काठमाडौँ — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नक्कली भुटानी शरणार्थी प्रकरणको जरैसम्म छानबिन नगरिए त्यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गम्भीर परिणाम आउने चेतावनी दिएको छ । इन्सेकका अध्यक्ष कुन्दन अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै गम्भीर परिणामको जिम्मेवारी लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने दलहरुले लिनुपर्ने जनाएका छन् ।
'विधायक र उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरुसहित राज्य संयन्त्रको संलग्नतामा भएको नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधको जरासम्मै छानबिन भई सम्पूर्ण आरोपितहरुमाथि कानुनी कारबाही हुन सकेन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत आउनसक्ने गम्भीर परिणामको अन्तिम जिम्मेवारी लोकतन्त्र र गणतन्त्र स्थापनाको अगुवाई गर्ने दलहरुले नै लिनुपर्ने प्रष्ट छ,' विज्ञप्तिमा भनिएको छ ।
इन्सेकले यस विषयमा निष्पक्ष र गहन छानबिन नभए नेपालको राष्ट्रिय प्रतिष्ठा पूर्ण रुपमा धराशायी हुने पनि जनाएको छ ।
'सरकारको नेतृत्व र राज्यका विभिन्न निकायहरुकै भ्रष्टाचार र अनियमितता विरुद्धको प्रतिबद्धतामा समेत प्रश्न उठेको अन्योलपूर्ण अवस्थामा आमजनता, नागरिक समाज र सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसद्ले अझ जागरुक हुँदै प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ,' विज्ञप्तिमा भनिएको छ । इन्सेकले हालसम्म नेपाल प्रहरी र राज्यका अन्य अंगहरुबाट भएको छानबिनलाई सराहना गरेको छ ।
इन्सेकले सहमतिको नाममा अपराधीलाई कारबाही नगरी छाड्ने आशंका आमजनतामा रहेको र त्यो चिन्ताको विषय भएको जनाएको छ ।
