२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बाँदरले हिँडायो बसाइँ, गाउँबस्ती रित्तारित्तै

बैतडीमा बाँदरको आतंकका कारण तराईतिर बसाइँ सर्ने र ‘कालापहाड’ लाग्नेको लर्को छ, गाउँबस्ती खण्डहरमा परिणत हुँदै छन् भने हजारौं रोपनी उर्वरभूमि बन्जर बन्दो छ

बझाङ — महाकाली नदी छेउको डाँडामाथि छ, धौल्याली गाउँ । सिलेट ओछ्याइएको छाना र कमेरो पोतिएका घर टाढाबाट उज्याला देखिन्छन् । गाउँको सिरानमै छ, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर । गाउँको पूर्व–पश्चिम मोहडा हुँदै तन्किएको छ, मध्यपहाडी लोकमार्ग ।

बाँदरले हिँडायो बसाइँ, गाउँबस्ती रित्तारित्तै

उत्तर–दक्षिण भएर १२ मिटर चौडा महाकाली करिडोर अगाडि बढेको छ । यातायात, खानेपानी र सिँचाइ सुविधा छ । तर गाउँभित्रको कथा विरक्तलाग्दो छ ।

दशरथचन्द नगरपालिका–८ मा पर्ने धौल्यालीमा ६८ घर छन् । गतिलै खर्चमा बनाइएका अधिकांश घरमा मान्छे छैनन् । ४० घरपरिवार बसाइँ सरिसके । खण्डहर घरका आँगन र बारी झाडीले छोपिएका छन् । खेतमा वनमारा र सिस्नु उम्रिएको छ । बाटोमा एकाध भेटिने पाका मानिस उदास देखिन्छन् । दिउँसै सन्नाटा छाएको यो गाउँ केही वर्षअघिसम्म गुल्जार थियो ।

यहाँका किसान मकै, गहुँ, मास, भटमास, सिमी फलाउँथे । उब्रेको उत्पादन ३० मिनेटको पैदल दूरीमा रहेको सीमापारि झुलाघाट बजारमा बेच्दा जीवन राम्रैसँग धानिएको थियो । तर, केही वर्षयता गाउँमा बाँदर आतंक फैलिएको छ । बाँदरले खेतबारीका अन्न, फलफूल मात्रै होइन, घरभित्रको सामानसमेत उठाएपछि बसिनसक्नुभएको छ । बाँदरकै कारण धेरैले गाउँ छाडेका छन् । गाउँमै बसिरहेकाहरू गरिखानु न मरिजानुको अवस्थामा छन् । ‘पहिले खेतबारीको बाली नचलाउने बाँदरले अहिले घरभित्रको पनि बाँकी राख्दैन,’ धौल्यालीकी ५० वर्षीया पुष्पा बोहरा भन्छिन्, ‘पाकेको खाना लुटिदिने, पानीको भाँडो घोप्ट्याइदिने गर्न थालेपछि बसिसक्नु छैन ।’ बाँदरको उपद्रो सुनाउँदै उनले थपिन्, ‘खेतबारीमा छरेको बीउसमेत बाँकी राख्दैन, मान्छे नहुँदा घरको छाना उप्काएर भित्र पस्छन् । झ्याल, ढोकै फोरेर विध्वंस मच्चाउन थालेका छन् ।’

गत माघ १ मा सुदूरपश्चिमभर माघेसंक्रान्तिको रौनक थियो । रोजगारीका लागि कालापहाड गएकाहरू फर्किसकेका थिए । विवाहित छोरीचेली माइती आएका थिए । यो रमाइलो चहलपहलका बीच दशरथचन्द–१० सतपालीका खिमराम लावडको परिवार एकाबिहानै घरमा ताल्चा लगाएर निस्कियो ।

आफ्नै र केही भाडामा लिएको जग्गामा खेती गरेर परिवार धान्दै आएका लावड बाँदरले हैरान बनाएपछि श्रीमती, छोरा र छोरीसहित भारत हिँडेका हुन् । ‘मिहिनेती मान्छे हुन्, बाँदर नलाग्दासम्म खेतीपातीबाटै पुग्दो थियो,’ छिमेकी प्रकाश लावडले भने, ‘बाँदरले केही बाँकी राखेन । गाउँमा बालबच्चा पाल्नै नसक्ने भएपछि मजदुरी गर्न कालापहाड गए । कुनै दिन फर्किएछु भने भेट होला, घरको हेरचाह गरिदिनु भनेका छन् ।’

भारतको वनवासामा भेटिएका खिमरामले भने, ‘त्यत्रो पसिना बगाएर बनाएको घर र खेतीपाती छोड्ने मन त थिएन तर, बाँदरले अति नै गर्न थाले । मान्छे भए उजुरबाजुर लाग्थ्यो होला । बाँदरलाई के गर्नु ?’ बैतडीका दशकअघिसम्म हराभरा गाउँहरू बाँदरको उपद्रोले यसै गरी मानवविहीन बन्न थालेका छन् । खेती हुँदै आएको जमिन बाँझिएको छ ।

धौल्यालीकै छिमेकी गाउँ तोलीका १५ मध्ये ५ घरमा मात्र मानिस बस्छन् । गोल्देउ गाउँमा चार परिवार मात्र बाँकी रहेपछि बाँकी ५३ घर जीर्ण भएका छन् । दशरथचन्द नगरकै १० नम्बर वडामा पर्ने भटाला गाउँका ३५ परिवारले पुरानो थलो छाडिसके । बाँकी २५ परिवारले पनि खुट्टा उचालिसकेको पूर्ववडाध्यक्ष गगनसिंह भण्डारी बताउँछन् । उनी भन्छन्, ‘गाउँ त अब कहाँ रह्यो र ! सबैतिर बाँदरकै कब्जा छ ।’

दशरथचन्द–५ को तल्लीआयत गाउँका ५१ मध्ये ३७ परिवारले घर छाडिसकेका छन् । बाँकी १४ घरमा पनि उमेर ढल्केका मात्र बाँकी छन् । स्थानीय शिक्षक राजु लेखक वृद्धवृद्धाले मात्रै गाउँ छाड्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘छोराछोरीले छाडेर गए पनि घरका देवतालाई पोखल (पूजा सामग्री) चढाउन छाड्नुहुँदैन भन्ने मान्यताले उनीहरू बसिरहेका हुन् ।’ घर रुँगेर बसेकालाई गएकाहरू फर्किएलान् भन्ने आशा पनि छैन । ७९ वर्षीय वीरपल दमाई भन्छन्, ‘१२ जना छोराबुहारी र २० जना नातिनातिना लाखापाखा लागिसके । मचाहिँ सालनाल गाडेको ठाउँमा परान छोड्ने भनेर कुरिरहेको छु ।’

‘पहिला बेच्थ्यौं, अहिले किनेको खान मुस्किल’

दशरथचन्द–८ को नलतडीमा १० वर्षअघिसम्म ३० परिवारको बसोबास थियो । महाकाली किनारको यो गाउँमा करिब १ हजार ५ सय रोपनी खेतमा खोलाको पानी लाग्छ । गाउँकै एकछेउको ४० रोपनी जग्गामा फलफूल र तरकारी खेती गर्ने डम्बरसिंह थापाले पोलिहाउस बनाएर बेमौसमी तरकारी फलाउँथे । बगैंचामा आँप, केरा, कागतीलगायत फलफूल लटरम्म हुन्थे । तर, बाँदर आतंक सुरु भएपछि छिमेकीहरू गाउँ छाडेर हिँड्न थाले । हेर्दाहेर्दै पूरै गाउँ उठेपछि गएको हिउँदमा डम्बर पनि नजिकै भट्टाडमा बसाइँ सरे ।

पछिसम्म जेनतेन गाउँमै बसिरहेका डम्बर भन्छन्, ‘गाउँले सबै हिँडेपछि त बाँदरको हूलले मलाई नै निसाना बनाए । बारीको तरकारी, फलफूल खाइदिने मात्रै होइन, घरभित्रको चिजबिज पनि जोगिएन ।’ अहिले गाउँ रित्तो छ । नलतडी गाउँका जीर्ण घरहरू झाडीभित्रै हराएका छन् । गाउँमा दिउँसै बँदेल, रतुवा, घोरल, चितुवा देखिन्छन् ।

केही वर्षअघिसम्म खेतीपातीबाट पर्याप्त आम्दानी गरिरहेकाहरू अहिले किनेर ल्याएको सामान पनि सन्तोषले खान पाउँदैनन् । १५ वर्षअघि बिहे गरेर लीला गुरु आठबिसी आउँदा गाउँका सबैले खेतीपाती गर्थे । उनको परिवारले करिब १० रोपनी जमिनमा गरेको खेतीबाट वर्षभरि खान पुग्थ्यो । बढी भएको दाल र मकै बेच्दा अन्य गर्जो टर्थ्यो । दशरथचन्द–८ की वडासदस्य लीला भन्छिन्, ‘अहिले जमिन बाँझै छ । किनेरै ल्याएको पनि बाँदरबाट जोगाउन सके मात्र खान पाइन्छ ।’

दशरथचन्द नगरपालिकाको तथ्यांकअनुसार बाँदरले बढी सताएका चारवटा वडामा ७५ हजार १ सय ४ रोपनी जग्गा बाँझो छ । यस क्षेत्रको १ हजार ३ सय २३ रोपनी जमिनमा मात्र खेती गरिए पनि त्यसमा बाँदरले दुःख दिइरहेको नगरपालिकाका अमिन महादेव भट्ट बताउँछन् । बाँदरले उपद्रो मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार–४ का किसानले पनि खेतीपाती गर्न छाडेका छन् । किसान हरिशरण भट्ट भन्छन्, ‘घरभित्र पसेका बाँदर लखेट्न पनि गाउँलेको हूल नै चाहिन्छ । एक–दुई जनालाई टेर्दैनन् ।’ बाँदरको उपद्रो कतिसम्म छ भने बाटोमा एक्लै हिँडेका महिला र बालबालिका भेटे झम्टिन्छन् । गाउँको पीपल चौतारीमा पनि बाँदरले बस्नै दिँदैन । पूर्ववडाध्यक्ष सुरेन्द्र भट्टले सुनाए, ‘मेरै खेतमा सात, आठ क्विन्टल मकै फल्थ्यो । सरकारले मकै जोन घोषणा गरेको थियो । तर, अहिले यहाँ मकैको रोटी खान पाइँदैन ।’ उनका अनुसार भारतीय सीमा क्षेत्रबाट सुरु भएको बाँदरको प्रकोप बिस्तारै अन्य ठाउँमा फैलिएको हो ।

बाँदरको त्रासले सदरमुकामसमेत रहेको दशरथचन्द– ५, ६, ८ र १० नम्बर वडामा पर्ने धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौंडाली, आइत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँबाट सयौं परिवारको उठीबास लागिसकेको छ । बाँदरको प्रकोप छिमेकी दोगडाकेदार गाउँपालिकामा पनि सुरु भएको छ ।

‘पहाडबाट हुने खानेहरू तराई झर्ने चलन त पुरानै हो तर, सदरमुकाम भएकाले हाम्रोतिर निकै कम थियो,’ दशरथचन्द नगरपालिकाका पूर्वप्रमुख नरेन्द्र थापा भन्छन् । बाँदर आतंकले आजित भएर गाउँ छाड्नेमध्ये आर्थिक अवस्था राम्रो भएकाहरू तराईतिर सरे र नहुनेहरू मजदुरीका लागि भारत जाने गरेको उनले बताए । भन्छन्, ‘तराई झर्नेभन्दा भारततिर जानेकै लर्को ठूलो छ ।’ नेपाल–भारतको सीमा नदी महाकालीसँग जोडिएका यी गाउँहरू रित्तिँदै जाँदा नगरपालिकाको जनसंख्याको ग्राफ ओरालो लागेको छ । २०७४ मा साबिकका थप पाँच गाविस गाभेर दशरथचन्द नगरपालिकाको जनसंख्या ३६ हजार ९ सय ४७ पुगेको थियो । तर, २०७८ को जनगणनामा ३१ हजार ७ सय ८६ मा झरेको छ । नगरपालिकाको पञ्जीकरण शाखाको अभिलेखअनुसार वडा नं. ५, ६, ८ र १० बाट पछिल्लो ५ वर्षमा ४ सय ८३ परिवारले बसाइँ सराइको प्रमाणपत्र लिएका छन् । नेपालभित्रै बसाइँ सरेर गएकाले यी परिवारहरूको अभिलेख नगरपालिकासँग भएको तर भारत जानेको अभिलेख नभएको नगरपालिकाका सूचना अधिकारी राजु विष्टले बताए ।

बाँदरकै त्रासले गाउँले विस्थापित भएपछि विद्यार्थी अभावमा नगर क्षेत्रका थुप्रै विद्यालय बन्द भइसकेका छन् । चलिरहेका कतिपय विद्यालयमा विद्यार्थी संख्या दोहोरो अंकमा पनि छैनन् । धौलेली गाउँको कैलपाल आधारभूत विद्यालयमा १८ जना भर्ना भए पनि पढ्ने विद्यार्थी ६ जना मात्रै छन् । ‘यहाँका बासिन्दाले गाउँ छोडिसके, विद्यार्थी कहाँबाट हुनु,’ शिक्षक मञ्जु थापा भन्छिन्, ‘६ जना शिक्षक छौं, नियमित विद्यालय आउने ६ जना विद्यार्थी पढाइरहेका छौं ।’

८ नम्बर वडामा रहेको रणसैनी आधारभूत विद्यालय बन्द भइसकेको छ । वडा नम्बर १० का शान्ति आधारभूत विद्यालय, ज्ञानेश्वर आधारभूत विद्यालय र वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय पनि बन्द भएका छन् । विद्यार्थी संख्या कम भएर वरपरका विद्यालय बन्द भएपछि साङडी गाउँका १५ जना विद्यार्थी सीमापारि भारतका विद्यालयमा जाने गरेका छन् । प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द थोरै विद्यार्थीका लागि धेरै स्रोत खर्च हुन थालेपछि मापदण्ड तोकेर विद्यालय बन्द गर्ने वा मर्ज गर्ने अभियान चलाएको बताउँछन् ।

भारतबाट आए बाँदर !

बैतडीमा आतंक मच्चाइरहेका बाँदर नेपालका नभई भारतबाट ल्याएर छोडिएका स्थानीय बासिन्दा बताउँछन् । ‘इन्डियाबाट ट्रकमा ल्याएर झुलाघाटमा छोड्ने गरेका छन् भन्ने सुनिन्छ । तिनै बाँदर यहाँ आएका हुन्,’ दशरथचन्द–१० का वडाध्यक्ष त्रिलोक सिंह विष्ट भन्छन् । २०२२ फेब्रुअरी १९ मा भारतीय पत्रिका द टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टमा हरिद्वारबाट बाँदरहरू समातेर सीमा क्षेत्रमा छोड्ने गरिएको उल्लेख छ । पछिल्लो समय गाउँमा देखिएका बाँदर बढी आक्रामक भएको दशरथचन्द–५ का वासुदेव भट्ट बताउँछन् । ‘यहाँका रैथाने बाँदर साना हुन्छन् र मान्छेसँग डराउँछन्’ उनी भन्छन्, ‘अहिलेका बाँदर दाह्री भएका, कसैसँग नडराउने हट्टाकट्टा छन् ।’ रैथाने बाँदर कुकुरसँग डराउँथे । तर, अहिलेका बाँदर तीन चारवटा मिलेर कुकुरलाई समेत तर्साउने गरेको उनले सुनाए ।

चार वर्षअघि पिथौरागढ–झुलाघाट सडकको खरक्यौडा भन्ने ठाउँमा दुई ट्रक बाँदर ल्याएर छाडिएको दशरथचन्द–६ का गोविन्दराज जोशीले बताए । उनले भने, ‘म औषधि किनेर पिथौरागढबाट आउँदै थिएँ, जाली लगाएको ठूलो ट्रकको पछाडिको भाग तीन–चार जना मिलेर खोलेपछि डेढ–दुई सय बाँदर हुरुरु जंगलतर्फ भागे ।’

भारतीय बजार झुलाघाटवासी र त्यहाँका जनप्रतिनिधिले पनि भारतका विभिन्न ठाउँबाट बाँदर ल्याएर यहाँ छोड्ने गरिएको बताएका छन् । ‘मैले पनि सुनेकी छु, हरिद्वार, हल्द्वानीबाट ल्याइएका बाँदर यहाँको वनमा छोडिदिन्छन् अरे । आफैंले देखेकी त छैन,’ भारत उत्तराखण्डको मजिरकाँडा ग्राम पञ्चायतकी अध्यक्ष किरन भट्टले हिन्दीमा भनिन्, ‘सीमाको छेकबार नलाग्ने तिनै बाँदर नेपालतर्फ गएका हुन सक्छन् ।’ बाँदरको उपद्रो भारततर्फ पनि नेपालमा जस्तै रहेको र नियन्त्रणका प्रयास सफल हुन नसकेको उनले बताइन् ।

उत्तराखण्ड राज्यको वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. धरम सिंह मिणाका अनुसार हिमाञ्चल र उत्तराखण्डमा १० वर्षयता लाखौंको संख्यामा बाँदरलाई पक्रेर ‘बन्दरबाडा’ (ठूलो क्षेत्रमा थुनेर) मा पाल्ने गरिएको छ ।

‘बन्दरबाडा’ मा राखिएका ती बाँदरमध्ये केही फुत्किएर सीमा क्षेत्रका पहाडमा गएको हुन सक्ने उनी बताउँछन् । भन्छन्, ‘बन्दरबाडाबाट निस्किएका बाँदरहरू नेपालतर्फ पनि पुगेका होलान् ।’ बाँदरकै कारण महाकाली नदीको तटीय क्षेत्र झुलाघाटको मलिलो खेतमा खेती हुनै छाडेको भारतीय नागरिक निशा भट्ट बताउँछिन् । उनको भनाइलाई समर्थन गर्दै झुलाघाटकै बासिन्दा हरिबल्लभ भट्ट थप्छन्, ‘२० वर्ष अगाडि यहाँ बाँदर थिएनन्, यी बाँदर बाहिरबाट ल्याइएका हुन् ।’

भारतका उत्तराखण्ड, हिमाञ्चललगायत ठाउँमा बाँदरको आतंक बढ्दै गएपछि नियन्त्रणका लागि बाँदर मार्ने, बन्ध्याकरण गर्ने, पक्रेर सीमा क्षेत्रमा छोड्ने जस्ता प्रयास भए । तर, बाँदर नियन्त्रणका लागि भएका यस्ता प्रयास सफल हुन नसकेको बीबीसी, द गार्जियनलगायत अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । सन् २०१८ सम्ममा भारतको हिमाञ्चल प्रदेशमा मात्रै १ लाख ४३ हजार बाँदरको बन्ध्याकरण गरिएको बीबीसी हिन्दीले लेखेको छ ।

बाँदर आतंक नियन्त्रणका लागि भारतमा थुप्रै प्रयास भइरहे पनि ती आंशिक सफल मात्र भएको भारतीय अधिकारीहरू बताउँछन् । उत्तराखण्डका वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. मिणा उत्तराञ्चल र उत्तराखण्डमा १० वर्षयता लाखौंको संख्यामा बाँदर पक्रिएर बन्ध्याकरण गरेपछि त्यसले बाँदरको संख्या घटाउन केही मद्दत पुगेको बताउँछन् । पछिल्लो समय बाँदरलाई गर्भनिरोधक औषधि (पिल्स) खुवाउने परियोजना परीक्षणको क्रममा रहेको उनले जानकारी दिए । ‘तर बाँदर एक वर्षमा दुई पटक ब्याउने भएकाले यिनीहरूको संख्या निकै छिटो बढ्छ,’ उनी भन्छन् । नेपाल र भारतमा पाइने बाँदर उस्तै प्रजातिको रातो भएको बताउने त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मण खनाल बैतडीमा देखिने बाँदर भारतबाट ल्याएर छोडिएका वा नेपालकै रैथाने पनि हुन सक्ने बताए ।

‘त्यहाँका बाँदरहरू बढी आतंकित जस्ता छन् । मानिसले बन्दुक वा गुलेली हान्ने गरेका कारण तर्सिएर बढी आक्रामक भएका हुन सक्छन् । भारतबाट समातेर यता छाडिएका कारण पनि त्यसो भएको हुन सक्छ,’ उनले भने । भारत, उत्तराखण्डका वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. मिणा पनि पक्रिएर छोडिएका बाँदर बढी आक्रामक हुने गरेको बताउँछन् । बाँदरका कारण मानिस विस्थापित हुन थालेपछि २०७५ साल वैशाखमा सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बाँदर र मानवबीचको द्वन्द्वबारे अध्ययन गरेको थियो । उक्त टोलीको अध्ययन प्रतिवेदनमा बैतडीमा भेटिएका बाँदरहरू सामान्य बाँदरभन्दा बढी चतुर र आक्रामक भएको उल्लेख छ ।

प्रतिवेदनमा बाँदर बाह्रैमास गाउँकै आसपास बस्ने गरेको, खेतबारीमा लगाएको अन्न र फलफूल पाक्नुअगावै नष्ट गर्ने र बारम्बार आक्रमण गर्ने गरेकाले यहाँको अवस्था गम्भीर रहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ– बाली वा खाद्यान्न जोगाउन मानिस चौबीसै घण्टा सतर्क रहनुपर्ने अवस्था छ । महिला र बालबालिकाप्रति बाँदर बढी आक्रामक छन्, दिउँसै झ्यालढोका बन्द गरेर बस्नुपर्ने अवस्था छ ।

उक्त प्रतिवेदनमा पनि भारतका धेरै ठाउँबाट बाँदरलाई समातेर अन्यत्र छोड्ने गरिएको उल्लेख छ । उपयुक्त पुनःस्थापना प्रोटोकलबिना स्थानान्तरण गर्दा समस्याको समाधान नभई मानव र वन्यजन्तुबीचको द्वन्द्वको स्थानान्तरण मात्रै हुने पनि प्रतिवेदनमा उल्लेख छ ।

बैतडी क्षेत्रमा जंगलको अनुपातमा बाँदरको संख्या धेरै भएकाले समस्या आएको अध्ययन टोलीका सदस्यसमेत रहेका वन्यजन्तुविज्ञ धीरेन्द्रबहादुर चन्द बताउँछन् । रातो बाँदर सामान्यतया ३० देखि ३५ वटाको समूहमा देखिने गरेको भए पनि बैतडीमा एउटै समूमा ८०/९० वटासम्म देखिएका छन् । चन्द भन्छन्, ‘यस्तो विरलै हुन्छ, वनजंगलको खण्डीकरण भएका कारण बाँदरहरू बस्तीतर्फ आएका हुन् ।’

बाँदरलाई रोक्न स्थानीय सरकारहरूले प्रयास नगरेका होइनन् । यद्यपि, ती प्रयास सफल भएका छैनन् । दशरथचन्द नगरपालिकाले २०७४ साउन २६ मा पहिलो नगरसभाबाट बाँदर नियन्त्रणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । सोहीअनुसार २६ फागुनमा स्थानीय अगुवा राजेन्द्र भट्टको नेतृत्वमा बाँदर लखेट्ने योजना बन्यो । नगर प्रमुख नरेन्द्र थापा, वडा ५ का अध्यक्ष नारायण भट्टसहित करिब ४ सय बासिन्दा दशरथचन्द–५ को कलुवाडको मोडमा भेला भए । धेरैका हातमा गुलेली र मट्याङ्ग्रा थिए । कसैले भाला बोकेका थिए । उक्त हूलमा केही थान भरुवा बन्दुक पनि थिए । सबैको एउटै लक्ष्य थियो, नगर क्षेत्रबाट बाँदर लखेटेर १५ किलोमिटर पश्चिम महाकाली कटाउने । कलुवाड मोडमा धूप–बत्ती बालेपछि बाँदर लखेट्न सुरु गरियो । त्यसक्रममा भरुवा बन्दुकबाट केही बाँदर मारिए । यो खबर प्रहरी हुँदै तत्कालीन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीसम्म पुग्यो । प्रजिअ जोशीले मेयर थापालाई तत्काल फोन गरेर बाँदर लखेट्ने कार्य बन्द गर्न निर्देशन दिए । त्यसपछि त्यो कार्यक्रम त्यसै तुहियो ।

२०७७ साउन १३ मा पनि दशरथचन्द नगरपालिकाकी उपमेयर मीना चन्दलगायत जनप्रतिनिधि र कर्मचारी वडा ५ को कार्यालयमा भेला भए । दुईवटा बोलेरो जिप पनि भरुवा बन्दुकजस्तै देखिने यन्त्र बोकेर त्यहीं आइपुगे । ठूलो आवाज निकालेर पड्कने त्यो यन्त्र किसानहरूलाई दिइयो । स्याङ्जा भीरकोटका भविश्वर कोइरालाले बनाएको ‘बाँदर धपाउने यन्त्र’ (मंकी गन) सुरुमा ५ लाख खर्च गरेर १०० वटा र त्यसपछि थप २५ वटा वितरण गरियो ।

‘सुरुमा त मंकी गनको आवाजले बाँदर भागे,’ दशरथचन्द–५ का शिक्षक राजु लेखक भन्छन्, ‘केही दिनपछि डराउनै छाडे, बरु चलाउन नजानेर केही व्यक्ति घाइते भए ।’ शिक्षक राजेन्द्र भट्टको अगुवाइमा बाँदर विशेषज्ञ डा. मुकेशकुमार चालिसेसहितको टोली ल्याएर मानव–बाँदर द्वन्द्वको कारण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम पनि गरियो । नगर प्रमुख पुष्करराज जोशीले बाँदर आतंक नगरपालिकाभित्रको ठूलो समस्या भएकाले विज्ञ र स्थानीय बासिन्दासँग छलफल गरेर अगाडि बढ्ने योजना सुनाए । ‘परम्परागत बाली जोगाउन सम्भव देखिएन । अब कृषिको बजेट वैकल्पिक खेती प्रणालीमा खर्च गर्ने सोचेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द भन्छन् । नगरपालिकाको यो योजनामा स्थानीय युवाहरू पनि सहमत छन् । पाखो जमिनमा टिमुर, कागती, निबुवा जस्ता काँडा हुने प्रजातिका वनस्पतिको खेती गर्ने हो भने बाँदरले पनि असर नपार्ने हिम्मत चन्द बताउँछन् । भन्छन्, ‘नगरपालिका, कृषक र लगानीकर्ता मिलेर वैकल्पिक खेतीतर्फ लाग्ने हो भने सफल हुन सक्छ ।’ बाँझो खेतमा घाँस रोपेर बाख्रापालन गर्न सकिने विकल्पसमेत रहेको उनको भनाइ छ ।

विज्ञहरू भने बाँदर आतंक नियन्त्रण गर्न वन्यजन्तु पाल्ने स–साना चिडियाखाना बनाएर वा प्रत्येक प्रदेशमा औषधि विज्ञान प्रयोगशाला स्थापना गर्न सकिने बताउँछन् ।

प्रकाशित : फाल्गुन १६, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?