सरकारले ल्याएको नीति तथा कार्यक्रम गतिशील छैन : विष्ट

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका सांसद गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गतिशील नभएको बताए । 

सरकारले ल्याएको नीति तथा कार्यक्रम गतिशील छैन : विष्ट

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बुधबारको प्रतिनिधिसभा बैठकमा भाग लिँदै विष्टले उक्त कुरा बताएका हुन् । उत्पादन र उत्पादकत्वको अवस्था तथा रोजगारीको अवस्थाको समीक्षा नीति तथा कार्यक्रममा नभएको उनको भनाइ थियो । मुलुकको वर्तमान समस्याहरूको गम्भीरताका साथ समीक्षा नभएको बताउँदै ती समस्याको समीक्षा गरेर समाधानका उपायसहित नीति तथा कार्यक्रम आउनुपर्ने विष्टको धारणा थियो ।

'समस्या समाधानका लागि टालटुले, अर्थतन्त्रमा सामान्य सुधारले पुग्दैन । संरचनागत सुधारको आवश्यकता छ । तर सरकारको नीति तथा कार्यक्रम कस्तो छ भने सामान्य अवस्थामा आएको नीति कार्यक्रमजस्तै,' उनले भने, 'यो नीति कार्यक्रम चीर निद्रामा सुतिरहेको बूढानीलकण्ठजस्तै छ । जसमा कुनै चलायमान छैन जसमा कुनै ऊर्जा छैन । जसमा कुनै गतिशीलता छैन जसमा कुनै दम छैन । यो प्रकारको नीति तथा कार्यक्रमले के आजका समस्याहरू समाधान गर्न सक्छ ?'

मुलुकमा न्यून राजस्व संकलन, मूल्य वृद्धि, न्यून पुँजीगत खर्च, ऋणात्मक आर्थिक वृद्धि, व्यापार घाटा, तरलताको संकुचन, बढ्दो भ्रष्टाचार, जनतामा व्याप्त असन्तुष्टि र निराशाले जकडिइरहेको कुराको संज्ञान सरकारले नीति तथा कार्यक्रममा नराखेको विष्टको भनाइ थियो ।

सांसद विष्टले निर्वाचन ऐन संशोधन गर्ने सरकारको योजना सही भएको बताए । महँगो निर्वाचन प्रणालीको कारणले आज राजनीतिमा असल, इमानदार र सामान्य वर्गका मानिस आउने क्रम बन्द भएको बताउँदै उनले निर्वाचन ऐन सुधार गरियोस् भने । नेतामुखी राजनीति र हाकिममुखी सार्वजनिक प्रशासन हटाउन जरुरी रहेको उनको भनाइ थियो ।

२०४६ पछि जति व्यक्ति ओहदामा आएका छन्, उनीहरूको सम्पत्ति छानबिन गरेर कानुनभन्दा बढी सम्पत्ति भेटिएमा जफत गर्न राज्य तयार हुनुपर्ने पनि विष्टको भनाइ थियो । उनले नीति तथा कार्यक्रमलाई नयाँ ढंगले परिमार्जन गर्न सुझाव दिए ।

प्रकाशित : जेष्ठ १०, २०८० १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?