दुई चौकीका प्रहरीको चिया खाने, रासन भर्ने पसल मात्रै होइन, पानी भर्ने धारा पनि एउटै छ, तर पारिश्रमिकमा ठूलो अन्तर छ
मैला, हुम्ला — बाजुराको हिमाली गाउँपालिका–१ कवाडीस्थित अस्थायी प्रहरी चौकी र हुम्लाको ताजाकोट गाउँपालिका–१ मा रहेको मैला प्रहरी चौकीलाई कवाडी खोलाले छुट्याएको छ । ६० मिटर लामो झोलुंगे पुलले यी दुवै प्रहरी चौकीलाई जोड्छ । केही पाइला दूरीमा रहेका यी चौकीमा कार्यरत प्रहरीले भान्सामा मिठोमसिनो पाक्दा आपसमा बाँडीचुँडी खान्छन् ।
फुर्सदमा गफगाफ गर्न कहिले पारिका प्रहरी वारि चौकीमा आउँछन् त कहिले वारिका पारि पुग्छन् । उनीहरूको चिया खाने पसलमात्रै होइन, पानी भर्ने धारा पनि एउटै छ । दुवै चौकीका प्रहरीले गाउँपालिकाको केन्द्र धुलाचौरमा रहेको एउटै पसलबाट रासन भर्छन् । महिना मर्दा रासनको पैसा पनि सँगैजसो तिर्छन् । सबै एउटै भए पनि उनीहरूले पाउने मासिक पारिश्रमिकमा भने आनका तान फरक छ ।
बाजुरा कवाडीमा कार्यरत प्रहरी जवानले भत्तासहित मासिक ३७ हजार ४ सय ७४ रुपैयाँ तलब बुझ्छन् । वारिपट्टि मैला प्रहरीचौकी हुम्लाका प्रहरी जवानको भत्तासहित तलब भने ५० हजार २ सय पुग्छ । जबकि यी दुवैको तलब स्केल एउटै अर्थात् २६ हजार ५ सय रुपैयाँ हो । तर सरकारले दिने रासन र अन्य भत्ताका कारण उनीहरूले बुझ्ने कुल मासिक तलबमा साढे १२ हजार रुपैयाँभन्दा बढी अन्तर छ ।
नेपाल सरकारले भौगोलिकताका आधारमा हुम्लामा कार्यरत प्रहरीलाई रासन र अन्य भत्ताबापत २३ हजार ७ सय रुपैयाँ दिने गरेको छ । पारिपट्टि बाजुराका प्रहरीले रासन र अन्य भत्तासहित १० हजार ९ सय ७४ रुपैयाँमात्रै पाउँछन् । उनीहरूबीचको भत्ताको अन्तर १२ हजार ७ सय २६ रुपैयाँ छ । प्रहरी जवानमात्रै नभएर सबै दर्जाका प्रहरी कर्मचारीको तलबमा पुलवारि र पारि अन्तर छ ।
महिनाभरि सँगसँगै हुने कवाडी चौकीका प्रहरीहरूको मन त्यतिबेला कुँडिन्छ, जब उस्तै प्रकृतिको भूगोलमा बसेका दुई चौकीका प्रहरीले फरक–फरक पारिश्रमिक बुझ्छन् । ‘अहिले त पारि (मैला) भन्दा बढी हामीलाई दुःख छ,’ कवाडी प्रहरीचौकीमा कार्यरत एक प्रहरीले भने, ‘यहाँबाट हाम्रो मूलचौकी रहेको बिच्छ्या जानुपर्यो भने हुम्ला भएर पूरै दिन हिँडेर जानुपर्छ । उहाँहरूको सबैतिर गाडी चल्छ ।’ उनले मैला चौकीमा कार्यरत प्रहरीले सदरमुकाम सिमकोट जानुपर्दाबाहेक सबैतिर गाडी सुविधा रहेको बताए ।
हुम्लाको ताजाकोट गाउँपालिकाको मैलामा रहेको प्रहरी चौकी र बाजुराको हिमाली गाउँपालिकामा रहेको प्रहरी चौकी जोड्ने कवाडी खोलाको पुल । तस्बिर : वसन्तप्रताप सिंह ।
२०४९ सालमा कवाडीमा स्थापना भएको प्रहरीचौकी मुलुक संघीय संरचनामा गएपछि गतवर्ष मात्रै बाजुराको सबैभन्दा विकट मानिने बिच्छ्या सरेको थियो । कर्णाली करिडोरमा पर्ने कवाडीमा अहिले अस्थायी चौकीमा ७ प्रहरी कार्यरत छन् ।
उस्तै भूगोल र अवस्थामा काम गरे पनि वारि र पारिको फरक भत्ताले आफूहरूलाई विभेद गरेको कवाडीमा कार्यरत प्रहरीहरूको भनाइ छ । ‘ठाउँ र काम सबै एउटै भए पनि तलब बुझ्ने बेला फरक हुन्छ,’ अर्का एक प्रहरी हवल्दारले भने, ‘सरकारले नै गरेको यो विभेद देख्दा मन खिन्न हुन्छ ।’ राज्यले भौगोलिक अवस्था नहेरी जिल्लाको आधारमा सुविधा तोकिदिँदा आफूहरूलाई अन्याय भएको उनको भनाइ छ ।
हुम्लामा थुप्रिन्छन् प्रहरी
हुम्ला प्रहरीको पहिलो रोजाइमा पर्ने जिल्ला हो भन्ने त्यहाँ कार्यरतको भनाइले मात्रै होइनन्, त्यहाँ खटिएको संख्याले पनि पुष्टि गर्छ । हुम्लाका प्रहरीले पाउने सुविधा अन्य जिल्लाभन्दा बढी भएपछि प्रहरी कर्मचारीका लागि यो जिल्ला आकर्षणको केन्द्रमा छ । प्रहरीभित्र हुम्लालाई दोस्रो वैदेशिक मिसन भन्ने चलनसमेत छ । मैला चौकीमा १२ जनाको मात्रै दरबन्दी छ तर वैशाख दोस्रो सातासम्म यहाँ १६ प्रहरी छन् । ‘कहिलेकाहीं त २० जनासम्म पुग्छन् । सुत्ने ठाउँ नभएर पालमा सुत्नुपर्ने अवस्था हुन्छ,’ त्यहाँका एक प्रहरीले भने, ‘यहाँ दरबन्दीभन्दा कम त कहिले पनि हुँदैनन् ।’ प्रहरीको आफ्नै भवन बनेको छैन । तर, दरबन्दीभन्दा बढी जनशक्ति आइदिँदा बास बस्न समस्या हुने गरेको ती प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रशासन शाखाका अनुसार जिल्लामा प्रहरी कर्मचारीको अभाव विरलै मात्रै हुने गरेको छ । ‘कुनै कुनै दिनमात्रै दरबन्दीभन्दाकम प्रहरी हुन्छन्,’ कर्मचारी प्रशासन शाखाका सहायक निरीक्षक नगेन्द्र बस्नेतले भने, ‘नभए यहाँ काजसरुवा भएर आउनेहरू धेरै हुन्छन् । प्रायःजसो दरबन्दीभन्दा बढी नै हुन्छन् ।’
हुम्लामा कार्यरत भन्नेबित्तिकै प्रहरी संगठनमा छुट्टै पहिचान हुने गरेको छ । ‘हुम्लामा आउने प्रहरी सोर्सफोर्स बिनाको हुनै सक्दैन भन्ने हुन्छ । कोही एक पटक आयो भने आफ्नो फोर्स प्रयोग गरेर दुई–तीन वर्ष पनि बसिदिन्छन्,’ जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक हवल्दारले भने, ‘सुविधा पनि बढी पाइने, अरू जिल्लाको जस्तो अपराधका घटना पनि कम हुने भएकाले खासगरी तल्लो दर्जाका प्रहरीको मुख्य रोजाइ नै हुम्ला हुने गर्छ ।’ हुम्ला छोड्न चाहनेभन्दा आउन चाहनेको संख्या धेरै हुने भएकाले जहिल्यै दरबन्दीभन्दा बढी हुने गरेको उनले बताए । सुविधा मात्रै नभएर हिमाली वातावरण, नजिकै कैलाश मानसरोवरसमेत रहेकाले विभिन्न उद्देश्यले बढी प्रहरीको रोजाइमा हुम्ला पर्ने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता दीपक मल्लले बताए । ‘यहाँ बढी मान्छे आउन चाहनुको पछाडि आर्थिक कारण त मुख्य भइहाल्यो । भौगोलिक वातावरण पनि हो,’ उनले भने, ‘यहाँ शारीरिक रूपमा दुःख भए पनि अन्य जिल्लाको जस्तो मानसिक तनाव कम छ । त्यही कारण पनि धेरैले हुम्ला नै रोज्ने गर्छन् ।’
हुम्लासँग जोडिएका अन्य जिल्लामा भने दरबन्दीअनुसारको पदपूर्ति कहिल्यै हुँदैन । ‘सुविधा धेरै भएका कारण सोर्स लगाएर पनि हुम्ला जान चाहने धेरै हुने भएकाले त्यहाँ थुप्रिन्छन्,’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी कवीन्द्रसिं बोहरा भन्छन्, ‘खोला वारिपारि सुविधा फरक भएपछि हुम्ला रोज्नु स्वाभाविक हो ।’ जिल्लाभन्दा पनि भौगोलिक अवस्था हेरेर पालिका अनुसारको सुविधा दिन सके प्रहरीले विभेद महसुस नगर्ने बोहराको भनाइ छ ।
कर्मचारीको सुविधा तोक्ने काम राज्यले गर्ने र खटनपटन प्रहरी प्रधान कार्यालयबाट हुने भएकाले यो विषयमा आफूहरूलाई विस्तृत जानकारी नहुने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहले बताए । ‘सबै प्रहरी खटाउने काम हेडक्वाटरबाटै हुने भएकाले हामीलाई धेरै जानकारी हुँदैन,’ उनले भने ।
