर, बिहारका आउने गर्छन् । अस्ट्रेलिया, बेलायतलगायत विदेशमा बस्ने नेपाली पनि धेरै इच्छुक छन् । फ्लाई तानसेनले प्याराग्लाइडिङ (टेन्डम) को व्यावसायिक उडान गर्छ । पाल्पामा आउनेहरूलाई नयाँपन दिन साहसिक पर्यटकीय खेल सुरु गरेको उनले बताए । उनका अनुसार एक्लै प्याराग्लाइडिङ उडाउनेलाई सोलो पाइलट भनिन्छ । पाइलटसँगै अर्को मानिस राखेर उडाउनेलाई ‘टेन्डम पाइलट’ भनिन्छ । अहिले कक्षपतिसँग दुई वटा भए पनि ५ वटा उडाउने अनुमति लिएका छन् । पछिल्लो समय सीमा नाकाका बजार खोज्ने क्रममा छन् । अहिले अधिकांश होटलमार्फत बुकिङ आउने गरेको छ ।

काठमाडौंकी रीता पराजुली पहिलो पटक रानीमहल आएकी हुन् । उनलाई रानीमहल पुग्ने ठूलो धोको थियो । नजिकमा कालीगण्डकी नदीमा मुख धुन पुगिन् । त्यहीँ पुग्दा उनलाई र्‍याफ्टिङ गर्ने मन भयो । दुई वटा बोट देखेपछि मन थामिएन । साथीहरूलाई बोलाएर सुरु गरिन्, साहसिक जलयात्रा । पराजुली मात्र होइन, रानीमहल पुग्ने जो कोहीलाई एक पटक कालीगण्डकीमा जलयात्रा गर्न मन लाग्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म पनि यहाँ साहसिक जलयात्राको मज्जा लिन्छन् ।


त्यसमा मात्र होइन, वर्षा लागेपछिको भेलमा पनि कालीगण्डकी नदीमा रानीमहल हेर्दै गर्न सकिने र्‍याफ्टिङको मज्जा लिन्छन् । ‘सुरुमा के होला भन्ने भयो,’ नवलपरासीको परासीबाट आएका विवेक अधिकारीले भने, ‘पछि त आनन्द लाग्यो ।’ रानीमहल क्षेत्रमा सञ्चालित र्‍याफ्टिङले धेरैलाई लोभ्याउने गरेको त्यसका सञ्चालन कृष्ण पाण्डेय क्षत्रीले बताए । तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरमा रानीमहल पर्छ । युवाले लगानी गरेर पर्यटकलाई लोभ्याएको पर्यटन व्यवसायी टंक न्यौपानेले बताए ।

साहसिक जलयात्राले पर्यटक पनि आकर्षित भएका छन् । दैनिक एक सय बढी आन्तरिक तथा बाह्य पर्यटकले जलयात्रा गर्छन् । रानीमहलमा दैनिक ३ सय बढी पर्यटक पुग्ने गरेका छन् । अधिकांशले जलयात्रा गर्न खोज्छन् । विगतमा रानीमहल पुग्नेहरू पनि पछिल्ला दिनमा साहसिक जलयात्रामा रमाउन पुग्ने गरेका छन् । साथीले जलयात्रा गरेको देखेपछि मन लोभिने चितवनबाट रानीमहल पुगेका रमेश अधिकारीले बताए । सञ्चालक पाण्डेयले समयअनुसारको पैसा लिने गरेको बताए । ‘कतिपयलाई व्यावहारिक ढंगले पनि जलयात्रा गराउनुपर्छ,’ उनले भने, ‘जसले गर्दा ३ सयदेखि ५ सय रुपैयाँसम्म लिने गरिएको छ ।’

प्रकाशित : जेष्ठ २४, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?