१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

राष्ट्रपतिमा नाम चर्चामा ल्याउनु एउटा कुरा, टुंगोमा पुग्नु अर्कै कुरा : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिमा आफ्नो नाम चर्चामा आउनु एउटा र त्यो कुरा टुंगोमै पुग्नु अर्को कुरा भएको बताएका छन् । राष्ट्रपतिमा नेपालको नाम समेत चर्चामा आइरहेको सन्दर्भमा उनले त्यस्तो चर्चालाई शंकाको दृष्टिले हेरेका हुन् ।

राष्ट्रपतिमा नाम चर्चामा ल्याउनु एउटा कुरा, टुंगोमा पुग्नु अर्कै कुरा : माधव नेपाल

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटेपछि अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुल कुरा राष्ट्रिय सहमति भएको बताए ।

सञ्चारकर्मीहरूले 'तपाइँको नाम पनि चर्चामा आएको छ के कुरा भयो ?' भनी सोधेको प्रश्नको जवाफमा उनले भनेका थिए, 'चर्चा त धेरैको छ । चर्चामा ल्याउने कुरा एउटा हो,कुरा टुंगोमा पुर्‍याउनु अर्को कुरा हो ।'

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र त्यसको पहल प्रधानमन्त्रीले गर्नुपर्ने सुझाव दाहाललाई दिएका छन् । 'राष्ट्रिय सहमतिको उम्मेदवार आउनुपर्छ । यसका लागि सबै पहल प्रधानमन्त्रीले गर्नुपर्छ,' अध्यक्ष नेपालले भने,'हाम्रोबीचको सम्बन्ध बलियो होस्, लामो यात्रामा जाऔं भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु ।'

फागुन अन्तिम साता राष्ट्रपति निर्वाचन हुँदैछ । यसका लागि प्रमुख दलका शीर्ष नेताहरूले पछिल्लो समय भेटघाट तीव्र बनाएका छन् । प्रधानमन्त्री दाहालले भने सोमबार मात्रै १२ बुँदे सम्झौताका बेला एकै ठाउँमा रहेका दलहरू राष्ट्रपति निर्वाचनको समयमा पनि एक ठाउँमा उभिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?