१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'तिमी पेन्सन पकाएर आएको, म छातीमा ढुंगा खाएर लडेको'

'तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन । तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्‍यौ भने तिमी किन गयौ भनेर मैले पनि प्रश्न गर्छु ।'

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र निरन्तर संघर्ष गरेर परिणाम ल्याउने बताए । तनहुँ-१ मा पार्टीबाट गोविन्द भट्टराईको उम्मेदवारी दर्ताको तयारीका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले निरन्तरको लडाइँले बदलाव आउने बताएका हुन् । 

'तिमी पेन्सन पकाएर आएको, म छातीमा ढुंगा खाएर लडेको'

पार्टीमा आफूहरूले कुनै पदका लागि लोभ नगरी संघर्ष गरिरहेको उनको भनाइ थियो । पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेललगायतले मुखैमा आएको मन्त्री पदको लोभ नगरी आफूलाई संसदीय दलको चुनावमा सघाएको थापाले बताए ।

'झापाबाट निर्वाचित भएर आएको विश्वप्रकाश शर्मा गगन थापाको प्रस्तावक बस्दै गर्दा समर्थक बस्दै गर्दा निर्वाचन हार्ने गगन थापाको प्रस्ताव बस्दै गर्दा ५ वर्ष मन्त्री बन्न पाउँदिनँ भन्ने विश्वप्रकाश शर्मालाई थाहा थिएन । तपाईंको तनहुँको प्रदीप पौडेल काठमाडौं गएर निर्वाचित भएको छ, गगन थापाको समर्थक बन्दै गर्दा मुखमै आएको नयाँ बन्ने सरकारको मन्त्री हुनबाट म वञ्चित हुन सक्छु भन्ने के उसलाई थाहा थिएन । थाहा थियो त तर म पनि चुनाव लडेँ विश्वप्रकाश प्रदीप पौडेललगायतका साथीहरू मेरो वरिपरि उभिनुभयो किन ? पार्टी हो यो पार्टीभित्र हामी एक छौँ पार्टीभित्र बाँधिएका छौँ । पार्टीभित्र संघर्ष गरिरहेका छौं । पार्टीभित्र लडिरहेका छौं । पार्टीभित्रको निरन्तरको संघर्षबाट यहीँभित्र बदलाव ल्याउँछौँ । परिणाम ल्याउँछौँ । एउटा सांसद बन्ने कुरा वा मन्त्री बन्ने कुरा म बन्ने कुरा मबाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको नेताको चुनाव लड्न म जान्नँ थेँ । मेरो प्रस्तावकमा विश्वप्रकाश शर्मा आउँदैनथे । मेरो समर्थक बस्न प्रदीप पौडेल आउँदैनथे,' थापाले भने ।

भर्खरै कांग्रेस परित्याग गरेर रास्वपाबाट तनहुँ-१ का उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले आफू स्वेदशमै बसेर पार्टीभित्र लडेर बसेको पनि बताए । आफू त विदेश नगई, जागिर नखाई राजनीतिक परिवर्तनका लागि लागेको उनको भनाइ थियो ।

कांग्रेसका युवा पुस्तालाई नअल्मलिन आग्रह गर्दै उनले भने, 'देशभरिका खासगरी तमाम तन्नेरी साथीहरूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसको युवा साथीहरूलाई आग्रह गर्न चाहन्छु कोही अलमलमा नपर्नुस् कोही भ्रममा नपर्नुस् । यहाँ विषय पार्टीको नेताको होइन । यहाँ विषय तपाईंको हो । यहाँ विषय मेरो हो । यहाँ विषय हाम्रो लडाइँको हो । कहिलेकाहीँ साथीहरूले के भन्नुहुन्छ भने हामीहरू बाहिरबाट धेरै पढेर आएको । मेरो बा र आमा सोलुखुम्बुको पहाडबाट सुख खोज्दै काठमाडौं आउनु भएको हो । आमाले पढ्न पाउनु भएन । बाले पढ्नुभयो । हामीलाई पढाउनुभयो । साथीहरू यतिवर्ष विदेशमा पढेर आएको विदेशमा बसेर यो गरेर आएको मैले यतिको जागिर छाडेर आएको भन्नुहुन्छ । ती साथीहरूलाई मलाई भन्न मन लाग्छ, मैले त जागिर नखाएको । तिमीले त खाएर छाडेर आएको । मलाई त भन्न मन लाग्छ, तिमीले त जागिर खाएर, घर बनाएर, पेन्सन पकाएर अनि आएको हो । '

थापाले आफू त्यो बेलामा सडकको लडाइँमा संलग्न भएको बताए । उनले अगाडि भने, 'म त त्यो बेलामा सडकमा लडेर बसेको हो । छातीमा ढुंगा खाएर बसेको हो । जान नसक्ने भएर होइन । जाने क्षमता नभएर होइन । तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन । तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्‍यौ भने तिमी किन गयौ भनेर मैले पनि प्रश्न गर्छु ।'

प्रकाशित : चैत्र २०, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?