कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शान्ति सम्झौता पक्षधरहरूबीच राष्ट्रपतिमा सहमति होस् : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् ।

शान्ति सम्झौता पक्षधरहरूबीच राष्ट्रपतिमा सहमति होस् : प्रधानमन्त्री दाहाल

सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने, 'मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।'

राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको र ठूला पार्टी एक ठाउँ उभिन सक्ने उनको भनाइ थियो । साथै राज्यका मुख्य ठाउँहरूमा समझदारीसाथ अघि बढ्न सकिने उनले बताएका थिए । निश्चित व्यक्ति नभएर साझा सहमतिका आधारमा अगाडि बढ्नु पर्ने पनि उनको भनाइ थियो ।

यस क्रममा प्रधानमन्त्री दाहालले २ महिना जनताहरूमाझ गएर उनीहरूका रिपोर्ट ल्याउन पनि पार्टीका नेताहरूलाई निर्देशन दिएका थिए । 'दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं। त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिउँ। सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं। उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं,' दाहालले भने ।

यसैबीच उनले समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको पनि बताए । र आगामी केन्द्रीय समितिको बैठकसम्म आफूहरू एउटा निष्कर्षमा पुग्ने उनले बताए । साथै देशको विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहने उनले बताएका थिए । 'केही पार्टीहरूसँग एकताको निम्ति समेत गृहकार्य भइरहेको छ। छिट्टै एउटा निष्कर्षमा पुग्छौं,' उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×