चिया पसलबाटै सबैले चिन्ने भएँ : विमला पराजुली

चैत्र १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — चिया उद्यमी विमला पराजुलीले आफ्नो पहिचान चियाबाटै बनेकाले यो व्यवसायमै खुसी रहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' चौथो सत्रअन्तर्गत 'अवरोधहरु छिचोल्दै उडान'मा बोल्दै आफ्नो संघर्षका कथाहरु सुनाइन् ।

 १३ वर्षको उमेरमा आफू भोजपुरबाट काठमाडौं आएसँगै सुरुमा शारीरिक अशक्त बच्चाको स्याहार गर्ने काम पाएको बताइन् । 'पछि १९ वर्ष पुग्दा काठमाडौंमा एक व्यक्तिले आफ्नो दुःख सुनेर दिएको ५ सय रुपैयाँबाट चियाको व्यापार सुरु गरेँ, दैनिक नाफा १ सय रुपैयाँ कमाइ भयो', उनले सुनाइन् 'पछि संसद भवनको ३ नम्बर गेटमा ठेला गाडा राखेर चिया पकाएर बेच्न थालेँ, महानगरको अवरोध भइरहन्थ्यो, त्यहाँबाट फेरि बानेश्वरमा सटर लिएर चिया घर नै खोलेँ ।' 

चिया पकाएर व्यवसाय थाल्दै गर्दा आफूले बच्चालाई स्कुल भर्ना गर्न समेत समस्या झेल्नुपरेको पराजुलीको अनुभव छ । 'बानेश्वर नजिकैको एक स्कूलमा बच्चालाई खाना पनि खुवाउने भएकाले मलाई सजिलो हुने भएकाले त्यहाँ भर्ना गर्न गएँ', उनले सुनाइन् 'तर स्कूलका प्रिन्सिपलले बाटोमा बसेर चिया पकाउनुहुन्छ, तपाईंले कसरी यो स्कुलमा बच्चा पढाउन सक्नुहुन्छ ? अहिले नै मासिक १० हजार फी छ भनेर जवाफ दिनुभयो ।'  पछि कसैको मद्दतबाट त्यहीं स्कूलमा भर्ना गर्न पाएको उनले बताइन् । हाल पराजुलीको छोरा अमेरिकाको एक विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् ।  

*यसअघि 'चिया उद्यमी विमला पराजुलीको चिया घर नयाँ बानेश्वर, कुमारीपाटी, पुतलीसडक, पेप्सीकोलामा सञ्चालनमा छन्' भन्ने हुन गएकोमा सच्याइएको छ । 

कान्तिपुर

Link copied successfully